बागमती गाउँपालिकामा ४९ कर्मचारी अनुपस्थित
हेटौंडा- मकवानपुरको पूर्वी क्षेत्रस्थित बागमती गाउँपालिकामा एकै दिन ४९ जना कर्मचारी अनुपस्थित रहेको खुलेको छ ।आमनागरिकको घरदैलोको सरकार अनुशासित र नागरिकप्रति उत्तरदायी हुनुपर्नेमा बागमती गाउँपालिकाको कर्मचारी भने कार्यालय बाहिर नै रहेका छन् । जसकारण सर्वसाधारणले गाउँपालिकाबाट लिनुपर्ने सेवाबाट बञ्चित भएका छन् । आइतबार पालिकामा बिहानको साढे १० बजेसम्म धेरै कर्मचारी अनुपस्थित थिए । पालिका पुग्दा अधिकांश कर्मचारीका टेबुल कुर्सीहरु खाली थिए । पालिकाका प्रशासकीय अधिकृत झम्कनारायण घलान गत शुक्रबारदेखि कुनै लिखित जानकारी बिना अनुपस्थित रहेको पाइएको छ । बागमती गाउँपालिकाको हाजिरी
रजिष्टर कार्यालयका निमित्त प्रमुख दिनेशकुमार गुप्ताले हेरेपछि ४९ जना कर्मचारीको हाजिरी अनुस्थित रहेको थियो ।
आइतबार अनुपस्थित मात्र होइन । गत जेठ ७ गतेदेखि पालिकामा नआएको कर्मचारीको समेत पालिका प्रशासन बेखबर भेटियो । अधिकांश कर्मचारी फिल्डमा रहेको दाबी गरिरहेको पालिकासँग फिल्डमा खटिएको कर्मचारीको कुनै रेकर्ड नै छैन । कर्मचारीहरु डे«स कोडमा समेत भेटिदैनन् । सरकारले कर्मचारीलाई अनुशासित बनाउन र एकरुपता ल्याउन प्रतिबर्ष कर्मचारी पोशाकका लागि १० हजार रुपैयाँ उपलब्ध गराउँछ । तर, बागमती गाउँपालिकाका कर्मचारीहरु सरकारले तोकेको मापदण्डमा भेटिएनन् भने अधिकांश कर्मचारीसँग कर्मचारी परिचयपत्र समेत भेटिएन ।
त्यतिमात्र होइन, अघिल्ला मितिमा काम गरिएको देखाउनको लागि चलानी किताबमा चलानी नम्बर खाली राखेको भेटिएपछि कर्मचारीले तत्कालै सो नम्बर
कोरेका थिए ।कर्मचारी पालिकामा नभेटिदा एउटा कामको लागि पटकपटक धाउनु परेको र अध्यक्ष सर्केश घलान र उपाध्यक्ष फडिन्द्र तिमल्सिनासमेत पालिकामा नियमित नआउने गरेको सेवाग्राही दिनेश लामा बताउँछन् । अर्का सेवाग्राही सुजन तामाङले पनि गाउँपालिकामा कर्मचारी समयमा नआउने गरेको दुखेसो पोखे । बागमती गाउँपालिका वडा नम्बर–१ का वडाअध्यक्ष एहुन्ना राइलेसमेत कर्मचारीहरु समयमा नआउने गरेको गुनासो गरे । पालिकामा अध्यक्ष वा उपाध्यक्षमध्ये एकजना अनिवार्य रहनुपर्ने हुन्छ । पालिकाभित्रको बेथितिबारे प्रश्न गर्दा गाउँपालिका उपाध्यक्ष तिमल्सिनाले बेथिति रहेको स्वीकार गरेका छन् ।







