शितोष्ण बागवानी दामनको घुम्ती तालिम

साझाकुरा
२०८० जेष्ठ १३, शनिबार ०९:१९

हेटौंडा- बि.सं.२०२१ सालमा स्थापना भएको दामनस्थित क्षेत्रफलको हिसाबले देशको दोस्रो ठुलो कृषि फार्म–शितोष्ण बागवानी फार्म तथा नर्सरी केन्द्र दामनको आयोजनामा थाहा–४, नारायणझ्याउमा एकदिने कृषकस्तर स्थलगत घुम्ती तालिम सम्पन्न भएको छ ।कार्यक्रममा बागवानी फार्मले सबैभन्दा नजिकमा रहेका गाउँहरु नारायणझ्याउ, ठुलोमाखु, फापरबारी, जुरेथुम र जक्करघारीका कृषकलाई त्यहाँ संचालन हुने कुनैपनि कार्यक्रमको बारेमा दशकौंदेखि नै जानकारी नगराइएको गुनासो एभरेष्ट युवा विकास क्लबलाई गरेपछि क्लबको पहलमा पहिलोपटक कृषि तालिम भएको हो।

केन्द्रका निमित्तप्रमुख समीर ज्ञानिमगरको अनुसार कार्यालयमा हुने बिबिध बिषयको कार्यक्रममा विभिन्न क्षेत्रबाट कृषकलाई सहभागी गराउने काम नगरपालिका कार्यालयको कृषि शाखाले गर्ने गरेको बताउदै आगामी दिनमा बागवानी केन्द्रले पनि कृषकको हितको लागि कार्यक्रम गर्ने बताए । उपस्थित स्थानीय कृषकलाई निमित्तप्रमुखले पुरानो शैलीको खेती गर्ने प्रक्रियालाई बिस्थापित गराउदै आधुनिक उपकरणको प्रयोग गरी उन्नत जातको फलफूल तथा तरकारी खेती कसरी गर्ने र आम कृषकको आर्थिकस्तर आधुनिक खेती प्रणालीबाट कसरी उकास्न सकिन्छ भनेर अभिमूखीकरण गरेका थिए । कुनै कृषि सहकारी समूह वा दर्तावाल कृषि संस्था भएको खण्डमा बागवानी फार्मबाट धेरै सेवा–सुबिधाहरु लिन सकिने बताए ।

तरकारी उत्पादन मात्र नभै फलफूल उत्पादन पनि गर्न र स्थानीय युवालाई सहायक कृषि प्राबिधिकको तालिम लिन सुझाए । हाल बागवानी फार्मबाट उत्पादन हुने आलुको बीउको माग स्थानीयस्तरमा अत्यधिक रहेको छ।कृषकसँग भएको अन्तरक्रियामा स्थानीय युवाकृषक नारायण लामाले दामन बागवानी फार्मले सहुलियत दरमा बीउबिजन र मल पनि उपलब्ध गराइदिए धेरै सहज हुने बताए । आयातीत बीउको दर महङ्गो,चाहेको जति नपाइने र कहिले त पाउदै नपाउने हुँदा स्थानीय सरकारको पहलमा बितरण हुने मल प्रतिघर जम्मा २५ केजी मात्रै पाईने उनले बताए । कहिले त त्यो पनि नपाएर बाह्य स्रोतबाट बढी मूल्यमा खरिद गर्नुपरेको उनले बताए । थाहा–४ को माथिल्लो भेगको भौगोलिक विकटता, अशिक्षा, जनचेतना जस्ता समस्या छन् । आवस्यक सूचनाको पहुँचबाट टाढा रहेकोले पनि स्थानीय किसानले कृषिपेसामा फड्को मार्न नसकेको कृषकको गुनासो छ ।

उपस्थित किसानले बिगतमा फलफूल खेती गरेको तर, असिना, तुसारोले गर्दा धेरै असर गरेको साथै सिचाइको अभावले पनि फलफूल तथा तरकारी बालीमा कठीनाइ रहेको बताए । सकेसम्म स्थानीयस्तरमा नै बीउ उत्पादन गर्नसके राम्रो हुने बताए । कृषि प्राबिधिक र उपस्तिथत किसानबीच भएको अन्तक्रियापश्चात् २५ जना किसानलाई बागवानी फार्मले प्रतिघर एक पाकेट उन्नत जातको ह्वाइट टप काउलीको बीउ र वाटर स्प्रीङल बितरण गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*