साइकलमैत्री सहर बनाउने प्रयास
हेटौंडा-हेटौंडालाई साइकलमैत्री सहर बनाउने परिकल्पना अनुसार हिमालयन राइडर्स सोसाइटी मकवानपुरको पहलमा पहिलोपटक हेटौंडाको ५ स्थानमा साइकल स्ट्याण्ड राखिएको छ । साइकल चढेर आउने सेवाग्राहीलाई साइकल स्ट्याण्ड वा साइकल पार्किङको लागि सहज भएको छ । साइकल पार्किङको समस्याबाट छुटकारा दिन र साइकल चोरी हुनबाट बचाउनका लागि साइकल स्ट्याण्ड आवश्यक रहेको भन्दै सोसाइटीले ५ स्थानमा सुरुवात गरेको सोसाइटीका सचिव राजु थापामगरले जानकारी दिए । साइकल स्ट्याण्ड राख्नका लागि हेटौंडा उपमहानगरका निवर्तमान मेयर हरिबहादुर महत लगायत १९ वडाका वडाअध्यक्ष र सरोकारवाला विभिन्न संघसंस्था, पत्रकार र बुद्धिजीबीसँग गरिएको अन्तरक्रियाको निष्कर्षपछि काम सुरु गरिएको हो ।
हेटौंडा उपमहानगरका मेयर मीनाकुमारी लामाको उपस्थितिमा हेटौंडाको बुद्धचोक वरपर नमूनाको रुपमा साइकल लेन बनाइएपछि साइकलमैत्री सहरको पूर्वाधार सुरु भएको सोसाइटीका अध्यक्ष रामकुमार श्रेष्ठले बताए । साइकलमैत्री सहर निर्माण गर्नका लागि आवश्यकता अनुसार साइकल पार्किङको ब्यवस्था गर्न सोसाइटीले सुरुवात गरेको हो । नमूनाको रुपमा हिमालयन मोटर्स प्रालिका संचालक सम्झौता सापकोटाको सौजन्यमा साइकल स्ट्यान्ड सहयोग लिएर हाल ५ स्थानमा साइकल स्ट्याण्ड राखिएको सोसाइटीका अक्ष्यक्ष श्रेष्ठले बताए ।
सरकारी निकायमा आउने सेवाग्राहीलाई मध्यनजर राख्दै हेटौंडामा नमूनाको रुपमा प्रस्तुत हेटौंडा उपमाहानगरपालिकाको कार्यालय, जिल्ला प्रशासन कार्यालय, हेटौंडा अस्पताल, हेटौंडा आँखा अस्पताल र हुप्राचौरको खेलमैदानमा साइकल स्ट्याण्ड राखिएको श्रेष्ठले बताए । हिमालयन राइडर्स सोसाइटीले सबैको साथ र सहयोग लिएर हातेमालो गर्दै नगरको १९ वटै वडा कार्यालयमा नमूनाको रुपमा साइकल स्ट्याण्ड राख्ने योजना बनाएको सोसाइटीका सचिव थापामगरले बताए । सवै वडा कार्यालयमा राखिेपछि आवश्यकता अनुसार अन्यत्र बिस्तार गर्दै लैजाने योजना रहेको बताइएको छ ।







