बागमती प्रदेश प्रहरीमा चारहजार मुद्दा

साझाकुरा
२०८० जेष्ठ २५, बिहीबार ११:४४

हेटौंडा- बागमती प्रदेश प्रहरी कार्यालयले अपराधिक गतिबिधितर्फ ४ हजार ५४ वटा मुद्दा दर्ता गरेका छ । अपराधसम्बन्धी मुद्दा अन्तरगत सबै भन्दा बढी आत्महत्यामा ७ सय ९४ मुद्दा दर्ता भएको कार्यालयले जनाएको छ ।बागमती प्रदेश प्रहरी कार्यालयले बुधबार पत्रकार भेटघाटमा चालू वर्षको प्रगति विवरण सार्वजनिक गर्दै यो तथ्यांक सार्वजनिक गरेको हो । कार्यालयका प्रहरी वरिष्ठउपरीक्षक एंव प्रवक्ता दीपक रेग्मीले प्रगति विवरण सार्वजनिक गरेका थिए ।

तथ्याङ्क अनुसार लागूऔषधमा ३ सय २२, चोरीमा२ सय ५९, जबरजस्ती करणीमा २ सय २४, सवारी ज्यानमा २ सय ८ मुद्दा दर्ता भएको जानकारी दिए । रेग्मीका अनुसार ज्यान मार्ने उद्योगमा ६३, जबरजस्ती करणी उद्योगमा ५९, ठगी ५७, कर्तव्यज्यान अन्तर्गत ३६, जुवातासमा ३३ र अन्य शीर्षकमा एक हजार ९ सय ३४ मुद्दा दर्ता भएको हो ।
प्रगति विवरण सार्वजनिक गर्दै प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख डिआइजी किरण राणाले प्रहरीको सुरक्षामा सुधार ल्याउन आफूले नयाँ कन्सेप्ट लिएर जिल्लामा स्मार्ट कन्ट्रोल रुम निर्माणमा लागिपरेको जानकारी दिइन् ।

स्मार्ट कन्ट्रोल रुम चालु आवमा नै निर्माण सम्पन्न गरी सुचारु गर्ने तयारीमा रहेको उनले बताइन् । सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले अपराध नियन्त्रणमा कुनैपनि कसर बाँकी नराख्ने बताइन् ।कार्यालय आन्तरिक शुद्धीकरणदेखि अपराध नियन्त्रणको अभियानमा रहेको बताउँदै राणाले भनिन् ‘लागूऔषध नियन्त्रण, प्रदेशभित्रका फरार अपराधी पक्राउमा तीव्रता, सबै किसिमको तस्करी नियन्त्रण, अवैध प्राकृतिक स्रोतसाधनको दोहनलाई पूर्णरुपमा निषेध, प्रहरी जनशक्ति सुदृढिकरण एंव शुन्यसहनशीलाको नीति अवलम्बन गर्ने लगायतका योजना रहेको छ ।’

संगठनमा कतिपय व्यक्तिबाट गल्ती हुने गरेकोमा संगठन शुद्धीकरण गरेर जाने जानुपर्छ डिआइजी राणाले भनिन्–मकवानपुरमा गाँजाको खेती तथा ओसारपसार अत्यधिक मात्रामा हुने गरेकोले त्यसको व्यवस्थापनमा लागिपरेका छौं ।’ आफूले गाँजा न्युनीकरणका लागि आन्तरिक मन्त्रालयका मन्त्री र मुख्यमन्त्रीसँग छलफल गरेको र व्यवस्थापन गरेर अगाडि बढ्ने प्रतिवद्धता समेत उनले जनाइन् । प्रदेश प्रहरी कार्यालयको उपत्यकाका ३ जिल्ला बाहेक प्रदेशका १० जिल्ला कार्यक्षेत्र रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*