गर्मी बढेपछि हेटौंडाका विद्यालय बन्द गर्न माग

साझाकुरा
२०८० जेष्ठ १९, शुक्रबार १०:५९

हेटौंडा-हेटौंडामा विगत दुई दिनदेखि अत्याधिक गर्मी बढेपछि संस्थागत तथा सामुदायिक विद्यालय बन्द गर्नुपर्ने आवाज उठेको छ । गर्मी बढेसँगै विद्यार्थीहरुलाई पठनपाठनमा असहज भएको र स्वास्थ्यमा समस्यासमेत देखा परेको भन्दै निश्चित दिनसम्म विद्यालय बन्द गर्नुपर्ने आवाज उठेको हो । हेटौंडामा गर्मी बढेपछि जनजीवन प्रभावित बनेको हो । कंक्रिट ढलानले भरिएको बजार क्षेत्रमा गर्मीका कारण हावासमेत तातो चल्न थालेको सर्वसाधारणहरुले गुनासो गरेका छन् ।

साना बालबालिकाहरुमा गर्मीका कारण स्वास्थ्य समस्या देखिएकाले विद्यालय बन्द गर्न चिकित्सकहरुले नै सुझाव दिएका छन् । हेटौंडा अस्पताल व्यवस्थापन समिति सदस्यसमेत रहेका चिकित्सक उत्सव चौलागाईंले निश्चित समय विद्यालय बन्द गर्नुपर्ने बताए ।उनले अस्पतालमा बालबालिका बिरामीको संख्या पनि बढिरहेको अवस्थालाई मध्यनजर गरेर पठनपाठन हाललाई रोक्नुपर्ने बताएका हुन् । तापक्रम बढ्दै गएकाले विशेषतः बालबालिका र वृद्धवृद्धामा बढी समस्या देखिन थालेको चौलागाईं बताउँछन् । हेटौंडाका निजी विद्यालय बन्द गर्नुपर्ने आवाज उठेको हो । जस्ताको छाना हुने विद्यालयमा अध्यनरत विद्यार्थी गर्मीका कारण अझै बढी समस्यामा परेका छन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) मकवानपुरले विद्यालय बन्द गर्नुपर्ने सुझावसहित हेटौंडा उपमहानगरपालिकासँग माग राखेको छ । विद्यालय बन्द गर्ने अधिकार स्थानीय सरकारसँग हुने भएकाले प्याब्सनले उपमहानगरको ध्यानाकर्षण गराएको हो । अन्य विदामा मिलान हुने गरी हेटौंडा उपमहानगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गर्नुपर्ने प्याब्सन मकवानपुर अध्यक्ष बिनोद सुवेदीले बताए । ‘हामीले ध्यानाकर्षण गराएका छौं, बर्षे विदा अथवा अन्य कुनै विदामा मिलान गर्नेगरी बिदा दिनुपर्छ भनेका छौं, सबैभन्दा ठुलो कुरो बालबालिकाको स्वास्थ्य हो’, सुवेदीले भने ।

अभिभावक संघले पनि हेटौंडामा विद्यालय बन्द गर्नुपर्ने बताएको छ । अभिभावक संघ मकवानपुर अध्यक्ष रमिला सापकोटाले अत्याधिक गर्मी बढेकाले विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राखेर उपमहानगरपालिकाले उचित निर्णय लिनुपर्नेमा जोड दिइन् । उपमहानगरपालिकाको कार्यपालिका बैठक आज शुक्रबार बस्दैछ । विद्यालय वन्दको विषयले कार्यपालिका बैठकमा प्रवेश पाउने उपमहानगरका प्रवक्ता तथा १ नम्बर वडा अध्यक्ष सविन न्यौपानेले बताए । उनले कार्यपालिका बैठकमा छलफल भएर एउटा निर्णय आउने बताए । उनले गर्मीको समस्या देखिँदा बालबालिकालाई असहज नहुने गरी जस्तैः झ्याल ढोका सबै खोलेर, पंखा वा कुलर चलाएर भए पनि बालबालिकालाई सहज तवरबाट पठनपाठन गर्नुपर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*