बागमतीको बजेट मध्यरातमा पारित, प्रदेशसभा स्थगित
हेटौंडा- बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि प्रस्तुत बजेट बहुमतले पारित भएको छ ।बागमती प्रदेशसभा बैठकले बिहीवार मध्यरातमा अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनको विधेयक र विनियोजन विधेयक २०८१ बहुमतले पारित गरेको हो । बिहीवार दिउसोदेखि निरन्तर मध्यरातसम्म बैठक सञ्चालन गरेर बजेट बहुमतले पारित गरिएको हो । करिब ९ घण्टासम्म पटकपटक प्रदेशसभाको बैठक राखी छलफल गरिएको थियो । छलफलमा उठेका विषयमा सबै मन्त्रीहरु र मुख्यमन्त्रीले जवाफ दिएपछि बजेट निर्णायार्थ प्रस्तुतगरिएको हो । प्रदेश सरकारको ६ वर्षको समयकालमा पहिलोपटक मध्यरातसम्म लगाएर बजेट पारित गरिएको हो ।
सरकारका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले १ असारमा आगामी आर्थिक वर्षका लागि ६४ अर्ब ५४ लाख रुपैयाँ बजेट प्रस्तुत गरेकाथिए । चालूतर्फ २६ अर्ब १० करोड १६ लाख, पुँजीगततर्फ ३६ अर्ब ९३ करोड ८७ लाख र वित्तीय व्यवस्थापनतर्फ १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको थियो । खर्च बेहोर्ने स्रोतमध्ये कर राजस्वबाट २७ अर्ब ३८ करोड ५७ लाख रुपैयाँ, अन्य राजस्वबाट ६ अर्ब ५१ करोड रुपैयाँ, संघीय वित्तीय हस्तान्तरणबाट १५ अर्ब ५७ करोड ६५ लाख रुपैयाँ, चालू आर्थिक वर्षको अनुमानित सञ्चित कोषको बचत र अन्य प्राप्तिबाट १४ अर्ब ८६ करोड रुपैयाँ अनुमान गरिएको छ ।
बजेटमाथि ६ असारबाट प्रदेहसभामा छलफल थालिएको थियो । तर, पहिलो दिन नै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र विपक्षी दल राप्रपाले बजेट असन्तुलित र त्रुटिपूर्ण रहेको भन्दै प्रलेशसभा बैठक अवरुद्घ गरेका थिए । सरकार र विपक्षी दलबीच सांसदका योजनामा रकमान्तर गरेर बजेट थप्ने सहमतिपछि ७ असारमा प्रदेशसभाको अवरोध हटेको थियो । सांसदहरुले उठाएका सबालमा मुख्यमन्त्री शालिकराम जम्कट्टेल, आर्थिक मामिला मन्त्री थपलियाले बिहीवार जवाफ दिएका थिए ।यस्तै, प्रदेशसभा बैठकले खर्च कटौतीको प्रस्ताव अस्वीकृत गरेको छ । कांग्रेस सांसद रामकृष्ण चित्रकार, छिरिङदोर्जे लामा, प्रभात तामाङ, कृष्णकुमार तामाङ, रमेशकुमार महत, श्रीराम लामिछाने, पुकार महर्जन, नेमकिपाका सांसद सुरेन्द्रराज गोसाईं, सृजना सायजुले खर्च कटौतीको प्रस्ताव दर्ता गराएका थिए । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले निर्णायार्थ पेस गरेकोमा नेपाली कांग्रेस, राप्रपा र नेमकिपाका गरी ५३ सांसदले बजेट पारित गर्न असहमति राखेका थिए ।
तर, सांसदका योजनामा बजेट थप्ने सहमतिपछि आन्तरिक रुपमा बजेट पारित गराउन विपक्षी सांसद नै सहमत भएका हुन् । प्रदेशसभा बैठकमै नेकपा एमालेका प्रमुखसचेतक मधुसुदन पौडेलले भित्र बजेट माग्ने र बाहिर आएपछि बजेटको विरोध गर्ने शैलीप्रति प्रश्न नै उठाएका थिए । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र, सत्ता साझेदार दल नेकपा एमाले, नेकपा एकीकृत समाजवादी पार्टी र हाम्रो नेपाली पार्टीका गरी ५६ जना बहुमत सांसदहरुले बजेटको पक्षमा रहेर बहुमतले पारित गरेका हुन् ।
विधेयक समितिमा पठाउन स्वीकृति
बागमती प्रदेशसभाको शुक्रबारको बैठकले उच्चशिक्षा (पहिलो संशोधन) अध्यादेश–२०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयक दफावार छलफलका लागि शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा पठाउन सर्वसम्मतिले स्वीकृति प्रदान गरेको छ ।यसअघि प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले विधेयक दफावार छलफलका लागि शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा पठाइयोस् भनी प्रस्ताव पेस गरेकी थिइन् । यस्तै, शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति ठाकुप्रसाद ढकालले विज्ञान, प्रविधि, नवप्रवद्र्धन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकउपर समितिले गरेको निर्णयको प्रतिवेदन प्रदेशसभामा पेस गरेका थिए । बागमती प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।







