अलपत्र ‘बागमती प्रदेश मुख्यमन्त्री सभाहल’ निर्माण,उपमहानगरपालिकालाई देखाएर पन्छिदै
हेटौंडा- हेटौंडा–२ स्थित हेटौंडा उपमहानगरपालिकाको भवन पछाडि निर्माण सुरु गरिएको ‘बागमती प्रदेश सभाहल’ अलपत्र परेको छ । गत आर्थिक वर्ष २०७७ कात्तिक १७ गते प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गरेको सभाहलको म्याद समाप्त भएर पुनः म्याद थप प्रक्रियामै रहँदासम्म पनि कुनै काम अगाडि बढ्न नसकेको हो । तीन वर्षअघि शिलान्यास गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सभाहलको भौतिक प्रगति करिव २० प्रतिशत छ ।
निर्माणका लागि तयार पारिएको प्लिन्थ लेभलको ढलान गर्न विछ्याइएको रडहरु खिया लागिसकेको छ भने निर्माण सामग्रीहरु असरल्ल अवस्थामा रहेका छन् । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतको शहरी विकास तथा भवन कार्यालय हेटौंडाले सो सभाहलको निर्माणको ठेक्का आह्वान गरेको थियो ।
निर्माण कम्पनीले २०७९ वैशाख १९ गतेसम्म निर्माण सम्पन्न गरिसक्ने गरी कार्यालयले कुल ५ करोड २६ लाख ८३ हजार रुपैयाँ लागतमा सभाहल निर्माणको ठेक्का निर्माण कम्पनीसँग सम्झौता गरेको थियो । चार सय जना क्षमताको सो सभाहल निर्माणका लागि घटाघट विधि अनुसार संरक्षण निर्माण सेवा÷शेभ इन्जिनियरिङ कन्स्ट्रक्सन जेभीले ठेक्का सम्झौता गरेको थियो ।
ठेक्का सम्झौताको तीन वर्ष वितिसक्दा समेत सो सभाहलको प्लिन्थ लेभलको काम पनि सम्पन्न हुन सकेको छैन । तीन वर्षको अवधिमा सभाहलको २० प्रतिशत मात्र भौतिक प्रगति भएको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका भवन तथा शहरी विकास कार्यालयका निमित्त प्रमुख इन्जिनियर घनश्याम श्रेष्ठले जानकारी दिए । निर्माण कम्पनीले निर्माण सामग्रीहरु असरल्ल पारेर बेपत्ता भएपछि भने कार्यालयले पटकपटक ताकेता गर्ने प्रयास गरेको देखिन्छ । ताकेतापत्र पठाउँदा पनि ठेगदार सम्पर्कविहीन बनेको निर्माण कम्पनीको यतिबेला म्याद थप गराउने प्रक्रियामै रहेको निमित्त प्रमुख श्रेष्ठले बताए ।
उनका अनुसार सभाहल बनाउने क्रममा हेटौंडा उपमहानगरपालिकाले भवन बनाउने तयारी गरेको भन्ने सुन्नमा आएको हुँदा त्यसकारण पनि काम रोकेको बताए । ‘उपमहानगरपालिकाको कार्यपालिकाको बैठकले सभाहल निर्माण भईरहेको भवनमा छुट्टै भवन निर्माण गर्ने भन्ने सुन्न आएको छ । तर, आधिकारिक निर्णय भने आइसकेको छैन ,’ श्रेष्ठले भने, ‘त्यस्कारण पनि केही समस्या उत्पन्न भएको छ ।’ उनले उपमहानगरपालिकाको निर्णय आईनसकेको हुँदा ठेकेदार कम्पनीलाई भने काम अगाडि बढाउन पत्राचार गरेको जानकारी दिए ।
यता, हेटौंडा उपमहानगर पालिकाका प्रवक्ता एंव हेटौंडा–१ का वडाअध्यक्ष सविन न्यौपानेले उपमहानगरले कुनै भवन बनाउने निर्णय नगरेको बताएका छन् । उपमहानगरपालिकाको स्वामित्वमा रहने गरी सुरु गरिएको सभाहलको निर्माण पश्चात सो सभाहलको सम्पूर्ण व्यवस्थापन हेटौंडा उपमहानगरपालिकामा रहने गरी कुनै संस्थागत निर्णय नगरी पत्राचारको भरमा निर्माण गर्न दिएको प्रवक्ता न्यौपानेले जानकारी दिए ।
प्रवक्ता न्यौपानेले कुनै पनि कार्यापालिकाको वैठकमा त्यस्तो निर्णय नगरेको बताए । प्रवक्ता न्यौपानेले कार्यालय परिसरको जग्गामा तीन वर्षदेखि सभाहल निर्माण अलपत्र परेर २० प्रतिशत काम पनि नभएको भन्दै असन्तुष्टि व्यक्त गरे । यतिबेला प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वय हुन नसकेको स्पष्ट देखिन्छ । प्रदेशको राजधानीको उपमहानगरपालिकासँग समन्वय गर्ने बिधि र पद्धति प्रदेश सरकारसँग नभएको देखिन्छ ।
खाली देखिएको जमिनमा हचुवाको भरमा सभाहल निर्माण गर्ने निर्णय नै प्रदेश सरकारका लागि घाँडो भएको स्थानीयले बताएका छन् । बिगतमा हेटौंडा नगरपालिकाको खाली जमिनमा कतिपय आमसभा, सांस्कृतिक कार्यक्रम हुने गरेको थियो । प्रदेश सरकारले नगरपालिकाको खाली जग्गामा सभाहल बनाउने निर्णय गर्नु नै गलत रहेको स्थानीयको भनाई छ । प्रदेश सरकारका लागि सभाहल अत्यन्तै जरुरी थियो तर, हचुवाको भरमा लगानी गर्दाको परिणाम देखिएको स्थानीयले बताएका छन् ।







