मकवानपुर जिल्लास्तरीय कविता प्रतियोगितामा कार्की प्रथम
हेटौंडा-हेटौंडा स्कूल अफ म्यानेजमेन्टले आयोजना गरेको कविता प्रतियोगितामा मकवानपुर बहुमुखी क्याम्पसका रियाज कार्की प्रथम भएका छन् । प्रतियोगितामा रियाज कार्की प्रथम भएका हुन् । प्रतियोगितामा जीएस निकेतन विद्यालयका समर्पण न्यौपाने द्वितीय र हेटौंडा स्कूल अफ म्यानेजमेन्टकी रोश्नी चौलागाई तृतीय हुन सफल भएका थिए।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुनेलाई क्रमश ः नगद १५ हजार, १० हजार, ८ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा सान्त्वना भएका हेटौंडा स्कूल अफ म्यानेजमेन्टका सरोजकुमार शाह र जीएस निकेतन विद्यालयका आदर्श पौडेलले नगद ५ हजार रुपैया प्राप्त गरे । प्रतियोगितामा साहित्यकार भावना सापकोटा र छवी अनित्यले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
आमाको मुख हेर्ने दिनको उपलक्ष्यमा हेटौंडा स्कूल अफ म्यानेजमेन्ट कक्षा ९–१२ केन्द्रित मकवानपुर जिल्ला स्तरीय कविता तथा निबन्ध लेखन प्रतियोगिता आयोजना गरेको थियो । निबन्ध लेखन प्रतियोगितामा ६९ जना विद्यार्थीको सहभागीता रहेको थियो । उक्त निबन्ध लेखनको निर्णायकमा साहित्यकार ह्याग्रीव आचार्य, निरा शर्मा र भवानी तिमल्सिना रहेका छन् । सहभागी विद्यार्थीहरुले क्याम्पसमै हस्तलिखित निबन्ध लेखेका थिए ।
निबन्ध लेखनको नतिजा प्राप्त भएपछि क्याम्पसले विजयी भएका विद्यार्थीलाई पुरस्कार प्रदान गर्ने जनाएको छ । हेटौंडा स्कूल अफ म्यानेजमेन्टका सह प्रधानाध्यापक राम पण्डित खनालको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पसका अध्यक्ष देव श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।







