हेटौंडाबाट ९ बुँदे सहकारी प्रतिबद्धता जारी
हेटौंडा-सहकारी क्षेत्रमा देखिएका समस्या र निराकरण विषयक दुईदिने प्रदेशस्तरीय गोष्ठीले हेटौंडाबाट ९ बुँदे सहकारी प्रतिबद्धता जारी गरेको छ ।बागमती प्रदेश सहकारी विकास बोर्डको आयोजनामा भएको प्रदेशस्तरीय गोष्ठी बुधवार समापन भएको छ । बुधबार ९ बुँदे प्रतिवद्धतापत्र घोषणा गर्दै गोष्ठी समापन भएको हो । प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटाले गोष्ठीबाट तयार भएको ९ बुँदे प्रतिवद्धतापत्र पढेर सार्वजानिक गरेसँगै हलबाट पासपनि गरिएको थियो ।
पत्रमा सहकारी संघसंस्थाहरुले आफ्ना सदस्यहरुको लागि आर्थिक वर्ष ०८०÷८१ लाई ‘सदस्य जागरण वर्ष’ को रुपमा कार्यक्रम तयार गरी कार्यन्वयन गर्ने÷गराउने, प्रदेश सहकारी नीति निर्माणमा प्रदेश सरकारलाई सबै संघहरुले सहयोग गर्ने र यसवर्ष बागमती प्रदेश सहकारी नीति तर्जुमा गर्ने विषय समेटिएको छ ।प्रदेशको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयले बागमती प्रदेश भित्रका सहकारीको वास्तविक अवस्थाको जानकारी प्राप्त गर्नेगरी सबै सहकारीको वस्तुगत विवरण सहितको तथ्यांक संकलन गरी प्रकाशन गर्ने, संघीय सहकारी ऐन, नियमावली र बागमती प्रदेश सहकारी ऐन, नियमावलीबीचमा देखिएका दोहोरोपन हटाउन ऐन नियमावली अभियानको सुझावका आधारमा आवश्यक्ता अनुसार संशोधन गर्ने प्रतिबद्धतामा उल्लेख छ ।
प्रतिबद्धतामा भविष्यमा सहकारी अभियानमा थप क्षति हुन नदिन सबै सहकारी संस्थालाई सहकारी संघ÷सहकारी बैंकले विकास गरेको सुशासन, दिगोपन विकास र स्वःनियमनका कार्यक्रममा अनिवार्य समावेश गराउँदै लैजाने, सहकारी संस्थालाई उत्पादन तथा बजारीकरणका आधारमा अनुदान र उनीहरुको सीप विकासका लागि आवश्यक तालिम कार्यक्रमको व्यवस्था मन्त्रालयले मिलाउने, बागमती प्रदेशभित्रका सबै सहकारी संघको संस्थागत विकासका लागि आवश्यक सहयोग गर्ने, प्रदेश सरकारले तयार गरेको सहकारी संघ÷संस्था संचालन, अनुगमन तथा लेखापरीक्षण सम्बन्धी मापदण्ड–२०७९ पूर्ण रुपमा कार्यान्वयन गर्न मन्त्रालयले आवश्यक व्यवस्था गर्ने र सहकारी अभियानको पूँजीको संरक्षण गर्ने दायित्व अभियानलगायत छ ।
‘सहकारी अभियान र मन्त्रालय सदस्यहरुको सम्पूर्ण बचतकर्ताको बचत पूर्णसुरक्षा गर्ने प्रतिवद्धता जाहेर गर्दछौं र सहकारी संस्थालाई कानुनी व्यवस्था बमोजिम स्वःनियमनमा सञ्चालन गर्ने गराउन प्रतिवद्धता व्यक्त गर्दछौं’, प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ । कार्यकारी उपाध्यक्ष देवकोटाले प्रतिवद्धतामा रहेका विषयवस्तुलाई आफ्नो जिल्लागत संघ र प्रारम्भिक संस्थालाई कार्यान्वयन गर्न गराउन सबैमा आग्रह गरेका छन् ।
देवकोटाकै सभाध्यक्षतामा भएको समापन कार्यक्रममा पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयका सचिव गोविन्दप्रसाद रिजालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष एंव संविधानसभा सदस्य ओमदेवी मल्ल, प्रदेश सहकारी रजिष्ट्रार राधाकृष्ण खतिवडा, नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेमराज पाठक, नेफ्स्कुनका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल जडिबुटी सहकारी संघ केन्द्रीय अध्यक्ष ईश्वरीराज पाण्डे, प्रदेश सहकारी संघको अध्यक्ष रामशरण घिमिरेलगायतले आफ्नो धारणा राखेका थिए ।







