चिउरीका रुख संरक्षणमा सरोकारवाला चिन्तित

साझाकुरा
२०८० जेष्ठ १२, शुक्रबार ११:३०

हेटौंडा-मकवानपुर, चितवन र धादिङका जिल्लाहरुमा पाइने चिउरीका रुखको जगेर्नाका लागि सरोकारवालाहरु चिन्तित देखिएका छन् ।तर, चिउरीको बहुआयामिक उपयोगका लागि भने सरकार र गैरसरकारी पक्षको सहयोग चेपाङ समुदायले माग गरेका छन् । चितवनको भण्डारामा आयोजित राष्ट्रिय जैविक विविधता संरक्षण योजना तयारी सम्बन्धी चेपाङ समुदायसँग परामर्श कार्यक्रममा यस्तो आवाज उठेको हो । डिभिजन वन कार्यालय चितवन र डिभिजन वन कार्यालय राप्ती मनहरी एबम् नेपाल चेपाङ संघको पहलमा भएको कार्यक्रममा जैविक विविधता संरक्षणका लागि स्थानीयबासिन्दा र लाभग्राहीले नै ध्यान दिनुपर्नेमा जोड दिइएको छ ।

‘परापूर्व कालदेखि नै चल्दै उपयोगमा ल्याइएका मौलिक वनस्पति र जीवजन्तुको संरक्षण र त्यसको बहुआयामिक उपयोगबारे अब ध्यान दिनुपर्ने बेला आएको छ’, डिभिजन वन कार्यालय राप्तीका डिएफओ बिष्णुप्रसाद आचार्यले भने, ‘चिउरीको फल, फूल, पात, जरा, डाँठ सबै उपयोग गर्ने गरी योजना बनाउनुपर्छ, यो सामान्य वृक्ष मात्र होइन, कल्पवृक्ष हो ।’, उजाड गर्मी महिनाहरुमा पनि गाढा हरियो पातसहितको रुखले एकातर्फ हरियाली सौन्दर्यता र अर्काेतर्फ प्राणबायु निर्माण गरिरहेको बताउँदै उनले यसको फल, फूल, पात, जरा सबै काम लाग्ने र यसैमा चमेराहरु पनि आश्रित हुने भएकाले यसलाई बहुआयामिक आयश्रोतको रुपमा विकास गरिनुपर्नेमा जोड दिए ।

‘चिउरीमा मौरी आश्रित हुने, चिउरीकै फूलमा चमेराहरु आश्रित हुने र ती मौरी र चमेराहरुले पारिस्थितिक प्रणालीमा सहयोग गर्नेसँग मह उत्पादन गरेर आयस्रोतमा बृद्धि गराउने कुरामा प्रमुख भूमिका चिउरीकै रुखको छ ।’, डिएफओ आचार्यले भने । चितवन डिभिजन वन कार्यालयका डिएफएओ लोकराज नेपालले चिउरीबाट आयआर्जन हुने सम्भावनाको अध्ययन गरी योजना माग गर्न आउन चेपाङ समुदायलाई आग्रह गरे । कार्यक्रममा जैविक विविधता संरक्षणसम्बन्धी राष्ट्रिय योजना निर्माणका लागि लोपोन्मुख जडिबुटीहरु, चिउरी, दार लगायत बनस्पतिको संरक्षण, स्थानीय जातको मौरी, वन कुखुराहरु, मृग, हरिण, बँदेलको संरक्षणलगायतका कुराहरुमा सुझाव दिइएको थियो ।

नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष एवम् संविधानसभा सदस्य गोविन्दराम चेपाङले चेपाङको अनिकाल टार्ने उपायको रुपमा चिउरी बरदान प्राप्त भएकाले चिउरी
संरक्षण गर्नु नयाँ पुस्ताको अनिबार्य आवश्यकता रहेकोमा जोड दिए । कार्यक्रममा संघका महासचिव सन्तबहादुर चेपाङ, राक्सिराङ गाउँ कार्यपालिका सदस्य सिंगलाल चेपाङ, मह व्यवसायी दिनेश चेपाङ, सामुदायिक वन उपभोक्ता महासंघ राक्सिराङका अध्यक्ष सन्तोष थापासहित चितवन र मकवानपुरका चेपाङ समुदायको नेतृत्व गर्ने विभिन्न संघसंस्था र सामुदायिक वन समूहका पदाधिकारीहरु र वन कर्मचारीहरुको सहभागिता रहेको थियो । विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) को तर्फबाट जैविक विविधता संरक्षण सम्बन्धी अवधारणा प्रस्तुत गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*