सिद्धार्थ हरियाली वनका उपभोक्तालाई अभिमूखीकरण

साझाकुरा
२०८० जेष्ठ १७, बुधबार १०:०३

हेटौंडा-राक्सिराङ गाउँपालिका वडा नं. ३ मा रहेको सिद्धार्थ हरियाली सामुदायिक वन उपभोक्ता समुहका उपभोक्तालाई अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय जनवकालत मञ्च नेपालको सहकार्यमा सामुदायिक वनले उपभोक्ताहरुका लागि एक दिने अभिमूखीकरण तथा अन्तरक्रिया गरेको हो । कार्यक्रममा सब डिभिजन वन कार्यालय राक्सिराङका प्रमुख दिनेश सत्यालले सामुदायिक वनको महत्व र उपभोक्ताको दायित्व बिषयमा सहजीकरण गरेका थिए । उनले वनको संरक्षण गर्ने र त्यसबाट लाभ लिने दुवै काम उपभोक्ताको भएको बताउँदै वन क्षेत्रमा कानूनले बर्जित गरेका कुनै पनि गतिविधि सञ्चालन नगर्न सचेत गराए ।

सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य चन्द्रप्रसाद थानीले वन समुहको दायित्व निकै फराकिलो रहेको बताए । वनसम्बन्धी कानून निकै जटिल र अप्ठ्यारो प्रकृतिको भएकाले पनि वन समुहलाई चुनौती रहेको र सचेत भएर अघि बढ्नुपर्ने उनको भनाई छ । उपभोक्ताको दायित्व, समितिको जिम्मेवारी र वन कार्यालयको भूमिकाबारे उनले चर्चा गरे ।

कार्यक्रममा सहभागी उपभोक्ताले काठ उपभोग, मानव तथा बन्यजन्तुबीचको द्वन्द्व र सामुदायिक वनबाट लिन सकिने सेवा सुविधाबारे जिज्ञासा राखेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि राक्सिराङ गाउँपालिका वडा नं. ३ का अध्यक्ष उत्तम वाइबाले सामुदायिक वनहरुले संरक्षण, विकास निर्माण र आयआर्जनसँग जोडिएर काम गर्नुपर्ने बताए । उनले स्थानीय वन ऐन निर्माण गरिने र वन व्यवस्थापनका सन्दर्भमा गम्भीर भएर काम गरिने प्रतिवद्धता ब्यक्त गरे ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ राक्सिराङका अध्यक्ष सन्तोष थापा, विभिन्न टोल विकास संस्थाका अध्यक्ष, समाजसेवी, वन समुहका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम वन समुहका अध्यक्ष ज्ञानेन्द्र तामाङको अध्यक्षतामा भएको थियो । अध्यक्ष तामाङले वन संरक्षण, उपभोक्ताको माग र नीतिगत ब्यवस्थापनको बिषयमा गम्भीर रुपमा काम गरिरहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*