हेटौंडा सिमेन्ट उद्योगप्रति सरोकारवालाको चिन्ता
हेटौंडा- हेटौंडा सिमेन्ट उद्योग लिमिटेडले उद्योगको बर्तामान अबस्था, चुनौती र समाधानका उपायका बारेमा सरोकारवालासँग अन्तरक्रिया गरेको छ । आइतबारको अन्तरक्रिामा सरोकारवालाले उघोगलाई जसरी भएपनि बन्द हुनबाट रोक्नुपर्नेमा जोड दिएका छन् । उद्योगका अध्यक्ष गणेश भेटवालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य एकलाल श्रेष्ठ, प्रेमबहादुर पुलामी छिन्तु, लक्ष्मी श्रेष्ठ, मकवानपुरका बिभिन्न राजनीतिक दलमा आबद्ध प्रमुखहरु, जनप्रतिनिधिहरु, उद्योगका पूर्वअध्यक्षहरु, उद्योगमा कार्यरत कर्मचारीहरु, पत्रकार सहभागी थिए ।
कार्यक्रममा प्रदेशसभा सदस्य श्रेष्ठ र पुलामीले उद्योग निरन्तर संचालनका लागि आफूहरु निरन्तर लाग्ने प्रतिबद्धता ब्यक्त गरे । उद्योगमा देखिएका समस्या समाधानमा सबै दलहरुले चासो राखेर अगाडि बढ्न सके हेटौंडा सिमेन्ट उद्योगले नाफाको बाटो तय गर्न सक्ने उनीहरुले बताए । अहिलेको मुख्य समस्या समाधानमा कर्मचारी, ब्यबस्थापन बोर्ड र सरोकारवालाले बढी चासो राखेर अगाडि बढ्नुपर्नेमा उनीहरुले जोड दिए ।
कार्यक्रममा उद्योगलाई चलाएमान गराउन जिल्लाका राजनीतिक दल प्रमुखले खेल्ने भूमिकाबारेमा चर्चा भएको थियो । राजनीतिक तबरबाट समस्या समाधान गर्न सके उद्योगले प्रगति गर्न सक्ने आधारहरु देखिएको सहभागीहरुले बताए । कार्यक्रममा उद्योगका महाप्रबन्धक बसन्तराज पाण्डेले जनताको उद्योगलाई जनताले चासो राखेर समस्या समाधानको लागि पहल हुनुपर्नेमा जोड दिए । उनले उद्योग निरन्तर संचालनको लागि आफ्ना योजनाहरु सार्वजनिक गरे ।
सिमेन्ट उत्पादनका लागि चाहिने कोइलाको अभावले उत्पादन कार्यमा समस्या आइरहेको उनले बताए । उद्योगलाई गतिशील बनाउन आफ्ना दुईवटा मास्टर प्लान मन्त्रालयमा प्रस्तुत गरेपनि मन्त्रालयबाट कुनै जवाफ नआएका कारण अगाडि नबढेको बताए । पाण्डेका अनुसार उद्योगमा ३८ बर्ष पुरानो प्रविधि, उपकरण, मूल्य समायोजन, प्रतिस्पर्धात्मक बजारलगायत समस्या छ । पछिल्लो समय बिजुलीे खर्चमा मासिक करोड रुपैयाँ घटाएर काम गरेको बताउदै अब तीन महिनाको लागि उद्योगमा कच्चापदार्थ तयारी रहेको बताए ।
उद्योगका अध्यक्ष भेटवालले पछिल्लो समय बजारमा आएको आर्थिकमन्दीले बिक्रीसमेत घट्दा उद्योगले निरन्तर घाटा बेहोरिरहेको बताए । उद्योगले सहुलियत ऋण पाएमा प्लान्टको रिप्लेस्मेन्ट गरी यसले निरन्तर उत्पदान गराउन सकिने भेटवालले बताए । अहिले उद्योगका सबै मेसिनलाई पुनसंरचना आवश्यक रहेको बताउदै उनले यसको लागि ठूलो पूँजी चाहिने भएकाले सरकारसँग सहयोग मागेको बताए । ठूला, मझौला र साना परियोजनाअन्तर्गत् राष्ट्रिय गौरवका आयोजनाको ठूलो संख्या रहेकाले पनि स्वदेशी सिमेन्टको खपत बढ्ने अध्यक्ष भेटवालले बताए ।
उद्योगले पछिल्लो पाँच वर्षदेखि निरन्तर घाटा बेहोरिरहेको छ । उद्योगबाट प्राप्त जानकारी अनुसार आर्थिक वर्ष ०७५÷७६ देखि ०७९ ÷८० सम्ममा उद्योगलाई ९० करोड ३ लाख नोक्सान भएको छ । उद्योगमा हाल दुईसय कर्मचारी कार्यरत छन् । दैनिक ज्यालादारीमा सयजना कर्मचारी कार्यरत छन् । उद्योगका चारवटा खानीहरु भैंसे, ओखरे, मजुवा, जोगीमारा रहेका छन् ।
उद्योगमा दक्ष कर्मचारीको अभाब भएको बताइएको छ ।कम्पनी ऐन अन्तर्गत २०३३ आश्विन १३ मा स्थापित भएको सिमेन्ट उद्योगको वार्षिक उत्पादन क्षमता २ लाख २५ हजार मेट्रिकटन रहेको छ । यसले बि.स. २०४२ बाट व्यावसायिक उत्पादन सुरु गरेको थियो । चरम समस्या झेल्दै आएको सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगले चालु आ.व. ०७९÷८० मा मात्रै ११ करोड १५ लाख घाटा बेहोरेको छ । हालसम्म ९० करोड घाटामा चलिरहेको छ । उद्योगमा कच्चापदार्थको अभाब र पुरानो ऋण तिर्न नसक्दा बारम्वार बन्द हुने परिपार्टी अहिले पनि जारी छ ।







