एमाले मकवानपुरको अध्यक्षमा चार आकांक्षी

साझाकुरा
२०८० कार्तिक १५, बुधबार १०:२५

हेटौंडा-नेकपा एमालेको संगठन विभागले माघ महिनाभित्र सबै जिल्ला पार्टी कमिटीको अधिवेशन गर्ने निर्णय गरेसँगै मकवानपुरमा नेताहरुको जमघट बढ्न थालेको छ ।अधिवेशनमा सम्भावित उम्मेदवारहरुको भेटघाट र छलफल बाक्लिँदै गइरहेको हो । नेकपा (एमाले) मकवानपुरको जिल्ला र पालिका तहको अधिवेशन माघ महिनाभित्र गरिसक्नुपर्ने निर्णय भए पनि मकवानपुरमा पुसभित्रै अधिवेशन गरिसक्ने तयारी भइरहेको एक नेताले जानकारी दिए । ‘अधिवेशन निजिकिएसँगै जिल्लामा सरगर्मी बढेको छ । नेताहरु भेटघाट र छलफलमा व्यस्त हुन थाल्नु भएको छ । अधिवेशन पुसमै हुन सक्ने बुझिन्छ ।,’ ती नेताले भने । अधिवेशनबाट करिब ९० सदस्यीय जिल्ला कमिटी बन्नेछ । हाल लगभग २०० सदस्यीय जिल्ला कमिटी छ ।

जिल्ला अधिवेशनमा चार जना नेताहरु अध्यक्षको आकांक्षी देखिएका छन् । आकांक्षीहरुमा बद्री लम्साल, रघुनाथ खुलाल, श्रीधर पोख्रेल र लालबहादुर थापा छन् । यसअघि जिल्ला अधिवेशनमा अध्यक्ष उम्मेदवार भएर पनि नेतृत्वमा आउन नपाएका बद्री लम्साल अध्यक्षका आकांक्षी रहेको समाचार स्रोतको दाबी छ । इमान्दार छवि भएका लम्साल सहकारी क्षेत्रबाट चिनिएका व्यक्ति हुन् । उनी यसअघि पार्टी उपाध्यक्ष, पार्टी विभाजन पश्चात संयोजकको भूमिकामा थिए । लम्साललाई तत्कालीन एमालेमा माधव नेपाल समूह निकट मानिन्थ्यो । अबको अधिवेशनमा भने उनलाई संस्थापन पक्षले नै अध्यक्षको उम्मेदवार बनाउन लागेको चर्चा छ ।

‘बद्री कमरेडलाई संस्थापन पक्षले नै उम्मेदवार बनाउने चर्चा सुनिएको छ । उहाँ सर्वसम्मत उम्मेदवार पनि बन्न सक्नुहुनेछ ।’, समाचार स्रोतले भन्यो । एमालेको बागमती प्रदेश अधिवेशन पश्चात मकवानपुरमा राजनीतिक माहोलमा पनि फेरबदल आएको छ । प्रदेश अध्यक्षको उम्मेदवार मकवानपुरका कृष्णप्रसाद दाहाललाई हराउन एउटा समूह परिचालित भएको आरोपबीच आगामी जिल्ला अधिवेशनमा दुई वटा धार प्रष्टसँग देखिने भएको छ । संस्थापन इतरबाट श्रीधर पोख्रेल उम्मेदवार बन्न सक्ने चर्चा छ ।

पोख्रेल तत्कालीन एमालेमा संस्थापन पक्षका प्रभावशाली नेता थिए । राजनीति जीवनमा आएको उतरचढावका बीच पोख्रेल संस्थापन इतरको समूहबाट उम्मेदवार बन्ने चर्चा रहेको छ । यसैगरी, अध्यक्षको अर्का आकांक्षी रघुनाथ खुलाल छन् । तत्कालीन पार्टी अधिवेशनमा मुनु सिग्देलसँग १ मतले अध्यक्षमा पराजित भएका खुलाललाई संस्थापन पक्षले नेतृत्वमा ल्याउन सक्ने चर्चा छ ।खुलाल बागमतीका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलका विश्वास पात्र हुन् । २०७४ को स्थानीय तह निर्वाचनपछि खुलाल जिल्ला समन्वय समितिको प्रमुख बने । अध्यक्षको आकांक्षीमा वर्तमान जिल्ला कमिटी उपाध्यक्ष लालबहादुर थापाको पनि नाम अगाडि आएको छ । ४ मंसिर २०७९ भएको निर्वाचनमा प्रदेशसभा निर्वाचन हारेका थापा अध्यक्षको आकांक्षी बन्ने देखिन्छ । तर, उनलाई पार्टीको नेतृत्व दिएर जाने पक्षमा शीर्ष नेताहरु नरहेको समाचार स्रोतले जानकारी दिएको छ ।

एमाले मकवानपुरको उपाध्यक्षमा नवीन सिग्देल, फुर्वा लामा, हिदम लामा र सुनिल मोक्तान आकांक्षीको रुपमा देखिएका छन् । सिग्देल र लामा वर्तमान कमिटीको सचिव र उपसचिवको जिम्मेवारीमा छन् । यसअघि पार्टी सचिवालयको निर्णयले जनप्रतिनिधि अध्यक्ष वा सचिवमा उम्मेदवार हुन नपाउने भएपछि सिग्देल र लामा उपाध्यक्षमा जानुपर्ने देखिन्छ । एमाले मकवानपुरको वर्तमान पदाधिकारीमा अध्यक्ष एकालाल श्रेष्ठ, सचिव सिग्देल, उपसचिव लामा जनप्रतिनिधि छन् । श्रेष्ठको अध्यक्षमा दोहोरिने योजनामा तत्काललाई ब्रेक लागेको छ ।

यसैगरी, पार्टीको सचिवमा बिदुर हुमागाईं आकांक्षीको रुपमा देखिँदैछन् । मकवानपुरगढी गाउँपालिकाको निवर्तमान अध्यक्ष हुमागाईंसँगै मदन दाहाल, नरहरि महत, राजन थापा पनि सचिवका आकांक्षी रहेको चर्चा छ । उपसचिव महिलामा सरला बोलखे, सिता विष्ट, आरती पाठक, रमिला सापकोटा, जुना दाहाल, पार्वती राना र सुमित्रा काफ्ले आकांक्षी रहेको चर्चा छ । उपसचिव पुरुषतर्फ मेम्वर लो, बुद्धि तामाङ, सन्तोष पौडेल, धरम लामा, सन्तोष चौलागाईं आकांक्षीको रुपमा देखिएका छन् ।

मकवानपुरमा २०८० भित्रै अधिवेशन हुने संकेत देखिएपछि विगतदेखि नै अध्यक्ष, सचिवलगायत पदाधिकारीका सम्भावित उम्मेदवारहरुले विगतदेखि नै लबिङ गरिरहेका थिए । एमाले मकवानपुरको नेतृत्व चयनमा निर्वाचन हुने सम्भावना बढी रहेको एक नेताले बताए । ‘प्रदेश अधिवेशनको सन्देशबाटै देखिन्छ कि निर्वाचन हुन्छ, नेतृत्वको आकांक्षी धेरै हुन्छन्, मकवानपुरमा पनि दुई धार निश्चित छ, त्यसैले निर्वाचन हुँदैन भन्न सकिँदैन, कार्यकर्ताले निर्वाचन नै खोजेका छन् ।’, ती नेताले भने । यसैगरी, पार्टीका जनसंगठनको प्रदेश तथा जिल्ला तहका अधिवेशन आगामी मंसिर र वडा कमिटीको अधिवेशन चैत मसान्तभित्र आयोजना गर्ने निर्णय संगठन विभागले गरेको छ । मकवानपुरमा पार्टीको भन्दा अगाडि जनसंगठनहरुको अधिवेशन हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*