चुरियामाई मन्दिरक्षेत्रमा प्रशासनको अनुगमन
हेटौंडा- मकवानपुर र बाराको सीमानामा रहेको प्रसिद्ध धार्मिकस्थल चुरियामाई मन्दिर परिसरमा जथाभावी राखिएका विज्ञापनजन्य सामग्रीका कारण मन्दिरक्षेत्रको सौन्दर्य र धार्मिक गरिमामा असर परेको पाइएको छ ।मन्दिर परिसर, प्रवेशद्वार तथा पूर्वपश्चिम राजमार्ग आसपास विभिन्न शैक्षिक संस्था, व्यावसायिक प्रतिष्ठान र संघसंस्थाका होर्डिङ बोर्ड तथा प्रचारसामग्री राखिँदा मन्दिरक्षेत्र असोभनीय बनेको हो । हजारौं भक्तजन तथा पर्यटक पुग्ने मकवानपुर र बाराको सीमानास्थित चुरियामाई मन्दिरक्षेत्रको प्रवेशद्वारमा राखिएका प्रचारसामग्री हेर्दा कुनै धार्मिक स्थलभन्दा पनि शैक्षिक संस्था वा व्यावसायिक प्रतिष्ठानको परिसर जस्तो देखिन्छ । मन्दिरको मुख्य प्रवेशद्वारमै विभिन्न विज्ञापन टाँसिएका छन् भने परिसरका संरचनामा समेत प्रचार सामग्री राखिएका छन् ।
मन्दिरक्षेत्र व्यवस्थापनका लागि सम्बन्धित निकायसँग पटक पटक आग्रह गर्दा पनि आवश्यक संरचना निर्माण नभएपछि जस्ले सहयोग ग¥यो उसैको प्रचारसामग्री राखिएको चुरियामाई मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर भोम्जनले स्वीकार गरेका छन् । यस विषयमा सोमबार प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको नेतृत्वमा जिल्ला सुरक्षा समितिले चुरियामाई मन्दिरक्षेत्रको अनुगमन गरेको थियो । साँघुरो मोड र जोखिमयुक्त स्थानमा राखिएका यस्ता होर्डिङ बोर्ड तथा विज्ञापन सामग्रीले दुर्घटनाको जोखिम बढाउने हुँदा सडक अधिकारक्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचना तथा सडक सुरक्षामा असर गर्ने सामग्री हटाइने सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए ।
सार्वजनिक स्थानमा विज्ञापन राख्ने अनुमति दिने अधिकार सम्बन्धित स्थानीय तहसँग रहेको छ । हेटौंडा उपमहानगरको राजस्व महाशाखा प्रमुख जगन्नाथ सापकोटाले चुरियामाई मन्दिरक्षेत्रमा राखिएका प्रचारसामग्रीका लागि उपमहानगरलाई राजस्व नबुझाइएको बताए । सार्वजनिक तथा धार्मिक महत्वका क्षेत्रमा अनुमति नलिई राखिएका विज्ञापनजन्य सामग्री हटाउने प्रक्रिया अघि बढाइने उनले जानकारी दिए । सडकसुरक्षा र धार्मिक गरिमा दुवैलाई असर पु¥याउने यस्ता विज्ञापन हटाउन अब कडाइका साथ कार्यान्वयन आवश्यक देखिएको छ ।







