मकवानपुरका स्थानीय तहले संघीय सरकारबाट ४ अर्ब रुपैयाँ पाउने

साझाकुरा
२०८१ असार १, शुक्रबार १०:३८

हेटौंडा-अन्तर सरकारी वित्तीय हस्तान्तरणअन्तर्गत संघीय सरकारबाट आगामी आर्थिक वर्ष २०८१÷८२ मा मकवानपुरका १० वटा पालिकाले ४ अर्ब ४१ करोड रुपैयाँ बजेट पाउने भएका छन् । हेटौंडा उपमहानगरपालिकाले सबैभन्दा बढी १ अर्ब १६ करोड ५३ लाख रुपैयाँ पाउने भएको छ । हेटौंडाले संघबाट समानीकरण अनुदान २९ करोड ९८ लाख, सशर्त अनुदान ८१ करोड ७५ लाख, विशेष अनुदान १ करोड ३० लाख र ३ करोड ५० लाख समपुरक अनुदान पाउने छ । बागमती प्रदेशको एक मात्र उपमहानगर हेटौंडाले पाउने रकम गतवर्ष भन्दा घटेको बताइएको छ । थाहा नगरपालिकाले ४४ करोड ९० लाख रुपैयाँ बजेट पाउने भएको छ । थाहाले समानीकरण अनुदान १२ करोड २८ लाख, सशर्त अनुदान ३० करोड ६२ लाख, विशेष अनुदान र समपुरक अनुदान १÷१

करोड पाउने भएको हो । थाहा नगरपालिकाले पाएको यो बजेट मकवानपुरको बकैया गाउँपालिकाले पाएको बजेट भन्दा ४ करोड ४१ लाख कम हो ।बकैया गाउँपालिकाले ४९ करोड ३१ लाख बजेट पाएको छ । बकैयाले वित्तीय समानीकरण अनुदान ११ करोड ९१ लाख, सशर्त अनुदान ३४ करोड ५५ लाख, समपुरक अनुदान २ करोड ८५ लाख रुपैयाँ पाएको छ । यो गाउँपालिकाले विशेष अनुदान भने पाएको छैन । कैलाश गाउँपालिकाले २७ करोड ३७ लाख रुपैयाँ बजेट पाएको छ । कैलाशले वित्तीय समानीकरण अनुदान ९ करोड ४ लाख, सशर्त अनुदान १७ करोड ६८ लाख र समपुरक अनुदान ६५ लाख पाएको छ । कैलाशले पनि विशेष अनुदान पाएको छैन ।

बागमती गाउँपालिकाले ४२ करोड ५ लाख रुपैयाँ पाएको छ । बागमतीले वित्तीय समानीकरण अनुदान १० करोड ४९ लाख, सशर्त अनुदान ३१ करोड १६ लाख, विशेष अनुदान ५० लाख पाएको छ भने समपुरक अनुदानबाट बागमती गाउँपालिका वञ्चित भएको छ । भीमफेदी गाउँपालिकाले ३९ करोड ५ लाख बजेट पाएको छ । समानीकरणतर्फ भीमफेदीले ९ करोड ९२ लाख, सशर्त अनुदान २६ करोड ७३ लाख, विशेष अनु्दान १ करोड र समपुरक अनुदान १ करोड ४० लाख रुपैयाँ पाएको छ । मकवानपुरगढी गाउँपालिकाले ३४ करोड ५ लाख बजेट पाएको छ । मकवानपुरगढीले वित्तीय समानीकरण अनुदान ९ करोड ८२ लाख, सशर्त अनुदान २३ करोड ७३ लाख, विशेष अनुदान ५० लाख रुपैयाँ पाएको छ भने समपुरक अनुदान पाएको छैन ।

मनहरी गाउँपालिकाले ३५ करोड २८ लाख रुपैयाँ बजेट पाएको छ । मनहरीले समानीकरण अनुदान १२ करोड ३७ लाख, सशर्त अनुदान २१ करोड ९१ लाख र समपुरक अनुदान १ करोड पाएको छ । मनहरीले विशेष अनुदान प्राप्त गरेको छैन । राक्सिराङ गाउँपालिकाले २९ करोड ३८ लाख बजेट पाएको छ । राक्सिराङले समानीकरण अनुदान ९ करोड ४४ लाख पाएको छ भने सशर्त अनुदान १९ करोड ४४ लाख पाएको छ । विशेष अनुदान ५० लाख पाएको राक्सिराङले समपुरक अनुदान पाएको छैन । मकवानपुरका स्थानीय तहलाई अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तर्गत संघीय सरकारले चालुतर्फ ३ अर्ब ९७ करोड ९१ लाख र पुँजीगत ४२ करोड ८१ लाख बजेट पठाएको हो । मकवानपुरमा सबैभन्दा कम इन्द्रसरोवर गाउँपालिकाले २२ करोड ८० लाख रुपैयाँ पाउने भएको छ ।

इन्द्रसरोवरले वित्तीय समानीकरण तर्फ ७ करोड २६ लाख, सशर्त अनुदान १२ करोड ८४ लाख, विशेष अनुदान १ करोड २० लाख र समपुरक अनुदान १ करोड ५० लाख बजेट पाउने भएको हो ।सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ मा ७५३ स्थानीय तहका लागि विभिन्न प्रकारको अनुदानवापत ३ खर्ब १२ अर्ब ४२ करोड ६१ लाख रुपैयाँ पठाएको छ । यसमध्ये महानगरपालिकामा ११ अर्ब ७३ करोड ५ लाख, उपमहानरपालिकामा ११ अर्ब ६३ करोड ९२ लाख र नगरपालिकामा १ खर्ब ४२ अर्ब ५२करोड रुपैयाँ र गाउँपालिकामा १ खर्ब ४६ अर्ब ५२ करोड रुपैयाँ विनियोजन गरेको छ ।स्थानीय तहमा जाने अनुदानमध्ये वित्तीय समानीकरण अनुदान कुल ८८ अर्ब रुपैयाँ रहेको छ । सशर्त अनुदान २ खर्ब ८ अर्ब रुपैयाँ रहेको छ । विशेष अनुदान ८ खर्ब ४० अर्ब र समपुरक अनुदान ७ अर्ब रुपैयाँ जाने अर्थ मन्त्रालयले जनाएको छ । समानीकरण अनुदानतर्फ महानगरमा २ अर्ब ५५ करोड, उपमहानगरमा ३ अर्ब १४ करोड, नगरपालिकामा ३८ अर्ब ४२ करोड र गाउँपालिकामा ४३ अर्ब ८८ करोड रुपैयाँ पठाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*