‘रास्वपाले अवसरवादभन्दा योग्यतालाई प्राथमिकता दिन्छ’

साझाकुरा
२०८३ जेष्ठ २७, बुधबार ११:३९

हेटौंडा-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले आगामी निर्वाचनमा नेपाली जनताले परम्परागत राजनीतिक अभ्यासको विकल्प खोज्ने र त्यसको प्रत्यक्ष लाभ रास्वपाले प्राप्त गर्ने दाबी गरेका छन् । जनताको बढ्दो विश्वास, अपेक्षा र सहभागिताले आगामी स्थानीय तथा प्रदेश निर्वाचनमा रास्वपाले चमत्कारिक नतिजा हासिल गर्ने आधार तयार भएको उनको भनाइ छ ।

रास्वपा बागमती प्रदेशको प्रथम अधिवेशनको उद्घाटन सत्रलाई मंगलबार हेटौंडामा सम्बोधन गर्दै महामन्त्री बुर्लाकोटीले मुलुकको राजनीतिक अवस्थाप्रति नागरिकमा बढ्दो असन्तुष्टि देखिएको र त्यसको विकल्पकारुपमा रास्वपा स्थापित हुँदै गएको बताए । उनले किसान, मजदुर, युवा, उद्यमी, व्यवसायी तथा विभिन्न पेशाव्यवसायमा आबद्ध नागरिकले रास्वपाप्रति आशा र भरोसा व्यक्त गरिरहेको उल्लेख गर्दै जनताले परिवर्तनको नेतृत्व रास्वपालाई सुम्पन चाहेको दाबी गरे । उनले आगामी २०८४ सालको निर्वाचनलाई केवल राजनीतिक प्रतिस्पर्धाको रुपमा नभई नयाँ राजनीतिक संस्कार स्थापित गर्ने अवसरकारुपमा लिनुपर्ने बताए ।

जनताको अपेक्षा पूरा गर्ने सबैभन्दा प्रभावकारी माध्यम स्थानीय सरकार भएको उल्लेख गर्दै उनले स्थानीय तहमा सक्षम, इमानदार र जनउत्तरदायी नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए । गलत व्यक्तिलाई उम्मेदवार बनाउँदा पार्टीको सिद्धान्त र जनताको विश्वास दुवै कमजोर बन्नसक्ने भन्दै उनले उम्मेदवार छनोटमा विशेष सावधानी अपनाइने स्पष्ट पारे । महामन्त्री बुर्लाकोटीले रास्वपाले अवसरवादभन्दा योग्यतालाई प्राथमिकता दिने नीति अवलम्बन गरेको बताए । पार्टी स्थापना भएको छोटो अवधिमै उल्लेखनीय जनसमर्थन प्राप्त गरेपछि विभिन्न उद्देश्य बोकेर धेरै व्यक्ति पार्टीमा प्रवेश गरेको स्वीकार गर्दै उनले संगठनलाई विचार, सिद्धान्त र कार्यक्षमताका आधारमा अघि बढाइने बताए ।

पार्टीभित्र योगदान, इमानदारिता, क्षमता र कार्यसम्पादनका आधारमा मात्रै जिम्मेवारी बाँडफाँड गरिने उनको भनाइ थियो । उनले पार्टीमा नयाँ सदस्यलाई पनि समान अवसर रहने उल्लेख गर्दै सुरुदेखि संगठन निर्माणमा सक्रिय रहेका कार्यकर्ताको योगदानको सम्मान गरिने बताए । पार्टीलाई बलियो बनाउन पुराना र नयाँ दुवै पुस्ताको समन्वय आवश्यक रहेको उनको धारणा थियो । उनले गुटबन्दी, नातावाद र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संगठनलाई संस्थागत ढंगले सञ्चालन गरिने बताए ।

रास्वपा कुनै व्यक्तिको राजनीतिक करियर निर्माण गर्ने माध्यम नभई देशको भविष्य निर्माण गर्ने अभियान भएको उल्लेख गर्दै महामन्त्री बुर्लाकोटीले आफूहरु व्यक्तिगत स्वार्थका लागि नभई राष्ट्रको समृद्धि, सुशासन र राजनीतिक सुधारका लागि सक्रिय रहेको बताए । हाल पार्टीमा पाँच लाख भन्दा बढी सदस्य आबद्ध भइसकेको जानकारी दिँदै उनले संगठनात्मक रुपमा पार्टी निरन्तर विस्तार भइरहेको र राजनीतिकरुपमा पनि परिपक्व बन्दै गएको दाबी गरे । देशको राजनीतिमा वैकल्पिक सोच, नयाँ कार्यशैली र उत्तरदायी राजनीतिक संस्कार स्थापित गर्ने लक्ष्यकासाथ पार्टी अघि बढिरहेको उल्लेख गर्दै उनले रास्वपाले नागरिकको प्रत्यक्ष सहभागिता, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा
राखेको बताए ।

अहिले अन्य राजनीतिक दलका नेताले समेत रास्वपाबाट परिवर्तनको सम्भावना देख्न थालेको उनको दाबी थियो । पार्टीलाई थप सुदृढ र प्रभावकारी बनाउन देशव्यापी संगठन विस्तार, प्रशिक्षण, जनसंवाद तथा नीतिगत बहसलाई तीव्रता दिइएको जानकारी दिँदै उनले आगामी निर्वाचनसम्म रास्वपा अझ मजबुत राजनीतिक शक्तिकारुपमा स्थापित हुने विश्वास व्यक्त गरे । उनले पार्टीभित्र एकता, सहकार्य र योगदानको सम्मानलाई उच्चप्राथमिकता दिइने उल्लेख गर्दै सम्पूर्ण नेता तथा कार्यकर्तालाई साझा उद्देश्यकासाथ अघि बढ्न आग्रह गरे । कार्यक्रममा बोल्दै पार्टीका संसदीय दलका उपनेता गणेश पराजुलीले रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठनेता बालेन्द्र शाहको नेतृत्वदायी क्षमताका
कारण जनताले देखेको परिवर्तनको सपना साकार हुने वातावरण बनेको बताए ।

पार्टी अप्ठ्यारो परिस्थितिमा हुँदा नेतृत्वलाई साथ दिने र नेतृत्वकै विकल्प खोज्ने दुवै प्रवृत्तिलाई आफूहरुले नजिकबाट नियालिरहेको उल्लेख गर्दै उनले संगठनप्रति प्रतिबद्ध रहन नेता तथा कार्यकर्तालाई आग्रह गरे ।उनले प्रारम्भिक चरणमा स्थापित राजनीतिक दलहरुले रास्वपालाई राजनीतिक शक्तिका रुपमा स्वीकार नगरे पनि अहिले पार्टी राष्ट्रिय राजनीतिको केन्द्रमा पुगेको दाबी गरे । सभापति र प्रधानमन्त्रीबीच कुनै प्रकारको मतभेद नरहेको स्पष्ट पार्दै उनले पार्टी र सरकार सञ्चालनका विषयमा नियमित छलफल तथा समन्वय हुने गरेको बताए । राष्ट्रिय जिम्मेवारी बोकेको दलकारुपमा रास्वपाले संयमता र परिपक्वताका साथ भूमिका निर्वाह गरिरहेको उनको भनाइ थियो ।

त्यसैगरी प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारले नयाँ पुस्ताको राजनीतिक चेतना र जागरणबाट रास्वपाको उदय भएको बताए । भदौ २३ र २४ गतेको आन्दोलनले नेपालमा नयाँ राजनीतिक संस्कार र संस्कृतिको सुरुवात गरेको दाबी गर्दै उनले पुराना दलले लामो समयसम्म देशलाई अपेक्षित दिशामा लैजान नसकेको आरोप लगाए । उनले पछिल्लो निर्वाचन बाट प्राप्त जनादेशलाई संस्थागत गर्नु अहिलेको प्रमुख आवश्यकता भएको उल्लेख गर्दै रास्वपा एकढिक्का भएर अगाडि बढ्ने बताए । सांसद सुनारले आगामी महाधिवेशनपछि पार्टी संगठन थप व्यवस्थित, अनुशासित र प्रभावकारी बन्ने विश्वास व्यक्त गरे ।

सुशासन, पारदर्शिता, सामाजिक न्याय र उत्तरदायी शासन प्रणाली स्थापना गर्ने लक्ष्यकासाथ रास्वपा अघि बढिरहेको उनको भनाइ थियो । कार्यक्रममा प्रतिनिधि सभा सदस्यहरु जगदीश खरेल, डा.तोसिमा कार्की, आशिका तामाङ, प्रकाश गौतम, प्रशान्त उप्रेती, समीक्षा बास्कोटालगायत केन्द्रीय, प्रदेश तथा जिल्ला तहका नेता, कार्यकर्ता र प्रतिनिधिको उल्लेख्य उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*