गुणस्तरीय समानको बजारीकरण नगरले गर्छ: नगरप्रमुख लामा

साझाकुरा
२०८० जेष्ठ १६, मंगलवार ०९:२८

हेटौंडा- हेटौंडा उपमहानगरपालिका नगरप्रमुख मीनाकुमारी लामाले महिला उद्यमीले उत्पादन गरेको गुणस्तरीय सामानको बजारीकरणमा उपमहानगरले सहयोग गर्ने बताएकी छिन् ।चालु अर्थिक बर्ष २०७९÷८० मा नगरका बिभिन्न वडामा उपमहानगरको आर्थिक सहयोगमा सञ्चालन भएको महिला उद्यमी विकास तालिमबाट प्रशिक्षित सहभागी उद्यमशीलता अभिमूखीकरण एवम् अन्तरक्रिया कार्यक्रमलाई संबोधन गर्दै नगरप्रमुख लामाले दिगो आर्यआर्जनका लागि साना लगानीमा उत्पादन भएका गुणस्तरीय सामानको बजारीकरणका लागि चिन्ता नलिन आग्रह गरीन् ।

उनले भनिन् ‘सीप सिकेर काममा लाग्यौं, सामान बिक्री भएन भने के गर्ने भन्ने चिन्ता नलिनु सीपलाई तिर्खार्दै गुणस्तरीय सामान उत्पादनमा लागे उपमहानगरले
बजारीकरणको जिम्मा लिन्छ’ । उपमहानगरले बिषेश गरी महिलालाई आफ्नै चिनारी बनाउनका लागि टोलटोलमा पुगेर बिभिन्न तालिम दिइरहेकोब उनले बताइन् । अरुले चिनाउने होइन, आफैं चिनिने वातावरण बनाउन उद्यममा लाग्नुपर्ने उनको भनाई थियो ।

उनले सिकेको सीपलाई व्यवहारमा उतार्दै काम गर्दै जान आग्रह गरीन् । गाउँमा उत्पादन भएको सामानको बजारीकरणका लागि उपमहानगरले हेटौंडामा कोशेली घर सञ्चालन गरेको भन्दै त्यहीँबाट पनि आफ्नो उत्पादन बिक्री गर्न सकिने नगरप्रमुख लामाले बताइन् ।चालु आर्थिक बर्षमा उपमहानगरले ढाकाको उत्पादनलाई बिषेश प्राथमिकतामा राखेर काम गरीरहेको छ । हेटौंडा–१८ मा ११ जना महिलाउद्यमीमार्फत उत्पादित ढाकालाई बजारीकरणका लागि सहयोग गरीरहेको उपमहानगरले राम्रो धागो खरीद र उत्पादनका
लागि भन्दै आर्थिक सहयोग समेत गरेको छ । अहिले हेटौंडा–१० मा ढाकाको उत्पादन तालिम सञ्चालन भैरहेको छ ।

उपमहानगरको सहयोगमा तालिम लिएर उत्पादनमा लागेका महिला उद्यमीले उत्पादन गरेको सामग्रीको बजारीकरणका लागि उपमहानगरले काम गर्ने बताइएको छ । अहिले ढाकाको सामग्रीहरु सहित चप्पल, दालमोट, कृषिउपज, ढाका, बेकरी, क्रिष्टलका माला, पोते सहितको समानको बजारीकरणका लागि कोशेली घरको प्रयोग गर्न भनिएको छ । अन्तरक्रिया कार्यक्रममा व्यवसायमा रहेका महिलाले आफ्नो व्यवसायमा रहेका समस्याको बारेमा बताएका थिए ।

हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोग तथा जालपादेवी महिला उद्यमी केन्द्रको आयोजनामा भएको कार्यक्रममा हेटौंडा–११ का अध्यक्ष जुना दाहाल, हेटौंडा उपमहानगरपालिका सहकारी तथा उद्योग शाखाका प्रमुख हिमप्रसाद पौडेललगायतले मन्तव्य राखेका थिए । कार्यक्रम उद्यमी केन्द्रका अध्यक्ष गीता मैनालीको अध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*