२०२४ बागमती प्रदेश भ्रमण वर्षको रुपमा मनाइने
हेटौंडा-बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि १२४ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । आइतबार दिउसो बागमतीका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभामा आगामी आवका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । सरकारले केही नयाँ कार्यक्रमलाई समेट्दै प्रायः पुरानै नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । सरकारले दीगो विकासको अवधारणा अनुसार योजना निर्धारण गर्ने, सरकारले आगामी आर्थिक वर्ष प्रदेशलाई प्रविधिमैत्री बनाउने तथा आर्थिक नीति, सामाजिक न्यायको माध्यमबाट प्रदेश समृद्धिका योजना तर्जुमा गर्ने घोषणा गरेको छ । ‘प्रदेश सरकारको भूमिका थप मजबुत बनाउन संघीय सरकार र स्थानीय सरकारसँगको समन्वयलाई प्रभावकारी बनाइने,’ नीति तथा कार्यक्रममा उल्लेख छ ।
प्रदेशको सन्तुलित विकासका लागि ठूला आयोजना छनोट गरी कार्यान्वयनमा ल्याइने उल्लेख छ । बागमती प्रदेश सरकारले ‘एक माध्यमिक विद्यालय, एक नर्स’ कार्यक्रमलाई विस्तार गर्दै आगामी दिनमा कक्षा १२ सम्म सञ्चालन भएका सबै विद्यालयमा लागू गर्ने भएको छ । बागमती प्रदेश सरकारले ‘गृहणी महिलासँग प्रदेश सरकार’ कार्यक्रम संचालनको घोषणा गरेको छ । गृहणीलाई सशक्तिकरण गर्दै आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम संचालन गरिने जानकारी प्रदेशप्रमुख शर्माले दिए ।
प्रदेश सरकारले लै·िकहिंसाबाट प्रभावितको लागि उद्दार, राहत, मनोसामाजिक परामर्श र पुनस्र्थापन सम्बन्धी सामाजिक सुरक्षाको विशेष कार्यक्रम संचालन गरिने भएको उनले बताए । प्रदेश सरकारले राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धाका लागि समक्ष तथा व्यवसायी खेलाडी तयार गर्न खेलको पूर्वाधारको विकास गर्दै प्रशिक्षणको विकास गर्ने प्रदेश प्रमुख शर्माले बताए । साथै उनले स्थानीयस्तरमा खेलकुदलाई प्रोत्साहन गर्ने नीतिलाई निरन्तरता दिने बताए । आर्थिक विकासमा सहकारी संस्थाको भूमिकालाई प्रवर्धन गर्दै सहकारी संस्थाको नियमनलाई प्रभावकारी बनाइने बताइएको छ ।
उपभोक्ताको हकअधिकार संरक्षणका लागि स्वच्छ प्रतिस्पर्धा कायम गर्दै उपभोग्य वस्तुको आधारभूत गुणस्तर कायम गर्न बजार अनुगमनको कार्यलाई नियमित तथा प्रभावकारी बनाइने, ‘धर्म र पर्व, हाम्रो गर्व’ भन्ने नाराका साथ धार्मिक र सांस्कृतिक क्षेत्रका मूर्त तथा अमूर्त सम्पदाको अन्वेषण, अनुसन्धान, संरक्षण र संवर्धन गरी सांस्कृतिक पर्यटन प्रवर्धन गर्ने नीति लिइने बताइएको छ । प्रदेश भित्रका जातजातिको मातृभाषा, कला, साहित्य, संस्कृति र सम्पदाको संरक्षण र प्रवर्धन गरिनेछ । तामाङ र नेपाल भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाको रुपमा विकास गर्न कानुन तर्जुमा गरिने, संस्कृत भाषालाई प्रोत्साहन गरिने बताइएको छ ।
प्रदेश भित्रका धर्म, संस्कृति, जातजाति तथा ऐतिहासिक राजनैतिक आन्दोलनको विशिष्टतालाई समेट्ने गरी संग्रहालय स्थापना गर्ने नीति लिइने, बागमती प्रदेशलाई कला अनुसन्धान केन्द्रको रुपमा विकास गरिने, धार्मिक, सांस्कृतिक, पर्यापर्यटन तथा ग्रामीण पर्यटनको प्रवर्धनमार्फत् थप रोजगारी सिर्जना गरिने, स्वदेशी तथा विदेशी पर्यटकको बसाइ अवधि लम्ब्याउन होमस्टेको प्रवर्धन तथा पर्यटकीय पूर्वाधार र सेवा सुविधाको विस्तार गरी पर्यटकीय गन्तव्य स्थल घोषणा गरिने, सन् २०२४ लाई बागमती प्रदेशभ्रमण वर्षको रुपमा मनाइने बताइएको छ ।
प्रदेशमा स्थापना हुने उद्योगका लागि सडक, ढल तथा खानेपानीको प्रबन्ध गरी लगानीमैत्री वातावरण बनाइने, लगानीसम्बन्धी कानुन तर्जुमा गरिने, स्थानीय स्रोतसाधन र कच्चापदार्थको प्रयोग गर्ने उद्योगका लागि विशेष प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने, औद्योगिक ग्रामको सञ्चालन गरिने भएको छ । हस्तकला व्यवसायसम्बन्धी कानुन तर्जुमा गरिने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रदेशको पहिचान स्थापित गर्ने हस्तकला उद्योगमा परम्परागत सीपको प्रवर्धन गर्दै हस्तकला ग्राम निर्माण, सञ्रुचालन, विकास, विस्तार र बजारीकरणसम्बन्धी कार्यलाई प्रभावकारी बनाइने बताइएको छ ।
प्रदेश भित्रको समग्र भौतिक पूर्वाधार निर्माणसम्बन्धी कार्य गर्दा प्राकृतिक सुन्दरता कायम राख्दै पर्यावरणमैत्री दिगो विकासमा जोड दिइने, एकीकृत विकास गुरुयोजना तर्जुमा गरी शहरी विकास आयोजना र शहरी पूर्वाधार निर्माणको कार्य योजनाबद्ध लागु गरिने, प्रदेशभित्रका उदीयमान शहर तथा स्थानीय तहका केन्द्रलाई मौलिक पहिचान सहितको व्यवस्थित शहरीकरण गर्न प्रोत्साहन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिउको छ ।
ठूला बस्ती तथा सडकको पहुँचबाट टाढा छरिएर रहेका एकल तथा असुरक्षित बसोबासलाई सुरक्षित र एकीकृत बस्तीमा रुपान्तरण गर्ने नीति लिइने, प्रदेश गौरवको आयोजनाको रुपमा रहेको रुवी भ्याली एकीकृत विकास आयोजनालगायत मानव विकास सूचाङ्कमा पछाडि परेका अन्य स्थानीय तहमा भौतिक पूर्वाधार सहितको एकीकृत विकास आयोजना सञ्चालन गरिने, खरको छानामुक्त बागमती प्रदेश अभियानलाई विस्तार गरिने नीति तथा कार्यक्रम मा समेटिएको छ ।
फाइलमा नीति तथा कार्यक्रम नभेटेपछि…
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्न प्रदेश प्रमुखलाई उपलब्ध गराएको फाइल नै खाली भेटियो । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई वाचन गर्न उपलब्ध गराएको फाइलमा नीति तथा कार्यक्रम नै नभेटिएपछि प्रदेशसभामा केहीबेर सबै अलमलमा परे ।
सांसदलाई वितरण गर्नका लागि प्रदेशसभामा ल्याइएको नीति तथा कार्यक्रम मुख्यमन्त्रीले प्रदेश प्रमुखलाई उपलब्ध गराएका थिए । मुख्यमन्त्री नीति तथा कार्यक्रम खोज्न हिँडेपछि केही समय सदनभित्र सांसदबीच मुखामुखको अवस्था सिर्जना भएको थियो ।आइतबार दिउँसो २ बजे बसेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख शर्माले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने सूची रहेको थियो । मुख्यमन्त्री जम्कट्टेलले मानवीय कार्यमा गल्ती हुने भन्दै अवस्था सामान्य बनाउन खोजेका थिए ।
‘यो सामान्य प्राविधिक त्रुटि भयो । यो हाम्रो व्यवस्थापकीय कमजोरी हो,’ उनले भने । प्रतिपक्षी नेकपा एमाले र नेपाल मजदुर किसान पार्टीले सरकारले बिनातयारी नीति तथा कार्यक्रम ल्याउँदा भद्रगोलको अवस्था सिर्जना भएको भन्दै आपत्ति जनाएका थिए ।







