सुपर ओभरमा काठमाडौँ पराजित, चितवनले उपाधि जित्यो
हेटौंडा- बागमती कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि चितवनले जितेको छ । मंगलबार हेटौंडा–६ स्थित गौरिटार रंगशालामा सम्पन्न रोमाञ्चक फाइनलमा चितवनले काठमाडौंलाई सुपर ओभरमा पराजित गर्दै उपाधि आफ्नो नाममा लेखाएको हो ।निर्धारित १० ओभरको खेलमा दुवै टोलीले समान ८९ रन बनाएपछि खेल बराबरीमा पुगेको थियो । त्यसपछि नतिजा सुपर ओभरमार्फत् तय गरिएको थियो, जसले खेललाई अझ रोमाञ्चक मोड दिएको हो ।
सुपर ओभरमा पहिले ब्याटिङ गरेको काठमाडौंले १० रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर, जवाफी ब्याटिङमा उत्रिएको चितवनले उत्कृष्ट प्रदर्शन गर्दै केवल ४ बलमै ११ रन पूरा गरी सहज जित हासिल ग¥यो । यसअघि पहिलो इनिङ्समा चितवनले ६ विकेटको क्षतिमा ८९ रन बनाएको थियो ।
त्यसको जवाफमा काठमाडौंले पनि ८९ रनमै सीमित हुँदै खेल बराबरीमा पु¥याएको थियो । प्रतियोगिताको विजेता र उपविजेताले ट्रफी र मेडेल प्राप्त गरेका छन् । व्यक्तिगत विधातर्फ काठमाडौँका रित गौतम उत्कृष्ट ब्याटर र सन्दिप पराजुली उत्कृष्ट बलर र चितवनका सन्देश सुवेदी उदीयमान खेलाडी घोषित भए । प्रतियोगिताका उत्कृष्ट बलर, ब्याटर र उदीमान खेलाडीले जनही १०–१० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भक्तपुरका क्रिश कार्कीले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
गौरीटार क्रिकेट मैदानमा उद्घाटनको अवसरमा बागमती प्रदेश खेलकुद विकास परिषद् र मकवानपुर क्रिकेट संघको संयुक्त आयोजनामा प्रतियोगिता भएको हो । प्रतियोगितामा मकवानपुर, चितवन, काठमाडौँ, भक्तपुर, ललितपुर र नुवाकोट गरी बागमती प्रदेशका ६ वटा जिल्लाको सहभागिता रहेको थियो । चितवन समूह विजेता र काठमाडौँउपविजेता बन्दै फाइनलमा पुगेको थियो । जेठ १७ गतेदेखि २६ गतेसम्म सञ्चालन भएको थियो ।







