बिन्दाबासिनीको पीडा सुन्दा कानुनमन्त्री बने भावुक

साझाकुरा
२०८१ जेष्ठ १८, शुक्रबार ०९:४९

हेटौंडा-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद बिन्दबासिनी कंसाकारले आफूमाथि तेजाब आक्रमण भएपछि उपचारका क्रममा आफ्नो घर लिलाम भएको बताएकी छिन् ।प्रतिनिधिसभाको महिला तथा बालबालिका समितिमा सांसद कंसाकारले आफ्नो बैंक खाता रोक्का रहेको र तलब–भत्ता समेत पाउन नसकेको गुनासो सुनाइन् । सांसद कंसाकारले पीडा पोखेपछि बैठकमा सहभागी कानुनमन्त्री पदम गिरीले आँसु खसाले । अन्य सांसदहरुले विगतमा पनि यो कुरा सुनेको हुनसक्ने तर, आफूले पहिलोपटक सुनेको मन्त्री गिरीले बताए ।

‘एघार वर्ष भयो घटना भएको । पीडितले अनेक ऋण–धन गरेर उपचार गर्नुप¥यो । त्यसकारण एउटा घर लिलाम भयो । अर्को लिलाम हुने चरणमा छ भनेपछि म यसलाई समाजको ठूलो घाउकारुपमा बुझ्छु,’ मन्त्री गिरीले भने, ‘ऋण लिन नसकेको भए त पीडित त मर्नुपर्ने रहेछ नि’ उहाँलाई क्षतिपूर्ति दिन मैले अर्थ मन्त्रालयमा फाइल पठाएको छु।’१० वर्ष अगाडि ९ वैशाख २०७० मा पनि हेटौंडामा आफ्नो भाँडा पसलमा बसिरहेकी बिन्दबासिनीलाई भारतीय नागरिक दिलीपराज केशरी (राज) ले प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै एसिड प्रहार गरेका थिए । घटनालगत्तै भारत पसेका केशरी ६ वर्षपछि पक्राउ परेका थिए । बीरगंजको सीमावर्ती क्षेत्रबाट पक्राउ गरी हेटौंडा ल्याएर प्रहरीले पीडित र पीडक एकैस्थानमा राखेर पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी गराएको थियो ।

प्रहरीले ज्यानमार्ने कसुर अन्तर्गत मुद्दा चलाएर दिलीपलाई अदालत पु¥यायो । त्यतिबेलासम्म नेपालमा एसिड आक्रमण सम्बन्धी छुट्टै कानुन बनेको थिएन । मकवानपुर जिल्ला अदालतले पीडक दिलीपलाई १ लाख रुपैयाँ जरिवाना र ८ वर्ष कैद सजाय तोकेको थियो । कंसाकार परिवारले उपचारमा भएको खर्चसहित क्षतिपूर्तिको माग गर्दै मुद्दा दायर गरेका थिए । एसिड आक्रमणपछि कंसाकार परिवारले उपचार गर्दा लागेको १ करोड १४ लाख ८५ हजार रुपैयाँको सक्कलै बिल भरपाई अदालतमा पेश गरेका थिए ।

मकवानपुर जिल्ला अदालतले यो रकम सके अपराधीबाट भराउनू, उसले तिर्न नसके नेपाल सरकारले उपलब्ध गराउनू भनेर आदेश दिएको थियो । जिल्ला अदालत मकवानपुरका तत्कालीन न्यायधीश कमलराज विष्टले फैसलामा गरेका थिए–‘निज प्रतिवादीबाट उक्त रकम भराउन नसकिएमा पीडितलाई परेको पीडा र उपचारमा भएको खर्चका सम्बन्धमा मनासिब माफिकको क्षतिपूर्ति रकम नेपाल सरकारबाट स्थापना भएको अपराधपीडित क्षतिपूर्ति राहत कोषबाट भराइदिनू ।’

तर, अदालतले आदेश गरेको ५ वर्ष बितिसक्दा पनि कंसाकारले क्षतिपूर्ति नपाएको बताएकी छिन् । ‘अहिलेसम्म त्यो क्षतिपूर्ति पाइएको छैन’ कंसाकार सुनाउँछिन्, ‘फैसलापछि पनि उपचारमा कति खर्च भयो–भयो’ । बिन्दबासिनीमाथि भएको एसिड आक्रमण पछि लगातार एसिड प्रहारका घटना सार्वजनिक हुन थालेपछि एसिड आक्रमणको विरुद्ध छुट्टै कानुन बनाउनुपर्ने आवाज उठेको थियो ।

२५ भदौ २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड पीडितहरुलाई भेटे । त्यही भेटमा कंसाकारले आफ्नो परिचयसहित प्रधानमन्त्री ओलीलाई एसिड आक्रमणविरुद्ध कठोर कानुन बनाउन आग्रह गरिन् । २ चैत २०७८ मा सरकारले एसिड आक्रमणबिरुद्ध अध्यादेश ल्यायो । त्यसपछि संसदमा पेश भयो ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियम ऐन–२०७९ ।’चिकित्सकको सल्लाह बमोजिम नियमित उपचार, अध्ययनसँगै कुमारी बैंकको जागिरे जीवन बिताइरहेकी कंसाकार २०७९ को आमनिर्वाचनदेखि राजनीतिमा आइन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा लागेर राजनीतिमा आउने भएपछि उनले बैंकको जागिर छोडिन् । ‘एसिड मात्र होइन, जलनका बारेमा नै अब सचेतना अभियान फैलाउनुपर्छ भनेर राजनीतिको बाटो रोजेको कंसाकारले बताएकी छिन् । गतवर्ष २ करोड रुपैयाँ घुस मागेको अभियोगमा रास्वपाले सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेर उनको ठाउँमा कंसाकारलाई सांसद बनाउने निर्णय गरेपछि उनको जीवनमा युटर्न आएको थियो ।

राजनीतिमार्फत् नै एसिड र जलनका विषयमा सचेतना फैलाउन कस्सिएकी कंसाकारले बुधबार प्रतिनिधिसभाको महिला तथा बालबालिका समितिमा आफ्नो उपचारको क्रममा एउटा घर लिलाम भएको र अर्को घर पनि लिलामका लागि बैंकले ताकेता गरिरहेको गुनासो गरेकी हुन् । अदालतले उपचारमा भएको खर्च उपलब्ध गराउन फैसला गरेको पनि ५ वर्ष बितिसकेको र हालसम्म त्यो फैसला कार्यान्वयन नभएको कंसाकारले गुनासो गरेकी छिन् । आफ्नो बैंक खाता पनि रोक्का भएका कारण काठमाडौंमा बस्नका लागि परिवारले थप ऋण खोज्न परिरहेको गुनासो गरेकी हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*