भ्रष्टाचार गर्नेले छुट पाउँदैनः उपमहासचिव ज्ञवाली

साझाकुरा
२०८० असार १, शुक्रबार १०:१३

हेटौंडा- हेटौंडामा नेकपा एमाले मकवानपुरका नेताहरुलाई प्रशिक्षण दिँदै एमालेका उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले भ्रष्टाचार गर्नेले छुट नपाउने बताए ।उनले नेकपा एमालेले भ्रष्टाचार गर्न नदिने दृढता व्यक्त गरे । नेकपा एमाले, मकवानपुर जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उनले भ्रष्टाचारको उजागर गर्ने, भ्रष्टाचारीलाई कार्वाही गर्ने र भ्रष्टाचारविरुद्व संघर्ष गर्ने पार्टी नेकपा एमाले भएको बताए ।

राष्ट्रियता रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, विकास र समृद्वि तथा सुशासनको बारेमा नेकपा एमाले कुनै सम्झौता नगर्ने बताउँदै पार्टीप्रति चौतर्फी घेराबन्दी हुनु र मुलुकमा भ्रष्टाचार व्यप्त हुनु, राष्ट्रियता कमजोर हुनु, लोकतन्त्रको विरुद्वका शक्ति सल्बलाउनु कुनै संयोग नभएर मुलुकलाई कमजोर बनाउने योजनाबद्व षडयन्त्र भएको दावी गरेका छन् ।

उपमहासचिव ज्ञवालीले पार्टी सदस्य र कमिटीलाई चुस्त राख्दै जनताको समस्या र दुःखमा सहभागी भएर सबैखाले भ्रमहरुलाई चिर्दै नेकपा एमालेलाई सुदृढ बनाउँदा मात्र विरोधीहरुको जस्तोसुकै षडयन्त्र समाप्त पार्न सकिने विश्वास व्यक्त गरे । प्रशिक्षण कार्यक्रममा पोलिटब्यूरो सदस्य तथा स्कुल विभाग उपप्रमुख ईश्वरी रिजालले दर्शनले सही दिशा देखाएन, सिद्धान्तले व्यवहारमा सिद्धि प्राप्त गरेन, नीति–कार्यक्रम कार्यान्वयनमा गएनन्, कार्यशैली जीवन शैली बनेन, इच्छा शक्ति कार्य शक्तिमा रुपान्तरण भएन, कर्तव्यले गन्तव्य देखेन र निजी स्वार्थहरु सामुहिक स्वार्थमा बदलिएन भने कम्युनिष्ट राजनीतिको मूल्य ह्रास हुँदै जाने बताए ।

कार्यक्रममा पार्टी केन्द्रीय सदस्यहरु रामेश्वर राना, जुनेली श्रेष्ठ, भारती पाठक, केन्द्रीय सल्लाहकार परिषद् सदस्य डोरमणि पौडेल, केन्द्रीय निर्वाचन विभागको सदस्य अनन्त पौडेल, प्रदेश कमिटीका सदस्यहरु, सल्लाहकार परिषद् र विभागका सदस्यहरुको अतिथ्यतामा भएको प्रशिक्षण कार्यक्रममा जिल्ला कमिटी सदस्यहरु, जिल्ला सल्लाहकार परिषद्, जेष्ठ कम्युनिष्ट मञ्च तथा लेखा कमिटीका पदाधिकारीहरु, पालिका र विशेष ईलाका कमिटीका अध्यक्षहरु, जनसंगठनका केन्द्रबाट जिल्ला ईन्चार्ज तथा जिल्ला अध्यक्षहरुसहितको १ सय ५० जनाको उपस्थिति रहेको नेकपा एमाले जिल्ला कमिटी सचिव नवीन सिग्देलले जानकारी दिए ।

जेठ ३१ र ३२ दुई दिनसम्म भइरहेको प्रशिक्षण कार्यक्रममा वाईवि आचार्यले सूचना प्रविधिको प्रयोगबारे बिहीवार प्रशिक्षण दिएको सचिव सिग्देलले जानकारी दिए । पार्टी जिल्ला अध्यक्ष एकालाल श्रेष्ठको सभाध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रमपछि जिल्लाव्यापी रुपमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने बताइएको छ । मकवानपुरमा एमालेले केहि समय अघि मात्रै ‘मिसन ग्रासरुट अभियान’ सञ्चालन गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*