मकवानपुरमा टिपर आतड्ढ रोक्न डिआइजीको ठाडो निर्देशन
हेटौंडा- मकवानपुरमा टिपर आतंक रोक्न बागमती प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरीनायव महानिरीक्षक (डिआइजी) किरण राणाले ठाडो आदेश दिएकी छन् ।
प्रदेश प्रहरी कार्यालय हेटौंडामा बुधवार जिल्लाका प्रहरी प्रमुख प्रहरीउपरीक्षक (एसपी) बामदेव गौतम र जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक बसन्त आचार्यलाई टिपर आतंक रोक्न ठाडो निर्देशन दिएकी हुन् । बुधवार जिल्लाका पत्रकारहरुसँग अन्तक्रिया कार्यक्रममा सहभागी भएका एपसी गौतम र इन्स्पेक्टर आचार्यलाई टिपरको आतंकको गुनासो धेरै आएको भन्दै तत्काल नियन्त्रण गर्न निर्देशन दिएकी हुन् । पत्रकारहरुले हेटौंडाको बजार क्षेत्रको असुरक्षासँगै कानुनको ठाडो उल्घंन भइरहँदा पनि प्रहरी मुकदर्शक बनेको भन्दै प्रश्न उठाएका थिए ।
पत्रकारहरुले प्रश्न उठाए पछि डिआइजी राणाले कार्यक्रम स्थलमै रहेका एसपी गौतम र इन्स्पेक्टर आचार्यको ध्यानाकर्षण गराएकी थिइन् । डिआइजी राणा प्रदेश प्रहरी प्रमुख भएर हेटौंडाको आएको दुई महिना हुँदैछ । उनले समाजमा शान्ति सुरक्षा स्थापना र कानुन उल्घंन गर्नेलाई कडा कारबाहीको दण्ड चलाउने विश्वास दिलाएकी छन् । मकवानपुरमा सिमेन्ट उद्योगका चुनढुंगा खानी क्षेत्रमा सञ्चालन हुने टिपरको तीव्रगति र ओभरलोडले आमजनतामा आतड्ढ नै फैलिएको भन्दै राजनीतिक दलका भातृ संगठनदेखि नागरिक समाजले आवाज उठाउँदै आएका छन् । तर, नियमनकारी निकाय मुकदर्शन हुँदा टिपर आतंक रोकिन सकेको छैन ।
जिल्लास्थित सिमेन्ट उद्योगमा चुनढुंगा उत्खनन् क्षेत्र (खानी) बाट आवतजावत गर्ने टिपरले गाउँदेखि नगर क्षेत्र नै आतड्ढित बनाएको हो । तर, ‘हात्तीका अगाडि भुसुना’ भन्ने नेपाली उखान झैं शक्तिको आडमा व्यवसायीले ट्राफिक नियम उल्लंघन गरिरहँदा आतड्ढ हट्नुको साटो झन् बढेको छ । टिपरले ढालाभन्दा एक हातमाथि ढुंगा बोकेर तीव्रगतिमा कुदिरहेका छन् । जसको कारण ढुंगा खसेर लाग्ने डरले विशेष गरी हेटौंडा बजारको मुख्य सडक क्षेत्र नै आतड्ढित बनेको हो । तर, ओभरलोड बोकेर सडकभरि खानीजन्य ढुंगा, गिट्टी र बालुवा छरेर टिपर कुदिरहँदा पनि ट्राफिक प्रहरी रमिते बनिरहेका छन् ।
जल्लाको शान्ति सुरक्षाको जिम्मा लिएका प्रमुख जिल्ला अधिकारीको आदेशसमेत प्रहरीले कार्यान्वयन नगरेको गुनासो सरकारी अधिकारी नै गरिरहेका छन् । टिपरले ओभरलोड चुनढुंगा बोकेर हिँडेको गुनासो धेरै आएपछि केही महिना अघि जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेको थियो । हेटौंडा–१ नम्बर वडा कार्यालयले पनि सो सम्बन्धमा ध्यानाकर्षण बुझाएको थियो । तर, उक्त पत्राचारप्रति नियमन गर्नेतर्फ प्रहरी गम्भीर नभएको हाल भइरहेको टिपरका आतड्ढले पुष्टि गर्दछ । ‘नेपालको कानून दैवले जानून्’ भन्ने उखान यही प्रस·मा पुनः मिल्न गएको छ ।
प्रदेशका १० वटा जिल्ला (उपत्यकाबाहेक)को शान्ति सुरक्षाको जिम्मेवारी लिइरहेकी डिआइजी राणाको ठाडो निर्देशनको कार्यान्वयन पाटो भने हेर्न बाँकी छ । कानुन कार्यान्वयनमा समय सीमा निर्धारण हुँदैन । तर, मकवानपुरमा भने आवाज उठेपछि कानुन कार्यान्वयन भएको जस्तो देखिने र आवाज मत्थर हुन थालेपछि कानुनले कामै गर्न छोड्ने समस्या रहेको हेटौंडा–१ चौकीटोलका डिल्लीबहादुर थापा बताउँछन् । टिपरको तीव्रगतिका कारण दायाँबायाँ गुड्ने साना सवारीहरु नै साइड लागेर भागेको देख्दा स्थानीयले जिब्रो नै टोकेर भयभित हुने गरेका छन् ।
हेटौंडा नगरक्षेत्रका तीनवटा सिमेन्ट उद्योगका कच्चापदार्थ आपूर्ति गर्ने क्रममा टिपरले क्षमता भन्दा बढी लोड बोकेर नगरको मुख्य सडक र यात्रुलाई जोखिममा पारिरहेका छन् । तीव्र गतिका टिपर आउने बित्तिकै मोटरसाइकल, साइकल, अटो, मयुरी जस्ता साना सवारी साधन कालोपत्रे सडक छोडेर भाग्नुपर्ने अवस्था छ । टिपरले ढालाभन्दा माथि चुली लगाएर चुनढुंगा ल्याएपछि सडक सुरक्षामै खतरा निम्तिएको हो । नेपालको सडकहरु १० मेट्रिक टन भारवहन गर्ने सवारीका लागि निर्माण गरिएको भएपनि ५० टनभन्दा बढी चुनढुंगा बोक्ने टिपरहरु निर्बाध चलिरहेका छन् । तर, प्रहरी प्रशासनको यसतर्फ कुनै ध्यान गएको छैन । नयाँ किन्दाको अवस्थाको टिपरको ढाला बराबरमात्रै चुनढुंगा बोक्न पाउने मापदण्ड भएपनि हाल ढाला थपेर त्यसमाथि पनि चुली लगाएर ढुंगा ओसारपसार गरिरहेका छन् ।
टिपरहरुको अटेरीपनाका कारण ट्राफिक प्रहरी नै हैरान छन् । हेटौंडास्थित ऋद्धिसिद्धि सिमेन्ट उद्योगले राक्सिराङ गाउँपालिका र शिवम् सिमेन्टले मकवानपुरगढी गाउँपालिकाको ७ र ८ नम्बर वडामा रहेका खानीबाट चुनढुंगा उत्खनन् गरिरहेका छन् । उत्खनन् गरिएका चुनढुंगा टिपरले ढाला भन्दा माथि चुली बनाएर कानुनविपरित ओसारपसार गरिरहेका हुन् ।







