इन्द्रसरोवरमा विद्युत उत्पादन गर्न मिल्ने पानी २ मिटर बाँकी
हेटौंडा- मकवानपुरको इन्द्रसरोवरस्थित कुलेखानी जलासयमा पानीको सतह घटेपछि ६० मेगावाट उत्पादन क्षमताको आयोजनाले २० मेगावाट मात्र विद्युत् उत्पादन सुरु गरिएको छ । कुलेखानी प्रथम जलविद्युत् केन्द्रका अनुसार पानीको सतह घटेकाले दुई दिनदेखि उत्पादन घटेको हो ।कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख तारादत्त भट्टका अनुसार विद्युत उत्पादन गर्न मिल्ने पानीको सतह करिव २ मिटर मात्र बाँकी रहेको छ । अधिकतम् एक हजार पाँच सय ३० मिटरसम्म जलासयमा पानी संचित हुने गरेको छ । कुलेखानी जलासयको सतह घटेर एक हजार चार सय ८५ मिटर पुगेपछि अत्यावश्यक समयमा मात्र आयोजनाले उत्पादन गरिरहेको छ । पछिल्लो समय पानी नपरेकाले जलविद्युतको महत्वपूर्ण ‘ब्याकअप’ आयोजना मानिने कुलेखानीमा पानीको सतह घटेको प्रमुख भट्टले जानकारी दिए ।
विशेष गरी जलाधार क्षेत्रका खोलाको पानी कम हुँदा विद्युत् आपूर्ति सन्तुलन गर्न र विद्युत् अधिक माग भएको समयमा तथा भोल्टेज तलमाथी हुँदा विद्युत् वितरण प्रणाली व्यवस्थित गर्न कुलेखानी जलविद्युत् आयोजना प्रयोग गरिन्छ ।समुद्री सतहबाट एक हजार चार सय ८३ मिटरसम्म पानी पुगेपछि बिजुली उत्पादन गर्न मिल्दैन । वर्षात्को पानी जम्मा गरेर सुख्खायाममा विद्युत उत्पादन गर्न प्रयोग गरिने जलासययुक्त आयोजना कुलेखानी मात्र हो ।पछिल्लो समयमा कुलेखानी जलविद्युत् आयोजना नियमित चलाउनु परेको र जलाधार क्षेत्रमा पानी नपरेका कारण इन्द्रसरोवरमा पानीको सतह घटेको छ । प्रमुख भट्टका अनुसार मंगलबारसम्म एक हजार चार सय ८४ दशमलव ९५ मिटरसम्म मापन गरिएको थियो । गएराति पानी परेपछि जलासयमा थप पानी जम्मा भएको छ । उनका अनुसार विसं २०५८ पछि यसवर्ष पानीको सतह धेरै घटेको हो । कुलेखानीबाट आपतकालीन् समयमा मात्रै बिजुली उत्पादन गरिने गरिएको छ ।
कुलेखानी जलासयमा स्थानीयले केज निर्माण गरेर माछापालन गरिरहेका छन् । जलासयमा पानीको सतह घटेपछि माछापालन पनि प्रभावित भएको छ । करिव ४ सय परिवारले कुलेखानी जलासयभित्र केजमा माछापालन गर्दै आएका छन् । कुलेखानीको माछाको माग अत्यधिक भएका कारण स्थानीयको माछा बिक्री नहुने समस्या छैन । बेलाबेलामा सरकारी निकायबाट कुलेखानी जलासयमा माछाको भुरा छोड्ने गरिएको छ । पछिल्लो पटक कुलेखानी जलासयमा ९ लाख माछाका भुरा छोडिएको छ । इन्द्रसरोवर रिजरभ्वायरको जलीय जैविक विविधता संरक्षणका लागि ९ लाख २० हजार माछाको भुरा छाडिएको हो । मत्स्य विकास केन्द्र, कुलेखानी मकवानपुरले ८ लाख र प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवम् संरक्षण केन्द्र हेटौंडाले एकलाख २० हजार माछाकाभुरा कुलेखानी जलासयमा छाडेका हुन् ।
मत्स्य विकास केन्द्र, कुलेखानीका निमित्तप्रमुख मनिता पौडेलका अनुसार सिल्भर कार्प २ लाख, विगहेड २ लाख, कपन कार्प १ लाख, नैनी, रुबु २ लाख र ग्रास कार्प १ लाख माछाको भुरा छोडिएको हो । प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवम् संरक्षण केन्द्र हेटौंडाका बरिष्ठ मत्स्य विकास अधिकृत सरोजकुमार यादवका अनुसार रहू तथा नैनी प्रजातिका माछाका भुरा एकलाख २० हजार छाडिएको हो । नेपाली सेना, स्थानीय, कर्मचारी र सरोकारवालाको सहयोगमा माछाको भुरा जलाशायसम्म लगेर छाडिएको थियो ।मत्स्य विकास केन्द्र, कुलेखानीले मत्स्य विकास केन्द्र भण्डाराबाट ५ लाख र हीरा मत्स्य ह्याचरीबाट ३ लाख माछाको भुरा खरिद गरेको बताइएको छ ।
यसअघि प्राकृतिक जलाशय मत्स्य प्रबद्र्धन एवम् संरक्षण केन्द्र हेटौंडाले बागमती नदीमा रहू तथा नैनी प्रजातिका एकलाख २५ हजार माछाका भुरा छोडेको थियो । केन्द्रले प्राकृतिक जलाशायमा जलीय जैविक विविधता संरक्षण तथा त्यसमा आश्रित समुदायको जीवनस्तर उकास्नको लागि स्थानीय जातका माछाका भुरा बागमती नदीमा छाडेको थियो ।मत्स्य विकास केन्द्र, कुलेखानीले अघिल्लो आर्थिक वर्षमा १० लाख माछाको भुरा छाडेको निमित्त प्रमुख पौडेलले जानकारी दिइन् । केन्द्रले चालु आवको जेठ मसान्तसम्म २ हजार ६६ केजी माछा उत्पादन गरेर विक्री गरी ५ लाख १२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । अघिल्लो आव २०७९÷८० मा २ हजार ५१० केजी माछा उत्पादन गरेको कार्यालयले यसवर्ष अझै उत्पादन बढ्ने विश्वास लिएको छ ।
यहाँ उत्पादन भएका माछा स्थानीयस्तरमै खपत हुने गरेको छ । सिल्भर, विगहेड प्रतिकेजी २५० रुपैयाँ र केजमा पालेको माछा प्रतिकेजी २३० र कमन कार्प, रुहु, नैनी प्रतिकेजी ३०० का दरले स्थानीयस्तरमै विक्री हुनेगरेको पौडेलको भनाई छ । पर्यटकको रोजाइको क्षेत्र भएकाले यहाँ आउने पर्यटकले यहाँको माछा अत्यधिक मन पराउने गरेको होटल व्यवसायी यूनिक बिष्टले जानकारी दिए । वि.स.२०४५ सालदेखि निजीस्तरमा कृषकलाई प्रविधि सिकाई केजमा माछापालन कार्यको थालनी गरिएको थियो । वि.सं. २०६६ सालमा ६८५ जना शेयर सदस्य सहित इन्द्रसरोवर मत्स्य व्यवसायी संघको स्थापना गरी जलासयमा केजमा माछापालन हुँदै आएको छ ।
इन्द्रसरोवर रिजरभ्वायर विद्युत उत्पादनको उद्देश्यले कुलेखानी खोलामा ड्याम वनाई निर्माण गरिएको मानव निर्मित नेपालकै ठुला जलासय हो । यसमा पानी जम्मा पार्नलाई पालुङखोला, चित्लाङखोला, सेतीखोला, चखेल इनलेट, चल्खुखोला, ठाडोखोला र धस्कुखोला गरी ७ वटा जलाधार श्रोत छन् । समुद्री सतहदेखि १५३० मिटर उचाईमा यो जलासय रहेको छ । जलासयमा पूर्णरुपमा पानी भरिएको समयमा २१६ हेक्टर र हिउँदमा ५५ हेक्टर पानी रहेको हुन्छ । विद्युत उत्पादनको अतिरिक्त पानीको बहुआयामिक उपयोग गरी आयोजनाकालमा विस्थापित भएका सरोकारवाला कृषकलाई स्थानीयस्तरमै वैकल्पिक रोजगारी प्रदान गर्ने तथा प्राणी प्रोटीनको उपलब्धतालाई बढाउने उद्देश्यले केजमा माछापालन गरिएको हो ।







