आवश्यकताका योजना प्राथमिकतामा राख्न सुझाव

साझाकुरा
२०८० असार ७, बिहीबार ११:१२

हेटौंडा- हेटौंडा उपमहानगरको विकट क्षेत्र समेटिएको १५ नम्बर वडामा बिनियोजित बजेटलाई आवश्यकताका आधारमा कार्यान्वयन गर्न सर्वपक्षीय छलफल गरिएको छ ।
वडा अध्यक्ष सुनिल मोक्तानले सर्वपक्षीय छलफल बोलाएर आवश्यकताका आधारमा बजेट कार्यान्वयन गरिने जानकारी गराएका छन् । छलफलमा सहभागी बन्दै स्थानीय टोल विकासका नेतृत्वकर्ता इश्वर पाठकले प्रतिफल निस्कने ठाउँमा मात्रै बजेट दिनुपर्ने र फ्रिज हुने गरी बजेट बिनियोजन गर्न नहुनेतर्फ ध्यानाकर्षण गराए । वडामा बालमैत्री अभियानका लागि बजेट छुट्याउनुपर्ने उनको भनाई छ ।

कार्यक्रममा सहभागी जाते टोल विकास संस्थाको प्रतिनिधि राजेन्द्र वाइबाले शिक्षाको क्षेत्रमा कम बजेट भएको भन्दै शिक्षालाई प्राथमिकतामा राख्न जोड गरे । उनले एक वर्षको कार्यकालमा भौतिक पुर्वाधारको क्षेत्रमा उल्लेख्य उपलब्धी भएको बताए । चालु आर्थिक वर्षमा शिक्षाको क्षेत्रमा अलि प्रगति कम भएकोले आगामी आर्थिक वर्षमा शिक्षालाई बढी प्राथमिकतामा राख्न वाइबाले सुझाव दिए ।

स्थानीय वडाबासी मीना लामाले वडाको बजेटले सीप विकासमा जोड दिनुपर्ने बताइन् । उनले महिला तथा बालबालिकाको लागि क्षमता विकासमा वडाले ध्यान दिन वडाको बजेट पारदर्शी ढंगमा बिनियोजन गर्न आग्रह गरिन् । वनदेवी आधारभूत विद्यालयका प्रधानाध्यापक जयप्रसाद पोख्रेलले विद्यालयको भवन राम्रो भए पनि जनशक्ति अभावका कारण गुणस्तरीय शिक्षा दिन नसकेको गुनासो गरे । शिक्षकलाई प्राविधिक तालिमको आवश्यक रहेको औंल्याउँदै पोखरेलले बालबालिकाको वृद्धिविकासमा योगदान पु¥याउन सक्नेतर्फ वडालाई ध्यान दिन आग्रह गरे ।

स्थानीय मंगलबहादुर थिङले विपद् रोकथाम र नियन्त्रणका लागि बजेट आवश्यक रहेको औंल्याए ।वडालाई आगामी आर्थिक वष २०८०÷८१ का लागि आवश्यक भन्दा पनि कम अर्थात २ करोड १० लाख मात्रै बजेट प्राप्त भएकोले आवश्यकताका योजनालाई पहिलो प्रथामिकता दिएर काम गर्नुपर्ने बाध्यता रहेको वडाध्यक्ष मोक्तानले कार्यक्रममा जानकारी गराएका थिए । हेटौंडा उपमहानगरपालिकाले सिलिङ बजेटमार्फत २ करोड १० लाख रुपैंयाको परिधिभित्र रहेर वडालाई सुखि र समृद्ध बनाउनुपर्ने उनको भनाई छ । वडाभित्र बढी समस्या देखिएको क्षेत्रमा प्राथमिकताका आधारमा बजेट छुट्याएर काम गर्नुपर्ने बताएका छन् ।

अध्यक्ष मुक्तानले वडाको शिक्षा, स्वस्थ्य, कृषि, भौतिक पूर्वाधार, युवा र महिला लक्षित क्षेत्रमा सबैको सहकार्यमा बजेट बिनियोजन गरेर काम हुने जानकारी दिए । उनले छलफलमा आएको सल्लाह सुझावमा केन्द्रित भएर बजेट बाँडफाँड गर्दै पारदर्शी ढंगगबाट काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले अर्धबार्षिक योजनाको समिक्षामा दोस्रो भएको १५ नम्बर वडा आगामी दिनमा पहिलो हुने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे । साविकको चुरियामाईलाई खेल क्षेत्रबाट परिचित गराउन चुरियामाई रंगशाला बनाएर वडालाई परिचित गराउने मोक्तानले धारणा व्यक्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*