पञ्चेबाजा तालिम समापन

साझाकुरा
२०८० असार १, शुक्रबार १०:३५

हेटौंडा- हेटौंडा उपमहानगरपालिका वडा नं. १ को आयोजनामा सञ्चालित परम्परागत पञ्चेबाजा तालिम विहीबार सम्पन्न भएको छ ।हेटौंडा उपमहानगरपालिका वडा नं. १ का अध्यक्ष सविन न्यौपानेको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यतामा तालिम समापन भएको हो । तालिम समापन गर्दै उपप्रमुख राजेश बानियाँले पञ्चेबाजा तालिम हेटौंडा उपमहानगरमै नौलो र आयआर्जनमा सघाउ पुग्ने तालिम रहेको बताए ।

‘तालिम लिएपछि त्यसलाई व्यवहारमा उतार्नु पर्छ, अनिमात्र तालिमको महत्व हुन्छु’ उपप्रमुख बानियाँले धेरैवटा तालिम लिएर कुनैपनि काम नगर्नेभन्दा एउटा तालिम लिएर त्यहि काम गर्ने जनशक्तिको खोजी भइरहेको बताए ।उपप्रमुख बानियाँले बाजा बजाउने काम जातिगत र लि·गत रुपमा नभएर सबैले क्षमता अनुसार गर्न पाउने कामको रुपमा रहेको बताए । कार्यक्रममा वडाध्यक्ष न्यौपानेले विश्वको कुनैपनि ठाउँमा नरहेको संस्कृतिको रुपमा रहेको पञ्चेबाजा लोप हुने अवस्थामा रहेकोले त्यसको जगेर्ना गर्न तालिम आयोजना गरिएको बताए ।

वडा सचिव शान्तादेवी लौडारीले सञ्चालन गरेको कार्यक्रममा कार्यपालिका सदस्य ईश्वरी रसाइलीले स्वागत गरेकी थिइन् । कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरुलाई उपप्रमुख बानियाँले प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा प्रशिक्षकद्वय नवराज नेपाली र रामबहादुर दमाईले छोटो समयमा महिलाहरुले बाजाको तालिम सिकेकोमा खुशि व्यक्त गरेका थिए । प्रशिक्षार्थी सरस्वती तिमल्सिनाले बाजा बजाउने तालिमले आफूहरुलाई उत्साहित बनाएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*