‘समृद्धिको ढोका’ मानिएको चित्लाङ–चन्द्रागिरी सडक धराप बन्दै
हेटौंडा- ‘हेटौंडा–काठमाडौ जोड्ने चन्द्रागिरीको उकालो, कान्तीराजपथको सीमात खोलाको उकालो जोखिमपूर्ण छ । बागमती प्रदेशका मन्त्रीहरु दिनहुँ यहीवाटो हिड्छन तर, डोजरले सम्याउने कसैको ध्यान जादैन, सायद यो काममा कमिसन नआउने भएर होला’ भनेर मकवानपुरका अधिवक्ता ध्रुबप्रसाद चौलागाईले सामाजिक संजालमा तीब्र रोष प्रकट गरेका छन् ।फेसबुकमा स्टाटस र युट्युबमा अन्तरवार्ता दिनेहरुले चितलाङ–चन्द्रागिरी सडकखण्डको स्तरोन्तिका लागि अर्थ मन्त्रालयले गतवर्ष बिनियोजन गरेको १५ करोड रुपैयाँ कता गयो ? यस्को पनि जबाफ खोजौं न भनेर थाहा नगरका पत्रकार शम्भु अधिकारीले सामाजिक संजालमा लेखेका छन् । यस्ता प्रतिनिधिपात्रको लेखाई शनिबार दिउँसो चन्द्रागिरी नगरपालिका–४ पानीघाट नजिक हिमचुली सेतोपहरोमा भएको दुर्घटनामा डा.महेश गौतमको परिबार नै सखाप भएको बिषयउन्मुख छ ।
काठमाडौंबाट चित्लाङ जाँदै गरेको प्र ३–०१–२३ च ६९८५ को कार सडकबाट करिब ५ सय मिटर तल खसेको थियो । यो घटना जति दर्दनाक छ, त्यति नै सामाजिक संजालमा सडकप्रति तीब्र गुनासो ब्यक्त भएका छन् । काठमाडौं–चन्द्रागिरी–चित्लाङ जोड्ने २२ किलोमिटर मोटरबाटो डरलाग्दो र धराप छ । यो सडक खण्डको अप्ठेरो भाग थानकोटदेखि चन्द्रागिरी डाँडासम्म छ । सडकका कारण सवारीसाधन टुटफुट हुनु सामान्य बनेको छ । सडक पहिले भन्दा केही फराकिलो भयो तर, कच्ची अवस्थाका कारण हिउँदमा धुलैधुलो र वर्षामा हिलाम्य हुनाले गाडी चलाउन कठिन छ ।
बर्षेनी धेरैको ज्यान लिइसकेको यो सडक हेर्ने सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख नारायणदत्त भण्डारी सरकारले पर्याप्त बजेट नपठाएकाले मर्मत सम्भार गर्न नसकेको बताउँछन् । ‘सडक हुुनुपर्ने जति विस्तार भएकै छ, प्रत्येक तीन महिनामा हामी हेभी इक्विपमेन्टबाट आफैंले इन्धन हालेर मर्मतसम्भार पनि गरेका छौं तर, त्यो बाटो मर्मत मात्रै गरेर हुँदैन’, भण्डारीले भने । उनले थानकोट–चन्द्रागिरी–चित्लाङ सडक खण्डको २२ किलोमिटरमध्ये चार किलोमिटर अत्यन्तै जोखिमपूर्ण उकालो रहेकाले त्यसलाई सुधार गरेर कालोपत्रे नगरेसम्म सधैं दुःख हुने बताए ।
‘चार किलोमिटर सडक मात्रै सुधार्दा पनि धेरै हदसम्म सडक सुरक्षित र सर्वसाधारणको यात्रा सहज हुन्छ र दुर्घटनाको जोखिम कम हुन्छ तर, त्यति कामका लागि पनि हामीसँग बजेट छैन’, भण्डारीले भने । चालू आर्थिक वर्षमा डिभिजन कार्यालयमा २२ करोड रुपैयाँ माग गरेकामा २ करोड रुपैयाँमात्र पाएको छ । ‘हामीले मागेको बजेटको १० प्रतिशत भन्दा कम आएको छ । अब यति बजेटले कति काम हुन्छ ?,’ भण्डारीले प्रतिप्रश्न गरे ।
मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका र काठमाडौं जोड्ने चित्लाङ–थानकोट सडकलाई गणेशमान सिंह मार्ग नामाकरणगरिएको छ । वर्षौंदेखि अलपत्र सडकको स्तरीकरण भन्दा पनि नामाकरण गर्न हतार गर्ने राजनीतिक दलले नै सडकमा राजनीति गरिरहेको सर्वसाधारणको बुझाई छ । २०७३ सालमा सडक निर्माण सुरु गरेको ठेकेदार कम्पनीले निर्माणकार्यलाई भन्दा पनि सडक चौडा बनाउँदा निस्केको ढुंगा बेच्नेतर्फ ध्यान दिँदा चित्लाङ–थानकोट सडक त्यतिबेलादेखि अलपत्र परेको थियो । सरकारले २०६२ सालदेखि यो सडक निर्माण सुरु गरेको थियो ।
कुलेखानी–मार्खु–चित्लाङ–थानकोट मार्ग करिब १५ महिनाभित्र सकाउने पर्ने समयावधि भए पनि काठमाडौंतर्फको सडक निर्माण गर्ने ठेक्का पाएको पीएस÷किराँतेश्वर जेभीले ५ वर्षसम्म पनि निर्माण कार्य पूरा नगरी सडकखण्डको ढुंगा निकालेर बिक्री गरिरह्यो । थाहानगरका तत्कालीन नगरप्रमुख लबशेर विष्टले निर्माण कम्पनीले ढुंगा बेच्न नपाएपछि काम नगरेको बताए । जिल्ला वन कार्यालय काठमाडौंले उत्खनन्गरिएका वनक्षेत्रको ढुंगा लिलामी गरेको थियो । ढुंगा लिलामीको ठेक्का पनि सडक निर्माणको ठेक्का पाएको पीएस÷किराँतेश्वर जेभीले नै लिएपछि कम्पनीले ढुंगा निकासी गरेको थियो । कम्पनीले सडक बनाउन छोडेर ढुंगा निकासी गर्न थालेपछि नगरपालिका र स्थानीयबासीले अवरोध गरेका थिए ।
‘यो सडक खण्डमा ६ किलोमिटर लम्बाई ढुंगाको पहाड छ । ठेकेदारले सडक बनाउनेभन्दा पनि त्यो पहाडबाट ढुंगा निकालेर बेच्न मात्रै काम गरेको थियो । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले सडक निर्माणमा चासो देखाउँदै चित्लाङमा सर्वपक्षीय भेला पनि राखेको थियो । भेलामा सहभागी स्थानीयले ठेकेदार कम्पनीको लापरबाहीको कारण सडक निर्माण अलपत्र परेको बताएका थिए । चित्लाङ–थानकोट सडक (गणेशमान सिंह मार्ग) आयोजनाले थानकोट–चित्लाङ मार्गको काठमाडौंतर्फ पानीघाटदेखि देउरालीसम्मको २.५ किलोमिटरको चट्टानी पहाडमा समस्या भएको जनाएको छ ।
आर्थिक वर्ष २०७०÷०७१ देखि हालसम्म यो सडकमा अरबौं रुपैयाँ खर्च भइसकेको आयोजनाले जानकारी दिएको छ । नेपालको प्राचीन सडक अर्थात् पुरातात्विक, ऐतिहासिक, धार्मिक महत्वका सम्पदाले भरिपूर्ण चित्लाङ जोड्न भीमफेदी–कुलेखानी–चित्लाङ–थानकोट मार्गको स्तरोन्नतिको लागि प्रदेश सरकारले चासो देखाएको हो । थानकोट–चित्लाङ सडकलाई समग्र मकवानपुर र विशेष उत्तरी क्षेत्र थाहानगर, इन्द्रसरोबर गाउँपालिकाले ‘समृद्धि ढोका’को रुपमा लिने गरेको छ । थानकोट–चित्लाङ सडकमा अनावश्यक राजनीति भएकोले गर्दा बाटो निर्माणमा बजेट ल्याउन नसकेको प्रतिनिधिसभा सदस्य महेश बर्तौला बताउँछन् ।
देशकै प्रमुख पर्यटकीय गन्तव्य थाहानगर र ईन्द्रसरोवरको पर्यटनको विकासका लागि यो सडक छिटो निर्माण गर्न जरुरी छ । त्रिभुवन राजपथ सञ्चालन हुनुपूर्व काठमाडौं उपत्यकाको प्रवेशद्वार चित्लाङ थियो । भीमफेदीको चिसापानीगढीमा राहदानी लिएर मात्र चन्द्रागिरी भएर काठमाडौं उपत्यका प्रबेश गर्न पाईन्थ्यो । संस्कृति र इतिहासको अध्ययन गर्नेहरुका लागि महत्वपूर्ण गन्तव्यका रुपमा रहेको चित्लाङको नाम पहिले चित्रापुर थियो ।
चैत्य जाने बाटो भएकाले पछि यसको नाम चैतलोङ रहन गएको मान्यता छ । पछि अपभ्रंश भएर यसको चित्लाङ रहन गएको स्थानीयवासी बताउँछन् । चित्लाङको उत्तरतर्फ चन्द्रागिरी डाँडा र दक्षिणतिर महाभारत पर्वत श्रृंखला छ । २३ सय वर्ष पुरानो चित्लाङमा लिच्छिवीकालीन वास्तुकला र सम्पदा छन् । लिच्छवीकालदेखि नै काठमाडौंबाट तराई जान चन्द्रागिरी डाँडो पार गर्दै चित्लाङ भएर जान्थे ।
भीमफेदी, कुलेखानी, मार्खु, चित्लाङ, चन्द्रागिरी हुँदै काठमाडौंमा गाडी बोकेर लगेको ईतिहास छ ।
काठमाडौंमा मोटर पु¥याउन वीरगञ्जदेखि मकवानपुरको तत्कालीन सदरमुकाम भीमफेदीसम्म सडक खनिएको थियो । भीमफेदीबाट भने वरपरका गाउँका तन्नेरीहरुले बोकेर मोटर काठमाडौं पु¥याउथे । २०१३ सालमा त्रिभुवन राजपथ (बाइरोडको बाटो) निर्माण सुरु भएर २०१६ देखि संचालनमा आएपछि गाडी बोक्न छाडिएको हो ।







