मनहरीको नीति तथा कार्यक्रम सार्वजनिक
हेटौंडा- मकवानपुरको मनहरी गाउँपालिकाको १५ औं अधिवेशनबाट बुधबार नीति तथा कार्यक्रम ल्याएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले नीतिगत रुपमा शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारः समृद्ध मनहरीको आधार भन्ने मूलनारामा आधारित रही आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिएको जानकारी दिए ।
नीति तथा कार्यक्रममा विपन्न परिवारका सदस्यको मृत्यु हुँदा परम्परा अनुसारको दाहसंस्कारका लागि गाउँपालिकाले आर्थिक सहयोग गर्ने समेटिएको छ । कतिपय विपन्न मानिस आर्थिक अवस्थाका कारण काजकिरिया गर्न कठिन रहेकाले कार्यक्रममा समेटिएको गाउँपालिका अध्यक्ष कालाखेतीले बताए । गाउँपालिकाले आफ्नो क्षेत्रभित्र चल्ने सार्वजनिक यातायातमा विपन्न नागरिकलाई सहुलियत दिने नीति ल्याइएको छ । गाउँपालिकाकोसिफारीस वा परिचयपत्रको आधारमा गरिब तथा विपन्न नागरिकलाई भाडा छुटका लागि सार्वजनिक यातायात व्यवसायीसँग सम्झौता गर्ने अध्यक्ष कालाखेतीले बताए ।
गाउँपालिकाले सामाजिक विकास लक्षित विशेष नीति तर्जुमा गरी वजेटमा समावेश गर्ने लक्ष्य लिएको अध्यक्ष कालाखेतीले जानकारी दिए । ‘हामीले शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर नीति कार्यक्रम ल्याएसँगै सोही अनुरुप बजेट निर्माण गर्नेछौँ,’–अध्यक्ष कालाखेतीले भने । गाउँसभामा चालु आर्थिक वर्षमा भएका प्रमुख उपलब्धी कार्याक्रम र सम्पन्न भएका योजनाबारे जानकारी गराएका थिए । संघीय र प्रदेश सरकारबाट प्राप्त बजेट तथा कार्यक्रमको प्राथमिकता र मार्गदर्शन, योजनाले परिलक्षित गरेका प्राथमिकतालाई आत्मसाथ गर्दै अघि बढ्ने गाउँपालिकाको लक्ष्य रहेको अध्यक्ष कालाखेतीले बताए ।
यस मनहरी गाउँपालिकाको १९९.५२ बर्गकिलोमिटर भूभागमध्ये अधिकांश कृषिउर्बर भूमि रहको र साबिक हाँडीखोलातर्फ तरकारी, फलफूल, गेडागुडी उत्पादन हुने र मनहरीतर्फ धान, मकैलगायतको अन्नबाली र माथिल्लो भेगमा बाख्रा लगायत पशपुालन गरर उत्पादनमा आधारित स्वरोजगार बन्ने अबसर रहेको कार्यक्रममा उल्लेख छ । यहाँ प्रशस्त मात्रामा नदीउकास जमिन अझै बाँझो रहेको र यातायातको समेत सहज पहुचँ भएको कारण त्यसको सदपुयोगबाट रोजगारी सृजना गर्ने सकिने प्रचुर सम्भावना रहेको बताइएको छ ।
मनहरी–६ मा प्रदेश सरकारले उद्योगग्राम बनाउन तयार गरेको डीपीआर सहितको गुरुयोजना कार्यान्वयन गर्न सकिए थप रोजगारीका अबसर प्राप्त भई युवा जनशक्ति विदेश पलायनलाई समेत रोक्न सघाउ पग्ने र घोषणा गरिएको समृद्ध मनहरी बनाउन सकिने कुरालाई अबसरको रुपमा लिन सकिने बताइएको छ । बिद्यमान द्वैध कानूनी संरचनाको कारण जल, जमिन र जंगलमाथिको अधिकारबाट स्थानीय बासिन्दा लाभान्बित हुनबाट बञ्चित रहनु र महत्वपूर्ण स्थानीय आर्थिक श्रोतको रुपमारहेको नदीजन्यपदार्थको उपयोगमा नियन्त्रण हुनु समृद्ध मनहरी बनाउने विषयको मुख्य चुनौती रहेको बताइएको छ ।
अधिकांश मध्यवर्ती बस्तीमा निकुञ्जबाट बस्तीमा जंगली जनावरबाट हुने धनजनको क्षति, चुरेको छेउमा बस्ती तथा खेतीयोग्य जमिन भएकोले खहरेबाट हुने भूक्षय तथा जमिनको कटान अको चुनौतीको रुपमा रहको बताइएको छ । सुगम भौगोलिक पहुँचको अबसर सदुपयोग गर्दै आर्थिक विकासको माध्यमबाट गरिवी निबारण र भोकमरी अन्त्य गर्न सकिने प्रचुर सम्भावना रहेको यस पालिकाको राष्ट्रिय जनगणना २०७८ अनुसारको तथ्यांकले पालिकाको लागि थप चुनौती रहेको बताइएको छ ।







