थाहा–कैलाश–राक्सिराङ–मनहरी सडकखण्डलाई रुपचन्द्र बिष्ट मार्गको नामाकरण गर्न माग

साझाकुरा
२०८१ असार ८, शुक्रबार १०:०७

हेटौंडा-नेकपा (एमाले)का प्रमुखसचेतक महेश बर्तौलाले सरकारसँग थाहा नगरपालिकाको पालुङदेखि कैलाश–राक्सिराङ हुँदै मनहरीको सिम्पानीसम्म ‘रुपचन्द्र विष्ट मार्ग’ बनाउनुपर्ने पस्ताव गरेका छन् ।थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टको २५ औं स्मृति दिवस आज शुक्रबार सम्झना गरी मनाइँदै छ । स्मृति दिवसका अवसरमा काठमाडौं, हेटौंडा र पालुङमा विभिन्न कार्यक्रम हुँदैछन् । रुपचन्द्र विष्ट स्मारक समितिले काठमाडौंमा अन्तरक्रिया आयोजना गर्दैछ । प्रेस सेन्टर मकवानपुरले क्लब हेटौंडामा मध्यान्ह १ बजे रुदानेको स्मृतिमा कार्यक्रम आयोजना गरेको हो ।

रुदाने, जसरु, रापसरु, स्वरुपेजस्ता उपनामले परिचित विष्टले विसं २०२८ सालमा मकवानपुरको उत्तरी क्षेत्रमा शिक्षा आन्दोलन चलाएका थिए । ‘छोरा पढाउने, छोरी नपढाउने मुर्दावाद–छोराछोरी दुवै पढाउने जिन्दावाद’ भन्ने जस्ता नाराका साथ विष्टले चलाएको आन्दोलनले समाजमा परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । विसं १९९० पुस २६ गते मकवानपुरको दामन घर्तीखोलामा जन्मिएका विष्टको २०५६ साल असार ७ गते काठमाडौंमा निधन भएको थियो ।

वि.सं. २०२९ र २०३० सालतिर रुपचन्द्र विष्टले थाहा आन्दोलन सुरु गरेका थिए । रुपचन्द्र र उनका सहकर्मीका हातबाट चट्टान, भित्ता, पर्खाल, रुखदेखि खाली कागज र चुरोटको बट्टासम्ममा ‘थाहा’ लेखिएका हुन्थे । यतिसम्मकी स्कूले केटाकेटीको पोशाकमा पनि थाहा लेखिएको हन्थ्यो । ‘थाहा’ नेपाली छाप्राहरुमा पुगेको पहिलो दार्शनिक आन्दोलन थियो । त्यो आन्दोलनको सबभन्दा महत्वपूर्ण विशेषता के थियो भने यसमा कुनै पनि प्रकारको सैद्धान्तिक क्लिष्टता या अस्पष्टता नभएको जनमुखी सहकर्मी एकराज उप्रेती बताउँछन् ।

‘थाहा पा भाते, जान् भाते, बुझ् भाते’ भन्ने उनको थेगो जस्तै थियो । थाहा आन्दोलनको मूल लक्ष्य भनेको चेतनाहीन छाप्रे जनतालाई चेतना सम्पन्न नागरिकमा रुपान्तण गरी राजनीतिक र सामाजिक जागरण गर्नु थियो । उनी हमेसा भन्ने गर्थे, ‘श्रमिकको राजनीति पूँजिपतिले गरेर हुँदैन, छाप्रेको राजनीति महलले गरेर हुँदैन, महिलाको राजनीति पुरुषले गरेर हुँदैन, आफ्नो लागि आफैं जागेर अघि बढ्नुपर्छ । दुःख पाउनेले नै दुःखको रंग चिनेको हुन्छ । श्रम गर्नेले नै श्रमिकको व्यथा जानेको हुन्छ ।’

‘जसको उत्थान हुनुपर्छ, ऊ स्वयम्ले अगुवाई गर्नुपर्छ । श्रम गर्नुपर्छ, ठाउँमा पग्लनुपर्छ, ठाउँठाउँमा कठोर बन्नुपर्छ । जानेर बुझेर अघि बढ्ने हिम्मत गर्नुपर्छ । होस सहितको जोसले काम गर्नुपर्छ ।’ बिष्टको यो भनाई आज पनि गुञ्जीरहेको छ । ‘हामी कसैका होइनौं, कोही हाम्रा होइनन् । मात्र हामी सत्य र न्यायका र सत्य र न्याय हाम्रा लागि हुन् ।’ शत्रुले चिनेको तर, मित्रले चिन्न नसकेको ब्यक्तिको संज्ञा दिइयो बिष्टको मृत्यु पछिका दिनमा ।

प्रतिनिधिसभामा विनियोजन विधेक अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विकास कार्यक्रम माथीको छलफलमा बोल्दै उनले यो मार्ग वनाउनुपर्ने वताएको हो । उनले भने–‘मकवानपुरको दुई ठुला राजमार्ग त्रीभुवन राजपथ र महेन्द्र राजमार्गको बीचमा रहेको ४ वटा स्थानीयह तहहरु थाहा, कैलाश, राक्सिराङ र मनहरी जोड्ने गरी एउटा छुट्टै मार्ग निर्माण गर्न आवस्यक रहेको छ’ उनले चितवन तथा नारायणी पश्चिमका नागरिकको काठमाडौंसँगको पहुँचका लागि यो मार्ग अत्यन्तै महत्वपूर्ण हुने वताए ।बर्तौलाले ‘मुग्लीन–नारायण सडकमा अवरोध हुँदा यसको वैकल्पिक बाटो छैन,

त्यसकारण मनहरीको सिम्पानीदेखि थाहानगरको चित्लाङ हुँदै वैकल्पिक मार्ग वनाउन आवस्यक छ’ भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको ध्यानाकर्षण गराए । बर्तौलाका अनुसार रुपचन्द्र विष्टले जनमुखी राजनीतिमा गरिव किसानको आवाज मुखरित गर्दै हिडेका र थाहा आन्दोलनको प्रणेता हुन् । उनी दामनमा जन्मिएर पञ्चायती शासनको विरुद्धमा जागरण पैदा गर्ने, संगठित गर्ने नेता भएकोले विष्टको नामबाट यो मार्ग बनाउन उपयुक्त हुने वताए । बर्तौलाले भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणको जिम्मा सरकारले लिएर निर्माण सुरु गर्नुपर्ने वताएका छन् । प्रतिनिधिसभाको वैठकमा बोल्दै बर्तौलाले सुरुङमार्गको निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्री महासेठको ध्यानाकर्षण गराएका हुन् ।

यो सुरुङ निर्माणका लागि भनेर नेपाल पूर्वाधार विकास कम्पनीले अनुमति लिएको लामो समय भइसकेको छ । सुरुङ निर्माणकै लागि कम्पनीले स्थानीय नागरिकसँग सेयरधनीका नाममा रकम पनि उठाएको थियो । सांसद बर्तौलाले भने–‘योसँगै चर्चा चलाइएका सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति निकै राम्रो छ र नागढुंगा सुरुङखन्ने काम सम्पन्न भइसकेको छ । तर, भीमफेदी–कुलेखानी सुरुङ चर्चामै सीमित रह्यो । अब, नेपाल सरकारले नै यो सुरुङमार्ग निर्माणको जिम्मा लिएर निर्माणको प्रक्रिया अगाडि बढाइनु पर्छ ।’

यसमा तपाइको मत

Your email address will not be published.


*