विरुवा रोपेको १० दिनमै काउली फूल्यो !
हेटौंडा- थाहानगरका किसानले बारीमा रोपेको १० दिनमै काउली फूलेको छ । थाहा नगरपाकिला ३ शिखरकोटकी किसान रुकु रायमाझीले करिब एक रोपनीमा लगाउनु भएको काउली रोपेको १० दिनमै फूली सबै विग्रिएको हो ।काउली विग्रिए पछि बीउबिजन, मलजलसँगै खेतीमा गरेको लगानी खेर गएकोमा किसानलाई चिन्ता थपिएको छ । काउली रोपेर फलाई केही कमाउने आशा सहित बल्लतल्ल जोहो गरेको मलजल हाली दुख गरेर लगाएको बाली विग्रदा रायमाझीलाई चिन्ता त छदै छ । यसको जिम्मेवारी कसको हुने ? भन्ने प्रश्नको उत्तर पनि खोजिरहेकी छन् । उनी भन्छिन्–‘दुख गरेर खेती गर्ने किसानलाई न्याय कसले दिन्छ ? दोषी पहिचान हुन्छ कि हुँदैन र कार्बाही हुन्छ कि हुँदैन ? मलाई न्याय दिनु प¥यो ।’
रायमाझीले बीउका कारण हो कि भनी बीउ किनेको पसलमा कुरा पनि गरिन् तर, पसलबाट बीउका कारण त्यस्तो नभएको उत्तर पाइन् । के कारणले काउली फूल्यो ? चित्बुझ्दो उत्तर भने अझै पाएकी छैनन् । थाहामा यस्तो भएको यो नौलोे होइन । यस अघि पनि पटकपटक बीउबिजनका कारण किसानले लगाएको बाली बिग्रिएको छ । तर, किसानले न्याय कहिल्यै पाएका छैनन् ।
बुढो बेर्ना, गाँठे रोग र प्रतिकूल मौसमको कारण काउली १० दिनमै फूल्यो–कृषि प्राविधिक
थाहा नगरपालिका वडा नं ३ शिखरकोटकी किसान रुकु रायमाझीले लगाएको काउलीको बिरुवा १० दिनमा काउली फूल्यो भन्ने समाचार आएपछि थाहा नगरपालिका कृषि शाखाले छानवीन गरेको छ ।गुनासोको छानवीन गर्न भनी थाहा नगरपालिका कृषि विकास शाखाबाट जेष्ठ ३० गते कृषि अधिकृत विकास विक, प्रा.स. बालकुमारी भट्टराई, ना.प्रा.स. राजकुमार श्रेष्ठ र वडा प्राविधिकहरु रोहिणी स्याङ्तान र विनिता विष्ट सहितको टोलीले स्थलगत निरीक्षण गरेको कृषि शाखाले जानकारी दिएको छ ।नगर कृषि शाखाबाट निरीक्षणको क्रममा कृषकसँग सोधपुछ गरी बुझदा कृषकले ह्वाईट टप (अगौटे) जातको काउली लगाएको पाइएको र त्यहाँ देखिएका केही समस्याहरुमा ६० दिने ह्वाईट टप काउलीको बेर्नालाई १ महिना भन्दा बढी बुढो बेर्ना सारेकोले समस्या आएको कृषि अधिकृत विकास विकले बताए ।
अधिकृत विककाअनुसार बीउ राख्ने, उमार्ने, ब्याडमा नै गाँठे रोगको सँक्रमण रहेको र केही समयदेखि लगातारको खडेरी र उच्च तापक्रमको प्रभावका कारण बिरुवा बढ्न नसकेको र अहिलेको बाली भन्दा अघि गँहु लगाएको तथा पर्याप्त मलखाद पनि नपुगेको हुँदा यस्तो समस्या आयको बताउदै पूजा एग्रोभेटबाट खरिद गरी ल्याएको बीउमा रहेको यथार्थ संकेतपत्रअनुसार बीउ म्याद ननाघेको र उमारशक्ति पनि सहि रहेको बताए ।
कृषि अधिकृत (कृषि स्नात्तक) विकास विकले कृषकले पनि सम्बन्धित वडा कृषि प्राविधिकमार्फत वा प्रत्यक्षरुपमा नगरको कृषि विकास शाखाबाट आफ्ना खेतबारीमा विद्यमान प्राविधिक समस्याबारे सल्लाह लिन आग्रह गर्दै हाल कृषकको फिल्ड अनुगमनबाट समस्या यकिन गरी सुझाव दिदै आएको जानकारी गराए । कृषि विकास अधिकृत सँजय तिवारीले आगामी दिनमा थाहा नगरभित्र प्राविधिक सेवा तथा अनुदानका कार्यक्रमलाई सर्वहारा कृषक वर्गलाई सम्बोधन गर्ने र सहज बनाउन लागिपरिरहेको बताए ।







