‘वृद्धवृद्धालाई दुःख भएपछि’ १० वटै पालिकामा राष्ट्रिय परिचयपत्र शिविर
हेटौंडा-जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाको १० वटै गाउँपालिकामा राष्ट्रिय परिचय विवरण दर्ताका लागि टोली खटाउने भएको छ ।आज बुधवारदेखि प्रशासनले गाउँपालिका केन्द्रहरुमा राष्ट्रिय परिचयपत्र बनाउनका लागि कार्यतालिका नै बनाएर काम सुरु गर्दैछ । ज्येष्ठ नागरिक भत्ताका लागि राष्ट्रिय परिचयपत्र आवश्यक पर्ने भएपछि यतिबेला प्रशासनमा जिल्लाभरका ज्येष्ठ नागरिकको भीड लागेको छ । अत्याधिक भीडका कारण ज्येष्ठ नागरिकलाई सास्ती भोग्नु परेपछि प्रशासनले गाउँगाउँमै अभियान लगेको प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिए ।सामाजिक सुरक्षा भत्ताको लागि सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा परिचयपत्र बनाउनेको भीड बढेको हो । भत्ताको लागि राष्ट्रिय परिचयपत्र अनिवार्य बनाएपछि परिचयपत्र बनाउन विशेषगरी ज्येष्ठ नागरिक र अपा·ता भएकाले सास्ती पाएका थिए ।
शारीरिकरुपमा अशक्त बनिसकेका ज्येष्ठ नागरिकले परिचयपत्र बनाउन दिनभर लाइन लाग्दासमेत पालो नपाउनाले हैरानी बेहोरेका थिए । दिनभर लाइन बस्दा पनि पालो नपाएर फर्कनुपरेको सेवाग्राहीको गुनासो थियो ।‘परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालयमा वृद्धवृद्धा र अपा·ता भएकाहरु भीड लाग्न थालेपछि प्रशासन कार्यालयले सेवाग्राहीको सहजताका लागि पालिकाको केन्द्रमा परिचयपत्र बनाउने टोली नै खटाएको हो,’ प्रजिअ चिलुवालले भने । सम्बन्धित पालिकाको समन्वयमा परिचयपत्र बनाउने टोली बुधबारदेखि खटिने उनले बताए । पालिकाअनुसार टोली आउने मिति नै तोकिएको छ ।बुधबार राक्सिराङ गाउँपालिकाको केन्द्र चैनपुरमा टोली पठाउन लागिएको प्रजिअ चिलुवालले जानकारी दिए । एउटा पालिकामा टोली चार दिनसम्म बसेर राष्ट्रिय परिचयपत्र बनाउने काम हुने उनले बताए । दोस्रो टोली बिहीबारदेखि बागमती गाउँपालिकाबाट खटिने छ । चार दिन एउटा गाउँपालिकामा टोली खटिएपछि त्यही टोली अर्को पालिकामा खटिने व्यवस्था मिलाएको प्रजिअ चिलुवालले बताए ।
९ वटा पालिकाको केन्द्रमा दुईवटा टोली बनाएर राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्न लागिएको हो । हेटौंडा उपमहानगरपालिकाभित्र रहेको सामाजिक सुरक्षाभत्ता बुझ्नेहरुको राष्ट्रिय परिचयपत्र प्रशासन कार्यालयमा नै बन्ने चिलुवालले जानकारी दिए । पहिलो टोलीले असार ३, ४, ५ र ६ गते कैलाश गाउँपालिकामा, असार ८, ९, १०, ११, १२ र १३ गते थाहा नगरपालिकामा र इन्द्रसरोबर गाउँपालिकामा असार १५, १६, १७ र १८ गते विवरण दर्ता शिविर हुने प्रजिअ चिलुवालले जानकारी दिए ।दोस्रो टोलीले बागमती गाउँपालिकामा जेठ ३१, ३२ र असार १ र २ गते, असार ४, ५, ६ र ७ गते बकैया गाउँपालिकामा, असार ९, १०, ११ र १२ गते मकवानपुरगढी गाउँपालिकामा, असार १४, १५, १६ र १७ गते भीमफेदी गाउँपालिकामा र असार १९, २०, २१ र २२ गते मनहरी गाउँपालिकामा राष्ट्रिय परिचयपत्र विवरण दर्ता शिविर सञ्चालन हुने प्रशासनले जानकारी दिएको छ ।
नागरिकले राज्यबाट सेवासुविधा प्राप्त गर्न राष्ट्रिय परिचयपत्र (नेसनल आईडी) को प्रयोग अनिवार्य गर्दै जाने सरकारलेरणनीति अघि सारेको छ । राष्ट्रिय परिचयपत्रको एउटै कार्डमा उल्लिखित नम्बरका आधारमा नागरिकले पाउने सेवासुविधामात्र होइन, व्यक्तिको आर्थिक र व्यापारिक कारोबारको सबै विवरण क्यूआर कोडमा स्क्यान गरेर हेर्न सकिने सफ्टवेयरको परीक्षण भइरहेको छ ।आगामी साउनदेखि सामाजिक सुरक्षाभत्ता र पेन्सनको नवीकरण बायोमेट्रिक भेरिफिकेसन मार्फत गर्ने प्रणाली लागू गर्ने निर्णय भइसकेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक युवराज कट्टेलले जनाए । यसको प्राविधिक परीक्षण पनि भइसकेको छ । अब सामाजिक सुरक्षाभत्ता र पेन्सन लिने ७७ जिल्लाका नागरिकले बर्सेनि नवीकरण गर्न सम्बन्धित वडा वा पालिकामा नगई आफूलाई सुविधा पुग्ने स्थानबाट गर्न सक्ने व्यवस्था साउनदेखि नै लागू हुनेछ । यस्तो व्यवस्थाले सामाजिक सुरक्षाभत्ता र पेन्सन दोहोरो सुविधा लिन सक्ने सम्भावनालाई बन्देज लगाउनेछ ।
अहिले देशभर ३८ लाख ज्येष्ठ नागरिकले सामाजिक सुरक्षाभत्ता लिइरहेका छन् । पेन्सनबापत भने बर्सेनि करिब ७७ अर्ब खर्च हुने गरेको परिचयपत्र विभागले जनाएको छ । परिचयपत्र अनिवार्य गरेपछि एउटै व्यक्तिले दोहोरो सुविधा लिन खोजे प्रणालीले नै रोक्ने सफ्टवेयर निर्माण गरिएको छ । पेन्सन र सामाजिक सुरक्षाभत्ता लिने ज्येष्ठ नागरिकका लागि पनि परिचयपत्रले सजिलो बनाउने विभागको उद्देश्य छ ।







