बागमतीका ८ कृषकलाई प्रदेशको ५४ लाख क्षतिपूर्ति

साझाकुरा
२०८० असार ५, मंगलवार ११:२५

हेटौंडा-बागमती प्रदेश सरकारले महामारी र विपद्बाट पीडित बनेका कृषकलाई क्षतिपूर्ति वापत राहत उपलब्ध गराएको छ ।प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयलेले सोमबार निर्णय गरी काभ्रे जिल्लाका ८ जना पशुपालक कृषकलाई ५४ लाख ६१ हजार रुपैयाँ राहत दिने निर्णय गरेको हो । अफ्रिकन स्वाइन फिभरलगायतका रोगबाट क्षति पुगेका बंगुर, बाख्रा र कुखुराको क्षतिपूर्ति प्रदेश सरकारले दिएको छ । क्षतिपूर्ति पाउनेमा सबै काभ्रेका कृषक रहेको मन्त्रालयका सचिव डा.शरणकुमार पाण्डेले जानकारी दिए । उनले देशमा पहिलो पटक प्रदेशको कृषि मन्त्रालयले किसानलाई राहत दिन सुरु गरेको दाबी गरे ।

कृषकलाई क्षतिपूर्ति १० लाखदेखि ३५ हजारसम्म दिइएको कृषि मन्त्रालय हेटौंडाले जानकारी दिएको छ । सोमबार कृषिमन्त्री डा.राजेन्द्रमान श्रेष्ठ अध्यक्ष रहेको राहत व्यवस्थापन तथा निर्देशन समितिले रकम उपलब्ध गराउने निर्णय गरेको हो । गत २८ पुस २०७९ मा मन्त्री अध्यक्ष हुने गरी मन्त्रालयले समिति गठन गरेको थियो । त्यसको करिब एक महिना अघि अर्थात २३ मंसिर २०७९ मा मन्त्रालयले क्षतिको विवरणसहित राहतका लागि निवेदन दिन सूचना निकालेको थियो ।

प्रदेशका १३ जिल्लामध्ये ९ जिल्लाबाट ४० जना किसानले प्रक्रिया पु¥याएर निवेदन दिएको मन्त्रालयका प्रवक्ता झलकनाथ कंडेलले जानकारी दिए । उनकाअनुसार जेठसम्म काभ्रेबाट ८ वटा, चितवनबाट १० वटा, मकवानपुरबाट ८ वटा, ललितपुरबाट ६ वटा, धादिङ, दोलखा, सिन्धुपाल्चोकबाट २÷२ र नुवाकोट र सिन्धुलीबाट १÷१ वटा निवेदन परेको हो । निवेदन परेकोमध्ये काभ्रेको टिम भिजन एग्रिकल्चर फर्म पनौती–५, श्रेष्ठ बंगुर फर्म पनौती–१०, उन्नती हाम्रो बंगुर फर्म पनौती–१०, एसएस बंगुर माछा तथा कृषि फर्म बनेपा–७ लाई १०÷१० लाख रुपैयाँ र गैरीगाउँ कृषि तथा पुशपन्छी फर्म पनौती–५ लाई ८ लाख २० हजार राहत रकम उपलब्ध गराइएको प्रवक्ता कंडेलले जानकारी दिए ।

काभ्रेकै नोबेल कृषि फर्म धुलिखेललाई ५ लाख ७० हजार, हाम्रो माझीफेदा पशुपालन तथा कृषि फर्म चौरीदेउराली–३ काभ्रेलाई ३६ हजार, दाजुभाइ एकीकृत बहुउद्देश्यीय कृषि फर्म पनौती–९ ले ३५ हजार क्षतिपूर्ति पाउने भएको छ । चालू आर्थिक वर्ष २०७९÷८० मा क्षतिपूर्तिका लागि ३ करोड रुपैयाँ बिनियोजन गरिएको छ । जसबाट निवेदन आएकामध्ये पहिलो चरणमा प्राथमिकताका आधारमा क्षतिपूर्ति दिइएको प्रवक्ता कंडेलले बताए । उनले पहिला निवेदन दिएकालाई पहिलो प्राथमिकता दिने नीतिअनुरुप राहत दिने निर्णय भएको जनाए ।

कृषकलाई निवेदन दिँदा प्रहरी मुचुल्का, स्थानीय तहको सिफारिस, जिल्ला राहत व्यवस्थापन समितिको सिफारिस र मन्त्रालय मातहतको सम्बन्धित कार्यालयको सिफारिस अनिवार्य गरिएको थियो । बीमा गरेकालाई भने क्षतिपूर्ति नदिइने कंडेलले बताए । कृषि मन्त्रालयले आगामी आर्थिक वर्ष २०८०÷८१ मा क्षतिपूर्ति तथा राहतका लागि ५ करोड रुपैयाँ बिनियोजन गरिएको जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*