सहकारीको समस्या निराकरण गर्न सरकारलाई ज्ञापनपत्र

साझाकुरा
२०८० जेष्ठ १५, सोमबार १०:३५

हेटौंडा-सहकारी समस्या समाधान सहजीकरण संयन्त्र, मकवानपुरले नेपाल सरकारलाई १३ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको छ ।राष्ट्रिय सहकारी महासंघ, सहकारी समस्या समाधान सहजीकरण कार्यदलले घोषण गरेको आन्दोलन कार्यक्रमअन्तर्गत आइतबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेमार्फत नेपाल सरकारलाई १३ बुँदे मागसहित ज्ञापनपत्र बुझाइएको छ । वर्तमान परिस्थितिले निम्त्याएका समस्या र त्यसको समाधानका लागि सहकारी ऐन, २०७४ र नियमावली, २०७५ मा भएका प्रवद्र्धनात्मक व्यवस्थाहरु यथाशीघ्र कार्यान्वयनका लागि सहकारी अभियानले गत वैशाख १७ गते सरकार समक्ष पेश गरेको मागहरुलाई सरकारले हालसम्म बेवास्ता गरेको र माग सम्वोधन गर्न अनिवार्य भएकोले उक्त मागहरु सम्बोधन नभएसम्म संघर्षका कार्यक्रमहरु गर्नुपर्ने अवस्था आएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

ज्ञापनपत्रमा सहकारी ऐन, २०७४ र नियमावली, २०७५ मा व्यवस्था भएको ‘कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायीकरण, बचत तथा कर्जा सुरक्षण कोष’ तत्काल स्थापना हुनुपर्ने, सरकारले सहकारीमा देखिएका तरलता व्यवस्थापनका लागि राष्ट्रिय सहकारी बैंकमार्फत सहुलियत ब्याजदरमा ३ वर्षसम्मका लागि १० अर्ब रकम उपलब्ध गराउन पर्ने, बजार अनुसार ब्याजदर निर्धारण हुने स्वचालित प्रणलीको विकास गर्नुपर्ने, सहकारी क्षेत्रलाई दिगो, मर्यादित, सुशासित बनाउन सहकारी संघ संस्थाहरुको प्रभावकारी अनुगमनका लागि ‘दोस्रो तहको नियामक संंस्था’ तत्काल स्थापना हुनुपर्ने, हाल वित्तीय सहकारी संस्थाहरुको दर्ता, कार्यक्षेत्र बिस्तार र सेवा केन्द्र स्वीकृतिमा तत्कालै रोक लगाउनु पर्ने, सहकारीको दिगोपनाको लागि सहकारी अभियानसंगको समन्वयमा छुट सुबिधा र प्रोत्सहान सहितको ‘एकीकरण प्याकेज कार्यक्रम’ तत्काल घोषण
गरी कार्यान्वयन गर्नुपर्ने लगायत माग राखिएका छन् ।

विद्यमान असहज परिस्थितिका कारण करचुक्ता लिन बाँकी रहेका सहकारी संस्थाहरुका लागि २०८० असार मसान्तसम्म म्याद थप गर्नुपर्ने, विषम परिस्थितिका कारण कार्यालय सुचारु गर्न समस्यामा परेका केही सहकारी संघ÷संस्था सञ्चालनको वातावरण बनाउन कम्तीमा २ वर्षको कुलिङ अवधि घोषणा गर्नुपर्ने, सहकारी संघ÷ संस्थाहरु निर्वाध रुपमा सञ्चालन गर्न तत्काल नेपाल सरकार, गृह मन्त्रालयमार्फत ७७ वटै जिल्ला प्रशासन कार्यालयमा सुरक्षा सम्बन्धी परिपत्र जारी गर्नुपर्नेलगायतका मागहरु उल्लेख गरिएको छ ।

मकवानपुर जिल्लामा सहकारी अभियानमा समस्या नदेखिएता पनि राष्ट्रिय रुपमा समस्या उत्पन्न आएकोले सो समस्या समाधानको लागि राज्यको स्पष्ट नीति आवश्यक भएकोले ज्ञापनपत्र दिइएको मकवानपुर जिल्ला सहकारी संघ लिमिटेडका उपाध्यक्ष तथा सहकारी समस्या समाधान सहजीकरण संयन्त्र, मकवानपुरका संयोजक मेनुका घिमिरेले बताइन् ।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, सचिव प्रतिमा श्रेष्ठ, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिप्रसाद कंडेल, जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव वीरेन्द्रप्रसाद ढुंगाना, कोषाध्यक्ष बिष्णुमाया लामा, व्यवस्थापक सुमित्राकुमारी वाइवा, मकवानपुर जिल्ला सहकारी संघका व्यवस्थापक गोविन्द दाहाल, कृषि सहकारी संघ मकवानपुरका व्यवस्थापक नरेश आचार्य, दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सहायक व्यवस्थापक इश्वरी शिल्पकार, राष्ट्रिय सहकारी बैंक हेटौंडाका प्रमुख रामेश्वर अर्याल, नेप्स्कुन फिल्ड कार्यालय हेटौंडाकी इञ्चार्ज ज्योति महतलगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*