ढुवानीमा भ्याटको प्रावधानबारे अन्तरक्रिया
हेटौंडा- मकवानपुरका ढुवानी व्यवसायीसँग ढुवानीमा भ्याटको प्रावधारबारे अन्तरक्रिया गरिएको छ । मकवानपुर उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष अनिल अग्रवालको सभाध्यक्षतामा आर्थिक विधेयक–२०८० ले कर कानुनमा गरेको संशोधन सम्बन्धमा ढुवानी व्यवसायीसँग अन्तरक्रिया र करदाता शिक्षा कार्यक्रम
गरिएको हो ।बिहीवार आन्तरिक राजश्व कार्यालय, हेटौंडाका प्रमुख करअधिकृत तुलसीप्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संशोधित विधेयकले ढुवानी व्यवसायीहरु भ्याटमा अनिवार्य दर्ता हुनुपर्नेलगायतका प्रावधानले पारेको समस्या र समाधानको बारेमा छलफल गरिएको थियो । संशोधित विधेयकले पारेको समस्या बारेमा सहभागिहरुले आ–आफ्ना धारणा समेत राखेका थिए ।
ढुवानी व्यवसाय एकै ठाउँमा कार्यालय राखी भ्याट रसिद मात्र जारी गर्ने भन्ने खालको व्यवसाय नभई बाहिर–बाहिर नै कारोवार हुने र एउटै व्यक्तिको एकभन्दा बढी सवारीसाधन हुँदा भ्याट रसिद संचालनमा जटिलता हुने जस्ता विषयहरु कार्यक्रममा चर्चा गरिएको थियो । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष प्रमोदसिंह रानाभाट, कार्यसमिति सदस्यहरु कुलप्रसाद चौलागाईं, तेजराज अधिकारी, कार्यसमिति सदस्य तथा कर संयोजक प्रदीप अर्यालको उपस्थिति रहेको थियो ।
त्यसैगरी, नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हीरालाल श्रेष्ठ, नारायणी यातायात कम्पनी प्रालिका अध्यक्ष गोकर्ण पराजुलीका साथै नारायणी यातायात व्यवसायी संघका अन्य पदाधिकारी एवम् जिल्लाका ढुवानी व्यवसायीहरुको कार्यक्रममा सहभागिता रहेको थियो । आन्तरिक राजश्व कार्यालयका कर अधिकृत गुणराज भण्डारीले सहजीकरण गरेको कार्यक्रममा कर अधिकृतहरु मनिषकुमार महतो र अवधेश कुमार यादवले विधेयकमा भएका प्रावधानहरुको बारेमा जानकारी गराएका थिए ।
प्रमुख करअधिकृत भट्टराईले समस्याहरुको समाधानका लागि कार्यालयबाट सहजिकण गरिने र विभागबाट संशोधन गर्नुपर्ने विषयहरुमा लिखित अनुरोध आएमा समाधानको पहल गर्ने बताए ।







