२०८१ सीप विकास वर्ष घोषणा

प्रदेश युवा सम्मेलनः युवाको जनसांख्यिक लाभ लिन सरकारलाई सुझाव
साझाकुरा
२०८१ बैशाख ३१, सोमबार १०:१४

हेटौंडा- युवाको साझासवालको सम्बोधनका लागि युवामा लगानी प्रवद्र्धन गर्नुपर्ने मागसहित १३ बुँदे घोषणापत्र जारी गर्दै प्रदेश युवा सम्मेलन सकिएको छ ।बागमती प्रदेशका सबै स्थानीय तहको योजना, नीति, कार्यक्रम र बजेट निर्माण तथा कार्यान्वयनमा युवाको अर्थपूर्ण र प्रभावकारी सहभागितामार्फत् युवामैत्री स्थानीय तहको प्रवद्र्धन गर्नुपर्ने माग पनि सम्मेलनले गरेको छ । सम्मेलनपछि जारी घोषणापत्रमा युवाका सवालमा बागमती प्रदेशसँग सम्वन्धित विशेष अध्ययन, अनुसन्धान तथा तथ्यांक अद्यावधिक तथा सार्वजनिक सेवामा डिजिटल गभर्नेन्सको अभ्यासमार्फत् युवाको पहुँच विकासको माग गरिएको छ ।

बागमतीमा सबल, सक्षम, सशक्त र सीपयुक्त युवा तयार गर्ने सोचसहितको अभियानलाई प्रभावकारी कार्यान्वयन गर्ने स्पष्ट लक्ष्य तथा कार्ययोजना तय गरिएको घोषणापत्रमा दाबी गरिएको छ । प्रदेशभरका पाँच हजार जनालाई सीप सिकाउने लक्ष्यसहित परिषद् हेटौंडाले आइतबार यस वर्षलाई सीप विकास वर्ष घोषणा गरेको हो ।१३ बुँदे घोषणापत्र जारी गर्दै परिषद्का उपाध्यक्ष सन्तोष चौलागाईंले सीप विकास वर्ष घोषणा गरेका हुन् । घोषणापत्रमा नेपालमा जनसांख्यिक लाभका रुपमा युवाको वर्तमान जनसंख्या देश समृद्ध बनाउने उपयुक्त अवसरका लागि उपयोग गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । ‘जनसांख्यिक लाभलाई देशको समृद्धिको आधार बनाउनै पर्दछ,’ घोषणापत्रमा भनिएको छ ।

युवाका लागि सूचना प्रविधीमा पहुँच, क्षमता विकास, सीप विकास, युवाले नेतृत्व गरेका संस्थाको संस्थागत सवलीकरण, संजालीकरण र युवाका साझासवालको सम्बोधन लगायत सवालमा परिषद् तथा जिल्ला युवा समिति र स्थानीय तहको समेत थप क्रियाशील बनाउन माग गरिएको छ । बागमती प्रदेश युवा परिषद् ऐन २०७६, नियमावली २०७७, प्रदेश युवा नीति २०७९ को प्रभावकारी कार्यान्वयन गर्दै बागमती प्रदेशका युवाको चाहना र आवश्यकताको सम्वोधन गरिनुपर्ने, कला, संस्कृक्ति, पुरातत्व र ऐतिहासिक तथा प्राकृक्तिक क्षेत्रको पहिचान, अभिलेखीकरण, संरक्षण र प्रवद्र्धनमा युवाको सहभागिता सुनिश्चित गर्न माग गरिएको छ ।

परिषद्ले संचालन गरिरहेको युवाको सीप विकास तथा सीप परीक्षणलाई अझ प्रभावकारी रुपमा कार्यान्वयन गर्दै प्रदेशका सबै युवामाझ पु¥याउनु पर्ने, युवामा रोजगारी, स्वरोजगारी र उद्यमशीलता प्रवद्र्धनका लागि प्रदेश सरकारले गरेको सीप विकास वर्ष २०८१ घोषणाको निर्णयलाई परिषद्को नेतृत्वमा प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने माग गरिएको छ ।विश्वमा बढ्दै गईरहेको सामाजिक तथा मानवीय जटिलता, पर्यावरणीय असन्तुलन र सामाजिक, आर्थिक तथा वातावरणीय पक्षलाई ध्यानमा राखी सन् २०३० सम्ममा पुरा गर्नका लागि तय गरिएका दिगो विकासका लक्ष्यको कार्यान्वयन, आर्थिक, सामाजिक, वातावरणीय पक्षको सहनयोग्य, संभाव्य र दिगो विकासका लक्ष्यको स्थानीयकरण र कार्यान्वयन गर्नुपर्ने दायित्व युवामा रहेको बताइएको छ ।

नेपालले युवा जनसांखीयक लाभबाट फाइदा लिन युवामा लगानी अभिवृद्धि गर्दै देशको समृद्धि र विकासको सुनौलो युगमा प्रवेश गर्ने लक्ष्यप्रति थप प्रतिवद्ध रहदै, युवामैत्री नीति निर्माण, विद्यमान नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयन र युवा लक्षित यथेष्ट स्रोतसाधन र लगानीका लागि सामूहिक आवाजलाई थप बुलन्द गर्दै, युवालाई सक्षम, जिम्मेवार, ज्ञान र सीपयुक्त वनाउन बागमती प्रदेशका साथै सिंगो देशको समग्र विकासको नेतृत्वमा युवालाई स्थापित गर्न उत्प्रेरित गर्ने उद्देश्यका युवा सम्मेलनले घोषणापत्र जारी गरेको हो ।

संघीय तथा प्रदेश सरकारका आवधिक योजना, युवासँग सम्बन्धित नीतिगत व्यवस्थाको कार्यान्वयनमा परिषद्ले प्रदेशमा नेतृत्वदायी उपस्थितिसहित महत्वपूर्ण भूमिका खेल्नुपर्ने औंल्याइएको छ । यसका लागि आवश्यक स्रोतसाधनको सुनिश्चिता हुनुपर्ने, परिषद्लाई थप स्रोतसाधनसम्पन्न बनाउदै युवाका साझासवालको सम्बोधनका लागि परिषद्को नेतृत्वदायी भूमिकालाई थप प्रवद्र्धन गर्नुपर्ने माग गरिएको छ ।

स्थानीय तहको सहभागितात्मक योजना निर्माण र कार्यान्वयनमा युवाको सृजनशील सहभागिता प्रवद्र्धन गर्नुपर्ने, विभिन्न तहका नीतिगत निर्णय र सोको प्रभावकारी कार्यान्वयनमा युवाको राजनीतिक तथा सामाजिक निर्णायक उपस्थिति हुनुपर्ने, युवामा सचेतना, शिक्षा, सृजनाशीलता र सहभागिताको प्रवद्र्धन गर्नुपर्ने माग सम्मेलनको छ । युवालाई देशमै संभावनाको खोजी र युवाका लागि अवसरको पहिचान तथा प्रवद्र्धनमा सहजीकरण आवश्यक छ । विदेशमा कमाएको ज्ञान, सीप, अनुभव र पूँजीलाई नेपालमा लगानी गर्नका लागि आवश्यक नीतिगत सम्वोधन र प्रभावकारी कार्यान्वयन गर्न माग गरिएको छ ।

जलवायु परिवर्तनका नकारात्मक असर, विपद् रोकथाम तथा व्यवस्थापन र वातावरण संरक्षणमा युवाको ज्ञान, सीप र क्षमता अभिवृद्धि गरी युवाको नेतृत्वमा जलवायु अनुकूलन, विपद् व्यवस्थापन र वातावरणीय न्यायको प्रवद्र्धन गर्नुपर्ने, युवालाई प्राविधिक, गुणस्तरीय, व्यवहारिक र जीवन उपयोगी शिक्षा, सक्षमता, जिम्मेवारीपन, ज्ञान र सीपयुक्त वनाउदै समग्र विकासमा युवालाई नेतृत्वदायी भूमिकामा स्थापित गर्न माग गरिएको छ ।

युवाका उत्पादनको ब्राण्डि·, बजारीकरण र युवालाई उत्पादनमा जोड्नका लागि नवप्रवर्तनसँग सम्वन्धित विशेष नीतिगत व्यवस्था तय गर्दै भएका व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न, नेपालमा जनसांख्यिक लाभका रुपमा रहेका युवाको वर्तमान जनसंख्या देश समृद्ध बनाउने उपयुक्त अवसर र प्रभावकारी संभावनाको खोजी गरिनु पर्दछ भनिएको छ ।

सम्मेलनमा शिक्षामा कहाँ छ समस्या ?, नीति, राजनीति र समृद्धि, डिजिटल साक्षरताः प्रविधि, अवसर र सम्भावना, नवप्रवर्तन र उद्यमशीलताः नीति र निरन्तरता, विदेशमा आर्जित ज्ञान र सीप देशमा लगानीको सम्भावनाका विषयमा अन्तरक्रिया भएको थियो । सम्मेलनमा प्रदेशका १३ जिल्लाका ११९ पालिकामध्ये ९१ पालिकाबाट १६ वर्षदेखि ३० वर्ष उमेर समूहका २०० बढी युवाको सहभागिता रहेको परिषद्ले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*