निर्धारीत समयमा कालोपत्रे नभएकोमा पालिकाको चिन्ता
हेटौंडा-मनहरी गाउँपालिकाले लामिटार–चकरी सडकखण्ड कालोपत्रेको म्याद नाघेको भन्दै निर्माणको जिम्मा लिएको कम्पनीलाई पत्राचार गरेको छ । गत २०७९ साल मंसिर ८ गते सम्झौता भई निर्माण सम्पन्न गर्ने ठेक्का पाएको गुण निर्माण सेवाले समयमै काम सम्पन्न नगरेको भन्दै पालिकाले पत्राचार गरेको हो । सम्झौता अनुरुप निर्माण कम्पनीले २०८० साल वैशाख ३० गते भित्र काम सम्पन्न गर्नुपर्ने उल्लेख गरिएको छ ।
तर, सम्पन्न गर्नुपर्ने मिति नाघिसक्दा पनि कम्पनीले कुनै चासो नदेखाएको गाउँपालिकाका कार्यवाहक ईन्जिनीयर टुकुराज चौधरीले जानकारी दिए ।गत जेठ ४ गते नै काटिएको पत्रको हालसम्म कम्पनीले कुनै जवाफ दिएको छैन । ३ दिनभित्र कार्यालयमा उपस्थित हुनका लागि लेखिएको पत्रको जवाफ नआएको र एक साता भन्दा बढी समय भएको बताइएको छ । कानुनी व्यवस्था अनुसार सार्वजनिक खरिद नियमावली २०७९ बमोजिम कारवाही गरिने पत्रमा उल्लेख गरिएको छ ।







