चैनपुर जेसीजद्वारा मामाघर नेपाललाइ सहयोग
हेटौंडा- युवाहरुको नेतृत्व र व्यक्तित्व विकाससँगै सामाजिक कार्य गर्ने उद्देश्यले स्थापना भएको चैनपुर जेसीज (प्रस्तावित) ले मामाघर नेपाललाई सहयोग गरेको छ । चैनपुर जेसीजका महासचिव रविन ढकालको जन्मदिनको सन्दर्भमा आइतबार एक कार्यक्रमबीच मामाघर नेपालमा रहेका बालबालिकालाई एकदिनको खाजा खुवाउनुको साथै भाँडा राख्ने ¥याक र विस्कुट सहयोग गरेको हो ।
मामाघर नेपाल सडक बालबालिकाको उद्दार, संरक्षण एवम् पालनपोषण गर्दै आएको संस्था हो । संस्थामा हाल २६ जना बालक रहेका छन् । जन्मदिनको सन्दर्भमा अनावश्यक खर्च गर्नु भन्दा सडक बालबालिकाको हेरचाह गर्दै आएको संस्थामा सहयोग गरेर मनाइएको चैनपुर जेसीजका महासचिव ढकालले बताए । कार्यक्रम संयोजक कृष्णप्रसाद ढकालको संयोजकत्व एवम् अध्यक्ष गणेश अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा मामाघर नेपाल संस्थाका परिकल्पनाकार एवम् संरक्षक अर्पण पराजुलीको प्रमुख आतिथ्यता रहेको थियो ।
पराजुलीले संस्थाको स्थापनादेखि हालसम्मको अवस्थाको विषयमा जानकारी दिँदै यस्तै सहयोगबाट सञ्चालन हुँदै आएको बताए । ‘सडकमा रहेका बालबालिकाको हितमा काम गर्ने गरी संस्था स्थापना भएको हो । यस्तै विभिन्न व्यक्ति तथा संघसंस्थाले विभिन्न समयमा गर्दै आएको सहयोगबाट संस्था चल्दै आएको छ’, पराजुलीले भने, ‘मनकारी व्यक्तिप्रति आभार व्यक्त गर्न चाहन्छौं ।’
कार्यक्रममा हेटौंडा लेडी जेसीजका पूर्वअध्यक्ष प्रतिमा श्रेष्ठ, चैनपुर जेसीजका कार्यकारिणी उपाध्यक्ष महेन्द्र राना मगरलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष राजु अधिकारी, कुखुरा व्यवसायी संघ मकवानपुर अध्यक्ष राजन मैनाली, चैनपुर जेसीजका अध्यक्ष सल्लाहकार एवम् हेटौंडा–६ का वडासदस्य विजय पौडेललगायतको आतिथ्यता रहेको थियो ।







