सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा सचेतना कार्यक्रम
हेटौंडा- सामुदायिक सेवाकेन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवाकेन्द्र पशुपतिनगरले आइतबार विभिन्न विधामा सम्मान तथा आजीवन सदस्यता वितरण गरेको छ ।
बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) किरण राणाको प्रमुख आतिथ्यता तथा सेवाकेन्द्रका अध्यक्ष राम विष्टको सभाध्यक्षतामा भएको कार्यक्रममा सचेतना अभिवृद्धि तथा चार जना पत्रकारलाई पनि सम्मान प्रदान गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै डिआईजी राणाले मकवानपुर ड्रग्सको हवको रुपमा परिणत हुन लागेको भन्दै यसको न्यूनीकरणमा टिमवर्कका साथ काम गर्नुपर्ने बताइन् । उनले प्रदेशमा सात हजार बर्दीवाला प्रहरी रहेको र बिना बर्दीका प्रहरी समुदायमै भएकाले सहकार्य र समन्वय आवश्यक रहेको राणाले बताइन् ।
‘हामीले लागूऔषध सेवन, साइबर अपराध तथा समाजमा भएका विकृतिको अन्त्य गर्न एकजुट हुनुपर्छ’ राणाले भनिन्, ‘विद्यालयस्तरबाटै हामीले सचेतना वृद्धि गर्दै लैजानुपर्ने हुन्छ । मकवानपुरमा गाँजा र अफिमको खेती भइरहनेले त्यसतर्फ प्रहरी र आमनागरिक सचेत हुनुपर्नेछ ।’, कार्यक्रमको अबसरमा पत्रकार प्रकाश दाहाल, विवश अधिकारी (विश्वराम), श्रीरामअर्जुन दाहाल र प्रवेश धिताल कुन्दन सम्मानित भएका छन् । स्वास्थ्यकर्मीतर्फ भवानी मिश्र, मुस्कान पौडेल, कृष्णमोहन श्रीवास्तव, तीर्थ थापा र सिम्रन थापा, स्वंमसेवीतर्फ अस्मिता अर्याल कोईराला, समिक्षा ढकाल र नानु स्याङ्तानलाई सम्मान गरिएको छ ।
कार्यक्रमकै अवसरमा संस्थागत रुपमा विभिन्न आमा समूह, टोल विकास संस्था, विद्यालय, क्योकुशिन कराते संघ, चर्च, उपभोक्ता हित संरक्षण मञ्चलगायत ३० जनालाई सम्मान गरिएको थियो । कार्यक्रममा सेवाकेन्द्रका मानार्थ सदस्य एंव जिजस पूर्वप्रमुख रघुनाथ खुलाल, सीताराम बर्तौला, प्रगति उच्च माविका अध्यक्ष प्रदीप पराजुली, सेवाकेन्द्रका सहसचिव महेश्वरमान श्रेष्ठलगायतले आफ्नो भनाई राखे । कार्यक्रममा जिजस सदस्य वीरेन्द्र लामा, वडा नम्बर ९ का कार्यवाहक अध्यक्ष विष्णु लामा, प्रगति विद्यालयका प्राचार्य निरन्जन ढकाल, इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख प्रहरी निरीक्षक राजु केसी लगायत सञ्चारकर्मीको आतिथ्यता रहेको थियो । कार्यक्रममा साइबर अपराध, लागूऔषध सम्बन्धी सचेतना एंव आजीवन सदस्यता वितरण समेत गरिएको थियो ।







