सार्वजनिक यातायातमा स्टिकर र डस्बिन
हेटौंडा-पूर्व–पश्चिम राजमार्गअन्तर्गत् हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेमा सार्वजनिक सवारीसाधनमा सचेतनामुलक स्टिकर टाँसी फोहर जम्मा गर्ने डस्बिन प्रदान गरिएको छ ।विश्व वातावरण दिवसको अवसरमा वातावरण सफा राख्ने उद्देश्यले कार्यक्रम गरिएको टोल विकास संस्था नगर समन्वय समिति हेटौंडाका महासचिव शिवहरि दाहालले बताए । टोल विकास संस्था नगर समन्वय समिति हेटौंडाको आयोजना, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवाकेन्द्र हेटौंडा–११ थानाभ¥याङको व्यवस्थापनमा कार्यक्रम भएको हो । हेटौंडा बसपार्क, संगम बसपार्क, भीमफेदी बसपार्क, रातोमाटे चेकपोष्टबाट चल्ने ६ सय भन्दा बढी सवारी साधनमा स्टिकर टासिने र डस्बिन वितरण गरिने आयोजक संस्थाले जनाएको छ ।
नगर समन्वय समितिका अध्यक्ष ध्रुव अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहा नगरपालिका ११ नम्बर वडाकी अध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सामुदायिक सेवाकेन्द्र तथा सामुदायिक प्रहरी सेवाकेन्द्र हेटौंडा–११ का अध्यक्ष देवकुमार श्रेष्ठ, सदस्य यज्ञबहादुर आचार्य, नारायणी यातायात संघका महासचिव सरोज खनाल, ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधि, हेटौंडा उपमहानगरपालिका वातावरण महाशाखाका प्रतिनिधि लगायतको आतिथ्यता थियो ।







