स्वास्थ्य सुधारलाई ध्यानमा राखेर योजना बनाउन निर्देशन
हेटौंडा-बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले स्वास्थ्य सुधारलाई ध्यानमा राखेर योजना बनाउन निर्देशन दिएका छन् । प्रदेश स्वास्थ्य मन्त्रालयको आयोजनामा भएको ‘स्वास्थ्य सबै नीतिमा’ अवधारणा सम्बन्धी कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले योजना बनाउँदा स्वास्थ्यमा सुधार ल्याउनेलाई प्राथमिकता दिन निर्देशन दिए । जम्कट्टेलले प्रदेशमा निमार्ण भएका नीतिलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताए । प्रदेशको स्वास्थ्य क्षेत्रको सुधार सबै मन्त्रालयसँग जोडिएको विषय भएकाले सबै मन्त्रालयले स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने कार्य समावेश गरेर योजना बनाई ‘स्वास्थ्य सबै नीतिमा’ अवधारणा अघि बढाउने प्रतिवद्धता व्यक्त गरे । उनले यसलाई आगामी नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने बताएका छन् ।
कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री बहादुर लामा, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष प्रा.डा. नरविक्रम थापा, खानेपानी उर्जा तथा सिंचाई मन्त्रालयका सचिव मोहन शाक्य, मन्त्रालयका महाशाखा प्रमुख दीपक तिवारीलगायतले मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्काले प्रदेशमा निर्माण हुने सबै नीतिमा स्वास्थ्यका सामाजिक निर्धारकलाई सम्बोधन गर्न समन्वय गर्ने, प्रदेशस्तरमा हालसम्म निर्माण भएका नीति तथा रणनीतिमा स्वास्थ्यका विषयहरु सम्बद्ध भए नभएको बारेको विश्लेषण प्रस्तुतिकरण गर्ने र प्रदेश स्तरमा निर्माण हुने सबै नीतिमा स्वास्थ्यलाई समेट्न सम्बन्धित मन्त्रालयको प्रतिवद्धता सुनिश्चित गर्ने उद्धेश्यले स्वास्थ्य सबै नीतिमा कार्यान्वयन गर्न लागेको जानकारी दिएका थिए ।







