दुर्गममा नर्स टिकाउन बागमती प्रदेश सरकारलाई हम्मे
हेटौंडा- गाउँगाउँमा स्वास्थ्यशिक्षा पु¥याउने उद्देश्यसहित बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७६÷७७ मा ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम ल्याएको त्यसयता ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमले निरन्तरता पाइरहेको छ ।विद्यालयमा नर्सको भूमिका प्रभावकारी देखिएपछि बागमती प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रममा पनि शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमलाई विस्तार गरी कक्षा १२ सम्म सञ्चालन भएका प्रदेशका सबै माध्यमिक विद्यालयमा पु¥याइने सरकरको नीति छ । प्रदेशका १३ वटै जिल्लामा छनोटमा परेका मावि तहका सामुदायिक विद्यालयमा ‘विद्यालय नर्स’को प्रभावकारिता भने प्रशंसायोग्य रहेको बताइन्छ ।
नर्सहरुले विद्यार्थीलाई ‘जंक फुड’ खान रोक लगाउनेदेखि प्रजनन् स्वास्थ्य, सरसफाइ र आधारभूत स्वास्थ्य क्षेत्रको विषयमा चेतना फैलाउँदा आमविद्यार्थीको जीवनशैलीमा परिवर्तन ल्याएको निष्कर्ष प्रदेशस्थित स्वास्थ्य मन्त्रालयको छ । तर ‘विद्यालय नर्स’को प्रभावकारिता विकटमा नभइ सुगम क्षेत्रमा मात्रै सीमित रहेको पाइएको छ । प्रदेशका अधिकांश जिल्लाको विकट क्षेत्रमा ‘विद्यालय नर्स’ कार्यक्रम कार्यान्वयन गराउन स्वास्थ्य मन्त्रालयलाई चुनौती देखिएको छ ।
तत्कालीन सामाजिक विकास मन्त्रालयबाट सञ्चालित विद्यालय नर्स कार्यक्रम हाल स्वास्थ्य मन्त्रालयले हेरिरहेको छ । प्रदेशमा सामाजिक मन्त्रालय विभाजन भएर स्वास्थ्य मन्त्रालय बनेपछि दायित्व सरेको हो । विगतमा सामाजिक विकास मन्त्रालयले भोगेको विकट क्षेत्रका विद्यालयमा नर्स नटिक्ने चुनौती स्वास्थ्य मन्त्रालयसम्म पनि कायमै छ । आर्थिक वर्ष २०७६÷०७७ मा प्रदेशका १ सय १९ स्थानीय तहमा एक जनाका दरले र थप एक गरी १ सय २० जना विद्यालय नर्स भर्ना भएका थिए। चालु आर्थिक वर्ष २०७९÷८० मा आईपुग्दा ४ सय ५९ विद्यालयमा रहेका नर्स र थप ६० नयाँ विद्यालयमा नर्स भर्ना हुँदा ५ सय १९ वटा विद्यालयमा नर्स खटाएका छन् ।
५ सय १९ जना विद्यालय नर्समध्ये ५० भन्दा बढी विकट क्षेत्रमा खटिएका थिए । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार विकटमा खटिएका ति विद्यालय नर्सहरु निश्चित समयसम्म टिक्न सकेनन् । धादिङ, मकवानपुर, काभ्रे, चितवन, रसुवा, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, दोलखा, नुवाकोटका विकट क्षेत्रमा खटिएका विद्यालय नर्सहरु नटिकेको स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठले जानकारी दिए । उनका अनुसार विद्यालय नर्सहरु छोटो समय विकट क्षेत्रमा गएर काम गरे पनि निश्चित समय भने टिक्न नसकेका हुन् ।
‘मन्त्रालयले विकट क्षेत्रका विद्यालयमा काम गर्ने गरी नर्स छनोट गरेर खटाएको थियो । ५० जनाभन्दा बढी नर्सले केही समय काम गरेर राजीनामा दिएर हिँडेका छन्’, श्रेष्ठले भने, ‘सुगम क्षेत्रमा खटिएका नर्सहरु हालसम्म पनि काम गरिरहेका छन् । विकटमा खटिएका लामो समयसम्म नटिक्नाले समस्या ल्यायो ।’ निर्देशक श्रेष्ठका अनुसार विदेशीने, बिहे गरेर अन्य जिल्लामा जाने र लोकसेवामा नाम निकालेपछि राजीनामा दिने कारणले कतिपय विद्यालयमा नर्सहरु नटिकेका हुन् ।
श्रेष्ठले स्वास्थ्य मन्त्रालयले खटाएको ५ सय १९ वटा विद्यालयमध्ये हाल ३३ वटा विद्यालयमा राजीनामा कारण नर्सको पदरिक्त रहेको गुनासो राखे । उनले खाली रहेको ३३ वटा विद्यालयमा वैकल्पिकमा सूचीका नर्स पठाउने तयारी गरिहेको जानकारी दिए । निर्देशनालयका नर्सिङ शाखा अधिकृत रीता महतोका अनुसार हप्तैपच्छिे ४÷५ जना नर्सहरुले राजीनामा दिने गरेका छन् । उनले विद्यालयमा नर्सहरुले राजीनामा दिने क्रमसँगै नयाँ पठाउने कार्य जारी राख्ने काम भइरहेको जनाइन् ।
उनका अनुसार विकटमा नियमित ओहोरदोहोर गर्न र बसोबासका लागि अप्ठेरो हुनु र अस्थायी प्रकृतिको जागिर भएकाले नर्सहरु टिक्न नसकेको तर्क गरिन् । विकटमा नर्सहरु टिक्न नसक्नुको कारण सम्बन्धित विद्यालय व्यवस्थापनको कमजोरी पनि देखिएको छ । मन्त्रालयका अनुसार विकटका अधिकांश विद्यालयले नर्सलाई अंग्रेजी पढाउन लगाएको सूचना आएको थियो । विकटका विद्यालयमा शिक्षकसमेत नटिक्ने समस्याले गर्दा नर्सलाई नै कक्षा लिन लगाउने गरेको पाइएको थियो । ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमको कार्यविधिले नर्सलाई पढाउन लगाउने काममा प्रतिबन्ध गरेको निर्देशक श्रेष्ठले जानकारी दिए ।
बागमतीमा १ हजार ५२२ मावि तहका विद्यालय छन् । जसमध्ये ४ सय ८६ नर्स विद्यालयमा कार्यरत छन् भने ३३ विद्यालयमा नर्स पठाउने तयारी छ । ५ सय १९ विद्यालयमा नर्स खटाएपनि प्रदेशमा अझै १ हजार ३ वटा विद्यालयमा नर्स पुगेका छैनन् । कार्यक्रम सुरु गरेका तत्कालीन सामाजिक विकासमन्त्री युवराज दुलालले दुर्गमका विद्यालयमा नर्सहरु नजानुमा विभिन्न कारणहरु रहेको बताउँछन् । उनले कार्यक्रम प्रभावकारी बनाउनका लागि अस्थायी नभई स्थायी दरबन्दी लोकसेवाबाट नै नियुक्त गरेर पठाउनुपर्ने जानकारी दिए ।
उनले दुर्गमका विद्यालयमा नर्स टिकाउनका लागि दुर्गम क्षेत्रका विद्यालयमा खटेका नर्सलाई थप स्रोत, साधन र भत्ताको व्यवस्था गरेर प्रोत्साहित गर्न सकेमा सबै विद्यालयमा नर्स टिक्ने बताए । सम्बन्धित स्थानीय तहले विद्यालय छनोट गरेर सिफारिस गरेपछि मन्त्रालयले नर्स खटाउने गरेको छ । स्थानीय तहले नै नर्सको परिचालन र तलब, भत्ता उपलब्ध गराउँदै आएको छ । कार्यक्रममा स्वास्थ्य मन्त्रालयले ३० करोड भन्दा बढी बजेट विनियोजन गरेको छ । नर्सहरुले विद्यार्थीको समग्र स्वास्थ्य, सरसफाई, पोषण, मानसिक स्वास्थ्य, किशोरकिशोरीमा प्रजनन स्वास्थ्य प्रवद्र्धन तथा सरुवा र नसर्ने रोगबारे स्वास्थ जीवनयापनमा उत्प्रेरणा जगाइरहेका छन् ।







