संसदीय समितिका सभापति अविलम्ब चयन गर्न बर्तौलाको माग
हेटौंडा- मकवानपुरका सांसद महेशकुमार बर्तौलाले अबिलम्ब संसदीय समितिको सभापति चयन गर्न माग गरेका छन् । प्रतिनिधिसभा अन्तर्गतका विषयगत समितिहरुमा सभापति चयन हुन नसकेपछि बर्तौलाले ध्यानाकर्षण गराएका छन् । हाल समितिको ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गरिरहेकोले तत्काल समिति सभापति बनाउन माग गरिएको हो । बर्तौलासहित अन्य सांसदहरुले निर्वाचित समिति सभापति नहुँदा समितिका काम कारबाहीहरुमा अप्ठ्यारो परेको भन्दै छिटोभन्दा छिटो समिति सभापतिको चयन गर्न माग गरे । नेकपा (एमाले)का सचेतक बर्तौलाले अविलम्ब सभापति चयनको कार्यतालिका सार्वजनिक गर्न सभामुखलाई आग्रह गरे ।
अनन्तकालसम्म ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बस्नु नहुने उनको भनाई छ । एमालेका प्रमुख सचेतक पदम गिरीले यतिका दिनसम्म समिति सभापति चयन हुन नसक्नु अनुत्तरदायी र गैरजिम्मेवारीको पराकाष्ठा भएको बताए । उनले सत्तापक्षको कारण सभापति चयन हुन नसकेको उल्लेख गर्दै सत्तापक्षलाई गम्भीर बन्न आग्रह गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले समितिको कामलाई प्रभावकारी बनाउन समिति सभापति चाँढै चाहिएको बताए । जनता समाजवादी पार्टी, नेपालकी सांसद सुशीला श्रेष्ठले ज्येष्ठ सदस्यले समिति बैठकको अध्यक्षता गरिरहेको उल्लेख गर्दै समितिको प्रभावकारिता ज्येष्ठ सदस्यको इच्छाशक्तिमा भर पर्ने बताइन् । यद्यपि हालसम्म समितिको काम नरोकिएको उनको भनाई छ ।
नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले समिति सभापति चयन नगर्दा समिति र संसद्ले तीव्र गतिले काम गर्न नसकेको बताए । उनले गठबन्धनका नेताहरुले भागबण्डा गर्न ढिलाइ गर्नु नहुने र समिति सभापति चयन हुनुपर्नेमा जोड दिए । माओवादी केन्द्रका सांसद माधव सापकोटाले समिति सभापति नहुँदा समितिको काममा प्रभाव परेको बताए । उनले कतिपय विषय सभापति आएपछि गर्ने भनेर पनि राखिएको बताए ।







