व्यवसायी अनुशासित हुनुपर्छः मेयर लामा
हेटौंडा- नेपाल अटो ई–रिक्सा व्यवसायी संघ मकवानपुरको पाँचौं वार्षिक साधारणसभा शनिबार हेटौंडामा सम्पन्न भएको छ । सभाधारणसभा उद्घाटन गर्दै हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामाले व्यवसायी अनुशासित हुनुपर्नेमा जोड दिएकी छन् । तीन पाङ्ग्रे सवारी साधन व्यवसायी, प्रशासन र उपमहानगरपालिका मिलेर बजारमा भएको ट्राफिक अस्तव्यस्ततालाई व्यवस्थापन गर्नुपर्नेमा जोड दिँदै उपमहानगरपालिकाकी प्रमुख लामाले नीति, नियम र जिम्मेवारी पूरा गर्नु सबैको दायित्व भएको बताइन् । उनले राजनीतिक पार्टीभन्दा माथि उठेर व्यवसायिक हकहितको लागि लाग्नुपर्नेमा उनको जोड थियो ।
संघका अध्यक्ष भीमप्रसाद गौतमको अध्यक्षता भएको कार्यक्रममा राष्ट्रिय ट्रक व्यवसायी महासंघका अध्यक्ष तथा नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हीरालाल श्रेष्ठले व्यवसायीको हकहितको लागि सबै व्यवसायी पेशागत अनुशासनमा बस्नुपर्नेमा जोड दिए ।राष्ट्रिय महासंघका उपाध्यक्ष रामप्रसाद सुवेदीले सबै व्यवसायी एकताबद्ध भएर आफ्नो व्यवसायलाई सुरक्षित राख्नुपर्नेमा जोड दिए ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत गुणराजप्रसाद न्यौपानेले सबैले दायित्व र कर्तव्य पूरा गरेमात्र समस्याको हल हुने बताए । अटो व्यवसायीको आउने गुनासोको बारेमा व्यवसायी स्वयम्ले ध्यान दिनुपर्ने र बजार भीडभाडरहित बनाउन व्यवसायी आफैंको ध्यानाकृष्ट गरेका थिए ।कार्यक्रममा हेटौंडा उपमहानगरपालिका १ नं. वडाध्यक्ष तथा तीनपाङ्ग्रे सवारीसाधन स्टीकर प्रणाली संयोजक सविन न्यौपाने, मउवा संघका उपाध्यक्ष अनिल अग्रवाल, मउवा संघ वस्तुगत उपाध्यक्ष राजु अधिकारी, नारायणी यातायात व्यवसायी संघका महासचिव सरोज खनाललगायतले यातायात क्षेत्रलाई व्यवस्थित र उपभोक्तामैत्री बनाउन सरोकारवालाबीच सुमधुर सम्बन्ध कायम गर्दै जिम्मेवार ढंगबाट सञ्चालन हुनुपर्नेमा जोड दिएका थिए ।







