जुत्ता चप्पल व्यवसायीको साधारणसभा सम्पन्न
हेटौडा- जुत्ता चप्पल व्यवसायी मकवानपुरको तेस्रो साधारणसभा सम्पन्न भएको छ । रामहरि तिमल्सीनाको अध्यक्षतामा शनिबार भएको कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष ललित घलानको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि घलानले व्यवसायमा स्वच्छ प्रतिस्पर्धा हुनुपर्ने र अस्वस्थ प्रतिस्पर्धाले समाजमा नकारात्मक असर पर्ने बताए । व्यापार ब्यवसायको व्यवस्थापन ध्वस्त हुनबाट बचाउनका लागि स्वच्छ प्रतिस्पर्धा आवश्यक रहेको घलानले बताए ।
स्वच्छ वातावरणमा व्यापार गर्नु वयवसायीको दायित्व भएको बताउँदै घलानले बजारमा २५ मिटरको हल्ला चलिरहेको भएपनि यसबाट ब्यवसायमा कुनै असर नपर्ने दाबी गरे । हेटौंडाको लागि २५ मिटर सडक बिस्तार आवश्यक रहेको भन्दै अध्यक्ष घलानले सडक बिस्तारले ब्यापार ब्यवसायको संकुचन नभई बिस्तार नै हुने बताए ।
कार्यक्रममा बिशेष अतिथि मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, पूर्वमहासचिव महेन्द्र राउत, संघका उपाध्यक्ष राजु अधिकारी, फर्निचर व्यवसायी संघ मकवानपुरका अध्यक्ष कृष्ण अर्याल, कपडा तथा तयारी पोशाक व्यवसायी संघ मकवानपुरका अध्यक्ष नेत्रप्रसाद खतिवडा, मोवाइल एशोसियसन अफ मकवानपुरका पूर्वअध्यक्ष दिनेश लामाको उपस्थित रहेका थिए ।







