निर्माणाधीन चुरियामाई सुरुङको निरीक्षण

साझाकुरा
२०८० जेष्ठ २६, शुक्रबार १०:०७

हेटौंडा-हेटौंडाको चुरीयामाइमा रहेको चुरीयामाइ सुरुङको बिहीबार बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले निरीक्षण गरेका छन् । आफू मुख्यमन्त्री हुँदा निकासा गरेको रकमबाट निर्माण भएको चुरीयामाइ सुरुङको उनले निरीक्षण गरेका हुन् ।३ करोड ३६ लाख रुपैयाँको लागतमा निर्माण भएको सुरुङबाट नै पौडेल र बागमती प्रदेशका पूर्वराज्यमन्त्री जुनेली श्रेष्ठले निरीक्षण गरे । सुरुङको सिरानभागबाट छिरेर अर्को तर्फबाट सजिलै निस्कन पाउँदा खुसी समेत ब्यक्त गरे ।

राजधानी काठमाडौंलाई मकवानपुरको हेटौंडा हुँदै तराईसम्म जोड्न राण प्रम चन्द्रशमशेरको पालामा निर्माण गरिएको चुरियामाई सुरुङबाट वारपार गर्न सकिने भएको छ ।
दक्षिण एसियाकै पहिलो मानिने यो ऐतिहासिक सुरुङको एउटा खण्ड करिब ४० मिटर भत्किएको थियो । त्यसलाई मर्मत गरेर वारपार गर्न सक्ने बनाइएको बागमती प्रदेशको भौतिक पूर्वाधार निर्देशनालयका निर्देशक लोकनाथ रेग्मीले जानकारी दिए । ‘सुरुङ खुलाएर वारपार गर्न सक्ने बनाइएको चारदिन जति भयो,’ निर्देशक रेग्मीले भने, ‘अब फिनिसिङको काम बाँकी छ’ ।

सुरुङ मार्गमा काम जारी रहेकाले सबैलाई प्रवेश अनुमति नदिइएको उनले बताए ।यो सुरुङ ऐतिहासिक भएकाले सवारी साधन सन्चालन भन्दा पनि पर्यटकले अवलोकन र पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने योजना प्रदेश सरकारको रहेको निर्देशनालयका प्रवक्ता हरिप्रसाद ओझा बताउँछन् । चुरियामाई सुरुङ विक्रम संवत् १९७४ मै बनेको थियो । नेपालका प्रथम स्नातक इन्जिनियर भनिने ब्रिगेडियर जनरल डिल्लीजंग थापाले ५ सय मिटर लम्बाइको यो सुरुङ डिजाइन गरेका थिए । चुरे पर्वतमा बनेको यो सुरुङ साँढे २ मिटर चौडाइ, ३ मिटर उचाइ र ५०० मिटर लम्बाइको छ ।

माटो, इँटा, चुना र सुर्की प्रयोग गरी निर्माण गरिएको यो सुरुङबारे स्वीस भूगर्भविद टोनी हेगनले आफ्नो पुस्तक ‘दी हिमालयन किङडम अफ नेपाल’मा पनि चर्चा गरेका छन् । उनले यसलाई ‘एसियाकै पहिलो मानवनिर्मित सुरुङ हुन सक्ने’ उल्लेख गरेका छन् । भारतमा पनि नबनेको यस्तो सुरुङ मार्ग नेपालमा देख्दा आफू अचम्मित र खुसी भएको टोनी हेगनले उल्लेख गरेका थिए ।

राणाकालमा रक्सौलबाट बाराको अमलेखगञ्जसम्म रेल चल्थ्यो, त्यहाँबाट मकवानपुरको भीमफेदीसम्म बनाइएको सडकमार्गमा चुरे पहाड छिचोल्दै हेटौंडा छिर्न सजिलो थिएन । त्यसैले पहाडमा घुमाउरो बाटो बनाउनुको साटो सीधा सुरुङ मार्ग खनेर गाडी चलाइएको थियो । यही सुरुङ मार्ग हुँदै चल्ने गाडीले मकवानपुरको भीमफेदीसम्म समान ल्याउँथे । काठमाडौंसम्म जोडिने सडक नभएकाले भीमफेँदीबाट भरिया लगाएर काठमाडौंसम्म सामान भित्राइन्थ्यो ।

प्रजातन्त्र पुनस्र्थापनापछि २०१३–१६ सालमा त्रिभुवन राजपथ बन्यो । त्यसैक्रममा यो सुरुङको बीच खण्डमा विष्फोट गराएर भत्काएर त्यसैमाथि सडक बनाइएको थियो । त्रिभुवन राजपथको बक्स कटिङ रोडदेखि दक्षिणतिरको भागमा धसिएको स्थान मर्मत गरेर सुरुङ खुलाइएको भौतिक पूर्वाधार निर्देशनालयका प्रवक्ता ओझाले जानकारी दिए ।
ओझाका अनुसार सुरुङको २० मिटर जति भाग धसिएको अनुमान गरी मर्मतका लागि डीपीआर निर्माण गरिएको थियो ।

तर, मर्मत सुरु गरेपछि ४० मिटर भाग धसिएको पाइयो । यसैगरी सुरुमा १९८ मिटर लम्बाइमा पुननिर्माण गर्नुपर्ने पूर्वानुमान भए पनि मर्मत गर्दै जाँदा २२२ मिटर लम्बाइमा निर्माण गर्नुपरेको उनले बताए । ‘सुरुङ साँघुरो भएकाले र मेसिन पनि लैजान नमिल्ने भएकाले त्यहाँको काम गर्न हामीलाई ५ महिना लाग्यो,’ ओझाले भने ।

३ करोड ३६ लाख रुपैयाँको लागतमा माउन्टेन इन्फ्रा कन्स्ट्रक्सनले २०७७ वैशाखमा सुरुङ पुनर्निर्माणको ठेक्का पाएको थियो । सुरुमा एक वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि कोरोना महामारी, प्राविधिक कठिनाइ लगायत कारण दुईपटक म्याद थपिएको थियो । पछिल्लो पटक थपिएको म्याद अनुसार आगामी असार मसान्तभित्र काम सम्पन्न गर्ने लक्ष्य रहेको प्रवक्ता ओझाले जानकारी दिए । सबै काम सम्पन्न गरेपछि हेटौंडा उपमहानगरपालिकालाई जिम्मा लगाउने निर्देशनालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*