जिल्लाभर विरुवा रोपेर दिवस मनाइने

साझाकुरा
२०८० असार ७, बिहीबार ११:०८

हेटौंडा- मकवानपुरमा जिल्लाका सबै सव–डिभिजन वन कार्यालयमार्फत् विरुवा रोपेर वृक्षरोपण दिवस मनाइने भएको छ ।मनहरी गाउँपालिकामा बुधवार बसेको वन क्षेत्र समन्वय समिति मकवानपुरको बैठकले जिल्लास्थित सबै सव–डिभिजन मार्फत् विरुवा रोपेर १४ असारमा परेको वृक्षरोपण दिवस मनाउने निर्णय गरेको हो । डिभिजन वन कार्यालय मकवानपुर र मनहरी राप्तिअन्तर्गत् जिल्लाका १० वटै स्थानीय तह समेटिने गरी सव–डिभिजन वन कार्यालयहरु रहेका छन् ।

समितिका अध्यक्षसमेत रहेका जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको सभाध्यक्षतामा डिभिजन वन कार्यालय राप्ती मनहरीमा भएको बैठकले १४ असारमा वृक्षरोपण दिवसलाई मकवानपुरका दुबै डिभिजन वन कार्यालयअन्तर्गतका सव डिभिजन वन कार्यालयमार्फत भव्यताका साथ विरुवा रोपेर मनाउने निर्णय गरेको हो ।

बैठकले १८ असारमा गुरु पूर्णिमाको दिन राक्सिराङ गाउँपालिका–३ पलासेस्थित सीता अशोक बाटिकामा भगवान सीता र त्रिजटाको मूर्ति स्थापना कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न आपसी समन्वय गर्ने निर्णय पनि गरेको छ । बैठकले बागमती प्रदेश सरकारले चिउरी, चेपाङ र चमेरो कार्यक्रमलाई नीति तथा कार्यक्रममा उल्लेख गरी बजेट व्यवस्था समेत गरेकामा सरकारलाई धन्यवाद दिने निर्णय गरेको छ ।

बैठकमा जिल्ला समन्वय समितिका उपप्रमुख सानुकाजी लुइटेल, जिल्ला समन्वय अधिकारी बासुदेवप्रसाद खतिवडा, डिभिजन वन कार्यालय हेटौँडाका प्रमुख शिव सापकोटा, राप्ती मनहरी डिभिजन वन कार्यालयका प्रमुख बिष्णुप्रसाद आचार्य, सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष साधुराम चौलागाई, मनहरी गाउँपालिका अध्यक्ष रघुनाथ रुम्बा, बनष्पति अनुसन्धान केन्द्रका प्रमुख रघुुराम पराजुलीसहित जिल्ला समन्वय समितिका सदस्यहरु र सरोकारवालाहरुको सहभागिता थियो ।

बैठकअघि हेटौंडा उपमहानगरपालिका–१९, स्थित चनौटा सामुदायिक वनले निर्माण गरेको राजमार्ग छेवैको पार्क, कालिका हरियाली सामुदायिक वनले निर्माण गरेको वन्यजन्तु लक्षित पानी पोखरी, मनहरी–६, स्थित सुनाचुरी सामुदायिक वन क्षेत्रको घाटगद्दी र भवन तथा डिपाड सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा रहेका वन क्षेत्र एवम् कम्पोष्ट मल निर्माण भएको क्षेत्रमा अनुगमन भएको थियो । अनुगमनपछि वन क्षेत्रको विकास, संरक्षण र उपभोगको क्षेत्रमा मनहरी क्षेत्रका सामुदायिक वनहरुले गरेका प्रगति र व्यवस्थापनले सिकाई केन्द्रको रुप धारण गर्दै गइरहेको जिल्ला समन्वय समन्वय समिति मकवानपुरका प्रमुख घलानले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*