सानाकिसान कृषि सहकारी मनहरीको साधारणसभा

साझाकुरा
२०८३ जेष्ठ २७, बुधबार ११:५५

हेटौंडा- मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सानाकिसान कृषि सहकारीहरुले किसानको आर्थिक सशक्तीकरण, कृषि उत्पादन वृद्धि र ग्रामीण अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान पु¥याएको बताएका छन् ।सहकारीमार्फत किसानलाई वित्तीय पहुँच, प्रविधि, सीप तथा बजारसँग जोड्ने काम प्रभावकारीरुपमा भइरहेको उल्लेख गर्दै उनले यस्ता संस्थालाई थप सुदृढ बनाउन प्रदेश सरकार आवश्यक सहकार्य गर्न तयार रहेको बताएका हुन् । सानाकिसान कृषि सहकारी संस्था लिमिटेड मनहरीको २८औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रमलाई प्रमुख अतिथिकारुपमा सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले बागमती प्रदेशमा मात्रै २६० वटा सानाकिसान सहकारी संस्था सक्रिय रहेको जानकारी दिए ।

उनले देशभर करिब १ हजार २०० सानाकिसान सहकारी मार्फत् लाखौँ किसान परिवार प्रत्यक्षरुपमा आबद्ध रहेको उल्लेख गर्दै सहकारी आन्दोलनले कृषिक्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलेको बताए । मुख्यमन्त्री बानियाँले सहकारीक्षेत्रका केही संस्थामा पछिल्लो समय समस्या र अनियमितता देखिए पनि सानाकिसान कृषि सहकारीले भने विश्वसनीयता कायम राख्न सफल भएको बताए । किसानसँग प्रत्यक्ष जोडिएर उत्पादन, बचत, ऋण प्रवाह, पशुपालन तथा दुग्ध उत्पादनका क्षेत्रमा निरन्तर काम गरिरहेका यस्ता सहकारीप्रति जनताको विश्वास अझै कायम रहनु सकारात्मक पक्ष भएको उनको भनाइ थियो ।

उनले प्रदेश सरकारले कृषि, उद्योग, पर्यटन र पूर्वाधार विकासलाई एकआपसमा जोडेर आर्थिक समृद्धिको आधार निर्माण गर्ने नीति अवलम्बन गरेको जानकारी दिए । कृषिउत्पादन बढाएर मात्रै समृद्धि हासिल गर्न नसकिने भन्दै उत्पादनसँगै प्रशोधन, ब्रान्डिङ र बजारीकरणलाई पनि समान प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याए । त्यसका लागि चालु आर्थिक वर्षमा विशेष बजेट तथा कार्यक्रम ल्याइएको उनले बताए । मुख्यमन्त्री बानियाँले स्थानीय तथा रैथाने उत्पादनको संरक्षण र प्रवद्र्धन प्रदेश सरकारको प्राथमिकतामा रहेको उल्लेख गरे । उनले ‘एक पालिका–एक उत्पादन’ अवधारणालाई प्रभावकारीरुपमा कार्यान्वयन गर्दै प्रत्येक स्थानीय तहको विशेष पहिचान बोकेको उत्पादनलाई प्रोत्साहन गरिने बताए । यसबाट स्थानीय उत्पादनको बजार विस्तार हुनुका साथै किसानको आम्दानी वृद्धिहुने विश्वास ब्यक्त गरे ।

उनले कोदो, फापरलगायतका रैथानेबालीको संरक्षण तथा उत्पादन वृद्धिका लागि उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन गरिने जानकारी दिए । अदुवा, लसुन, प्याज, बेसार र खुर्सानीजस्ता दैनिक उपभोगका कृषिउपजको उत्पादन बढाउन किसानलाई प्रोत्साहनस्वरुप अनुदान उपलब्ध गराइने बताए । आयात प्रतिस्थापन गर्दै स्वदेशी उत्पादनलाई बढावा दिन प्रदेश सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो । मुख्यमन्त्री बानियाँले कृषिक्षेत्रलाई आत्मनिर्भर र व्यावसायिक बनाउने लक्ष्यसहित सरकारले विभिन्न कार्यक्रम अघि बढाइरहेको बताए । किसानलाई उत्पादनमा मात्र सीमित नराखी प्रशोधन उद्योग र बजारसँग जोड्नुपर्ने आवश्यकता औँल्याउँदै उनले मूल्यअभिवृद्धिबिना कृषिबाट अपेक्षित लाभ लिन नसकिने धारणा राखे ।

दुग्ध उत्पादन तथा संकलन क्षेत्रमा सहकारीहरुले खेलेको भूमिकाको प्रशंसा गर्दै उनले दुग्धजन्य वस्तुको प्रशोधन र विविधीकरणमा ध्यान दिन आग्रह गरे । दूधलाई कच्चापदार्थका रुपमा मात्रै बिक्री गर्ने परम्पराबाट माथि उठेर घिउ, दही, चीज, आइसक्रिम लगायतका मूल्य अभिवृद्धियुक्त उत्पादन तयार गरी बजार विस्तार गर्नसके किसानको आम्दानी उल्लेख्यरुपमा बढ्नसक्ने उनको भनाइ थियो । प्रदेश सरकारले दुग्ध उत्पादनमा उपलब्ध गराउँदै आएको अनुदानलाई निरन्तरता दिने र आवश्यक सुधारसहित अझ प्रभावकारी बनाउने प्रतिबद्धता पनि मुख्यमन्त्री बानियाँले व्यक्त गरे । दुग्ध प्रशोधनका लागि आवश्यक प्रविधि, उपकरण तथा पूर्वाधार विकासमा प्रदेश सरकारले सहयोग गर्ने उनले बताए ।

गरिबी न्यूनीकरण, स्वरोजगार प्रवद्र्धन, सीप विकास तथा आयआर्जन वृद्धि प्रदेश सरकारका प्रमुख प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले सहकारीमार्फत् किसानलाई आधुनिक प्रविधि, तालिम तथा वित्तीय पहुँच उपलब्ध गराउने नीति अवलम्बन गरिएको जानकारी दिए । कृषिलाई परम्परागत निर्वाहमुखी प्रणालीबाट व्यावसायिक र प्रतिस्पर्धी क्षेत्रकारुपमा विकास गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको उनले बताए । सहकारीमार्फत उत्कृष्ट कार्य गर्ने किसान, दुग्ध उत्पादक तथा संस्थाको विकासमा महत्वपूर्ण योगदान पु¥याएका सदस्यलाई कार्यक्रममा सम्मान गरिएको थियो । सम्मानित व्यक्तिले सहकारीले आफूहरुको उत्पादन वृद्धि, आयआर्जन तथा जीवनस्तर सुधारमा महत्वपूर्ण भूमिका खेलेको अनुभव साझा गरेका थिए ।

सहकारीका पदाधिकारीले संस्थाले विगत २८ वर्षदेखि कृषि, पशुपालन, बचत तथा ऋण सेवा, दुग्ध उत्पादन, किसान सशक्तीकरण तथा ग्रामीण आर्थिक विकासका क्षेत्रमा निरन्तर योगदान पु¥याउँदै आएको जानकारी दिएका थिए । उनीहरुले आगामी दिनमा कृषि व्यवसायको आधुनिकीकरण, उत्पादन वृद्धि, बजार व्यवस्थापन तथा किसानको आयस्तर उकास्ने कार्यक्रमलाई थप प्रभावकारी ढंगले अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*