कैलाशमा ६ जना चेलीको सम्मान
हेटौंडा- मकवानपुरको कैलाश गाउँपालिकाले ६ जना चेलीलाई सम्मान गरेको छ । पालिकाले चेली प्रोत्साहन कार्यक्रम अन्तर्गत बुधबार ६ जना चेलीलाई सम्मान गरेको हो ।पालिकाको बार्षिक नीति तथा कार्यक्रममा समाबेश भएका कार्यक्रम अन्र्तगत २० हजार रुपैंया नगद र सम्मानपत्र सहित कैलाश ६ की संगीता ढुंगाना, प्रतिभा अर्याल र लक्ष्मी श्रेष्ठ, कैलाश १० का सरुया प्रजा र उर्मिला थिङ, त्यसैगरी कैलाश २ कि लक्ष्मी मुक्तानलाई गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान र उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले नगद सहित सम्मान गरेका हुन् ।
गाउँपालिका अध्यक्ष मुक्तानले विवाह अघि कम्तिमा पनि १० जोड २ पास गर्नुपर्छ र २० बर्ष पूरा हुनुपर्छ भन्ने सन्देश दिनका लागि प्रोत्साहन कार्यक्रम राखिएको
बताए । मुक्तानले देशभरका स्थानीय तहमध्ये पृथक कार्यक्रमको सुरुवात गरेको सुनाए । ‘गाउँघरमा छोरीलाई बालविवाह गर्ने, पढाइबाट बञ्चित गर्ने चलन अझै रहेको र यस्ता कार्यक्रमले सकारात्मक सन्देश जाने कुरामा विश्वास लिएका छौँ’– मुक्तानले भने ।
कार्यक्रममा बोल्दै पालिकाका उपाध्यक्ष ठकुरीले कार्यक्रमलाई बृहतरुपमा विस्तार गर्दै लैजाने बताए । त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत अशोक बिष्टले बालविवाह अन्त्यका लागि पालिकाले विभिन्न कार्यक्रम गरिरहेको सुनाए ।गाउँपालिका सामाजिक विकास समिति संयोजक राजेन्द्र घिसिङले यो बर्ष ६ जनालाई सम्मान गरेजस्तै अर्काे बर्ष अझ धेरै चेली सम्मान गर्ने वातावरणका लागि आ–आफ्नो क्षेत्रबाट सबैले काम गर्नुपर्ने बताए । सम्मानित भएसँगै सरुया प्रजाले गाउँपालिकाले चेली प्रोत्साहन कार्यक्रममार्फत सम्मान
गरेकोमा आफूलाई उत्साह मिलेको र सामाजिक समस्याको रुपमा रहेको बालविवाह, विद्यालय नजाने जस्ता समस्या समाधनमा लाग्न उर्जा मिलेको बताइन् ।







