हेटौंडामा आजदेखि प्रदेश युवा सम्मेलन

साझाकुरा
२०८० असार ११, सोमबार ०९:४६

हेटौंडा- असार ११ गते सोमबारबाट बागमती प्रदेशको राजधानी हेटौंडामा प्रदेश युवा सम्ममेलन सुरु हुँदैछ । २ दिनसम्म संचालन हुने प्रदेश युवा सम्मेलनको तयारी पूरा भएको छ । बागमती प्रदेश युवा परिषद् हेटौंडाको आयोजनामा असार ११ र १२ गते प्रदेश राजधानी हेटौंडाको मोटल एभोकाडोमा आयोजना गरिने प्रथम प्रदेश युवा सम्मेलन, २०८० को सम्पूर्ण तयारी पूरा भएको परिषद्ले आइतबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो ।

युवा सम्मेलनमा प्रदेशका १३ जिल्लाबाट १ सय ५० युवाको सहभागिता रहने प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले जानकारी दिए । सम्मेलनमा समावेशी अवधारणा अनुसार सहभागीले प्रतिनिधित्व गर्ने चौलागाईले बताए । प्रदेशका १३ जिल्लाका जिल्ला युवा समितिमार्फत् सिफारिस भएका ७५ जना र अनलाइनमार्फत् आवेदन दिएका मध्ये ६० र सरोकारवाला संघ संस्था र सरोकारवाला निकायको सिफारिसमा छनोट भएका १५ जनाले सम्मेलनमा सहभागिता जनाउने छन् । ‘सम्मेलनमा सहभागी हुने युवामध्ये ७२ जना पुरुष, ४१ जना महिला र ३ जना लैंगिक तथा यौनिक अल्पसंख्यक छनोट भएका छन्’ चौलागाईंले भने ।

युवा पुस्तालाई मुलुक र समाजप्रति जिम्मेवार बनाउन, नवप्रवर्तन, उद्यमशीलता र उच्च व्यक्तित्व विकास गर्न प्रेरित गर्ने उद्देश्यले प्रथम पटक योजना गरिएको युवा सम्मेलनमा सम्मेलनमा युवा पुस्तालाई अभिमुखीकरण गर्न, अभिप्रेरित गर्न, सकारात्मक कार्यप्रति आकर्षित गर्न सहयोग पुग्ने परिषद्ले जनाएको छ । सम्मेलनमा युवालाई अभिमुखीकरण र अभिप्रेरित गर्ने गरी ख्यातीप्राप्त व्यक्तित्व, सम्बन्धित क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तित्वलाई श्रोतव्यक्तिमा सहभागी गराइएको चौलागाईंले जानकारी दिए ।

दुईदिन हुने सम्मेलनमा ५ वटा महत्वपूर्ण सत्रको आयोजना गरिनेछ । सम्मेलनमा नवप्रवर्तन र नवीनतम् सोचको विषयमा कारखाना समूहका प्रमुख कार्यकारी अधिकृत पवित्रबहादुर गौतमले युवासँग अन्तरक्रिया गर्नेछन् ।

कारखाना समूह विद्यालय तहको गुणस्तरीय शिक्षाका लागि गैरसरकारी तवरबाट क्रियाशील संस्था हो । सूचना प्रविधिका विषयमा गिरिराज त्रिपाठीले सम्मेलनमा सहभागी युवासँग अन्तरक्रिया गर्दैछन् । त्रिपाठी युवा वैज्ञानिक कोषका सदस्य हुन् । सामाजिक र सार्वजनिक जीवनमा युवा सहभागिताका विषयमा टेलिभिजन पत्रकार टीकाराम यात्री र विद्या चापागाईंसँगै लेखक तथा विश्लेषक केशव दाहालले अन्तरक्रिया गर्ने भएका छन् ।

उद्यम एवम् व्यावसायिक सुरुवात र उद्यमशीलताका विषयमा डा. सुयश कार्की र हेलमेट नेपालकी प्रार्थना साःख अन्तरक्रिया गर्ने बताइएको छ । डा. कार्की डाक्टर अनकल अनलाइनका सञ्चालक हुन् भने साःख युवा उद्यमी हुन् । यस्तै सामाजिक सञ्जालका विषयमा सन्तोष सिग्देल र उज्ज्वल आचार्य, राष्ट्र निर्माणमा युवाको भूमिका विषयमा माधव ढुंगेल, महेश दाहाल र सुरेन्द्र बस्नेतले युवामाझ प्रस्तुति र अन्तरक्रिया गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*