रुदाने बारे थाहा, हेटौंडा र काठमाडौंमा चर्चा

साझाकुरा
२०८० असार ८, शुक्रबार ११:१५

हेटौंडा-थाहा नगरपालिकामा जन्मिएर सामाजिक र राजनीतिक रुपान्तरणमा योगदान पु¥याएका रुपचन्द्र विष्ट (रुदाने)को २४ औं स्मृति दिवसको अबसरमा थाहा, हेटौंडा र काठमाडौंमा एकै दिन चर्चा गरिएको छ । शत्रुले चिनेको मित्रुले चिन्न नसकेको दार्शनिक चिन्तक रुदानेको परिचय थाहा अभियन्ताको रुपमा चिनिन्छ ।
विष्टको २४ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा विष्टलाई जनमुखी र इमानदार राजनीतिज्ञको रुपमा स्मरण गरिएको छ । रुपचन्द्र विष्ट स्मारक समिति र मकवानपुरे समाजको संयुक्त आयोजनामा भएको कार्यक्रममा कांग्रेस नेता तथा सांसद् अर्जुननरसिंह केसीले विष्टलाई सामाजिक हितका निम्ति जीवन अर्पिने जनमुखी नेताका रुपमा सम्झिनुपर्ने धारणा राखे ।

अहिलेका नेताहरु जनताको हितका निम्ति नभइ ठूलठूला भ्रष्टाचार काण्डको ढाकछोपका निम्ति मात्रै एकजुट हुने गरेको केसीको भनाइ थियो । नेता केसीले विष्टको वैचारिक स्वतन्त्रता र स्पष्टताको आफू प्रशंसक भएको बताए । विष्ट सदैव न्यायका लागि निष्पक्ष भएको भन्दै अहिले हामी निजी स्वार्थमा सक्रिय भएको बताए । ‘विष्टले निजी स्वार्थलाई छोड्नुभयो । हामी निजी स्वार्थमा अड्कियौं’, उनले भने, ‘अहिले देशमा भइरहेको भ्रष्टाचारमा सम्पूर्ण पार्टी नेतृत्व एक छ । यसले के देखाउँछ भने हामीले विष्टको विचारलाई ग्रहण गर्न सकेनौं।’

देशमा विभिन्न समस्या विद्यमान रहेको भन्दै नेता केसीले यस्तै अवस्था रहे देशमा अराजक आन्दोलन हुन सक्नेतर्फ संकेत गरे । जबसम्म देशमा निष्पक्ष सक्रियताको अभ्यास हुन सक्दैन तबसम्म समाज सुधार हुन नसक्ने उनको तर्क थियो । अन्तरक्रियामा बोल्दै रुपचन्द्र विष्ट स्मारक समितिका अध्यक्ष तथा पूर्वसांसद् रामनारायण बिडारीले विष्टको कुनै पनि सिद्धान्त पूरा हुन नसकेको बताए । उनले थाहाका प्रणेता विष्टलाई नेपालका कुनै पनि राजनीतिक दलले बुझ्न नसक्दा समस्या पैदा भएको जिकिर गरे । बिडारीले ‘दल छाडी पद, पद छाडी दल’, ‘व्यवस्था निर्दलीय, राजनीति बहुदलीय’ लगायतका विष्टका आधारभूत राजनीतिक सिद्धान्तबारे गम्भीर विमर्श हुनुपर्नेमा जोड दिए ।

‘रुपचन्द्र बिष्टले जनमुखीतन्त्र अपनाउनुपर्ने कुरा बारम्बार दोहो¥याउनुहुन्थ्यो । उहाँले बोलेका कुरा व्यवहारमा उतार्नु पनि हुन्थ्यो’, बिडारीले भने, ‘तर, उहाँको जस्तै व्यवहारमा कुनै पनि राजनीतिक दलका नेतामा देखिएको छैन।’ विष्टको कि दल छोडौं, कि पद छोडौं भन्ने विचारलाई आफूहरुले मनन गर्नुपर्ने जिकिर गरे । ‘विष्टको भनाइ आज पनि नेपालका लागि अतिउपयोगी छ’, बिडारीले भने । यस्तै माओवादी केन्द्रकी नेता शशी श्रेष्ठले अहिले नेताहरुले बोल्ने एउटा र व्यवहारमा अर्को गर्ने गरेको बताइन् । यो अवस्था देख्दा आफूलाई विष्टको अभाव खड्किरहने उनले जिकिर गरिन् ।

‘विष्टले आफ्नो जीवनकालमा कहिल्यै छलछाम गर्नुभएन, जे बोल्नुभयो त्यो व्यवहारमा देखाउनुभयो। जे व्यवहारमा देखाउन सक्नुहुँदैन थियो, उहाँले त्यसलाई बोलेर ढोंग पिट्नु भएन’, नेता श्रेष्ठले भनिन्, ‘उहाँले गरिब र महिलाको भाषण गर्नुहुन्थ्यो । उनीहरुकै जीवन बाँच्नु हुन्थ्यो ।’अहिलेका नेताले अंगाल्ने विचार सिद्धान्त व्यवहारमा तारतम्य नमिलेको उनले बताइन् । यदि विष्टलाई सम्झिने हो भने उनको सिद्धान्तलाई अगाल्नु पर्ने श्रेष्ठले बताइन् । विष्टलाई दुश्मनले चिन्यो तर, जसले चिन्नुपर्ने हो उसले चिन्न नसकेको श्रेष्ठको दाबी थियो ।

राजनीतिक इमानदारिताको आवश्यक भएको समयमा विष्टको सिद्धान्तलाई व्यवहारमा लागू गर्नुपर्ने उनको तर्क थियो ।प्राध्यापक डा. चिरञ्जीवी खनालले विष्टको जीवनलाई विद्यालयदेखि विश्वविद्यालयका पाठ्यक्रममा समावेश गर्नुपर्ने तर्क गरे । विष्टले युवाहरुलाई सधैं प्राथमिकता दिनुपर्ने बताउने गरेको उनले उल्लेख गरे । एकजनाको विचार बोकेर हिँड्ने मन्डले हुन् भन्ने विष्टको बुझाइ रहेको खनालले बताए । खनालले आफू युवाकालमा पत्रकारितामा लाग्दा धेरैपटक विष्टसँग भेट भएको र आफू सदैव मोटिभेट हुने गरेको बताए । ‘विष्टको भाषणमा आउने दर्शनले सबैको मन जित्न सक्थ्यो । असाध्यै सुन्दर पक्ष हो । उहाँको बुझाई र भनाइ एकदमै गम्भीर हुन्थ्यो सधैं । राष्ट्रिय पन्चायतमा विष्टको भाषणले युवालाई मात्र होइन समाजको तल्लो तहका व्यक्तिको अधिकार सदैव अट्थ्यो’, प्राध्यापक खनलले भने ।

यस्तै, नेकपा एमालेका नेता विजय सुवेदीले विष्टको अभाव सदैव खट्किने बताए । धेरैपटक विष्टको भाषण सुन्दा आफू उनको विचार र नीतिको अनुयायी बनेको उनले बताए । विष्टले जीवनमा संगठन निर्माण गरेको भए आमूल परिवर्तन हुन सक्ने विचार व्यक्त गरे । सुवेदीले सुशासन र रोजगारी प्रवद्र्धन गर्दै पिछडिएका समुदायको जीवनस्तर उकास्नका निम्ति विष्टका दर्शन, सिद्धान्त र विचारलाई पच्छ्याउनुपर्ने धारणा राखे ।

परराष्ट्रविद एबम् मकवानपुरका पूर्वसांसद हिरण्यलाल श्रेष्ठले समाज बदल्न विष्टले परिवारमा समेत विद्रोह गरेको बताए । आफू सम्पन्न घरमा जन्मिएर पनि विष्टले सदैव गरिखाने वर्गको पक्षमा लडेको बताए । विष्टले केही समयमा दामन भ्युटावरमा बसेर पनि काम पनि गरेको कुरा उनले उल्लेख गरे । ‘भ्यू टावरमा बसेर नेपालका हिमालका दर्शनबारे विदेशीलाई सुनाउनुहुन्थ्यो । हिमालको ज्ञाता हो उहाँ’, उनले भने, ‘विष्टले टेलिस्कोपबाट हेरेर खगोलको बारेमा पनि भन्नूहुन्थ्यो । उहाँ खगोलको ज्ञाता पनि हो।’ दामनमा विष्टको नाममा दुरबिन राखेर खगोलका बारेमा पनि अध्ययन गर्नुपर्ने श्रेष्ठले बताए ।

रुदाने, जसरु, रापसरु, स्वरुपेजस्ता उपनामले परिचित विष्ट २०२२ मा मकवानपुरको पालुङ गाउँ पञ्चायतका प्रधानपञ्च भएका थिए । त्यसबेला उनले मकवानपुरको उत्तरी क्षेत्रमा शिक्षा आन्दोलन चलाएका थिए । विष्टले ‘छोरा पढाउने, छोरी नपढाउने मुर्दावाद, छोराछोरी दुवै पढाउने जिन्दावाद’ जस्ता नारासहित अभियान चलाएका थिए । उनले छोराछोरीलाई स्कुल नपठाउने अभिभावकलाई जरिवाना तिराउने व्यवस्था समेत गरेका थिए ।यसैगरी विष्टले चलाएको आन्दोलनले समाजमा परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलेको थाहानगरमा आयोजित कार्यक्रममा वक्ताहरुले बताए । थाहा नगरपालिकाको आयोजनामा नगरप्रमुख बिष्णु बिष्टको अध्यक्षतामा विकास घरमा रहेको रुदानेको सालिकमा माल्यार्पण गरिएको थियो । कार्यक्रमको अवसरमा वक्ताहरुले श्रमलाई प्रधानता दिनसके बिष्टलाई सच्चा श्रद्धाञ्जली हुने बताए ।

कार्यक्रममा उपप्रमुख भरत गोपाली, रुपचन्द्र बिष्ट स्थानीय स्मारक समितिका अध्यक्ष बिमलकुमार बिष्ट, नेपाली कांग्रेस नगरसभापति प्रमोदकृष्ण जोशी, थाहा नगर उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधान, जिल्ला बहुउद्देश्यीय सहकारीका कोषाध्यक्ष बिमलकुमार ढकाल, भूमि आयोगका जिल्ला सदस्य अरुण रायमाझी, जनकल्याण माविका प्रधानाध्यापक सानोभाइ कार्कीलगायतले रुपचन्द्र बिष्ट र थाहा दर्शनको बारेमा चर्चा गरेका थिय । कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि, वडाअध्यक्षहरु, जनमुखी सहकर्मीको उपस्तिथि रहेको थियो ।

रुदाने २०२८ सालमा स्नातक कोटामा राष्ट्रिय पञ्चायतको सदस्य भएका थिए । प्रजातन्त्रवादी विचार भएकै कारण राष्ट्रिय पञ्चायत सदस्य रहँदा समेत उनी पक्राउ परेका थिए । १९९० पुस २६ गते मकवानपुरको दामन घर्तीखोलामा जन्मिएका बिष्टको देहावसान २०५६ असार ७ गते काठमाडौंको सोल्टीमोडस्थित आफ्नै निबासमा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*