अभिमुखीकरणपछि स्क्र्यावल खेलप्रति बालबालिकाको उत्साह

साझाकुरा
२०८१ असार १८, सोमबार ११:२५

हेटौंडा- मनहरी–४ मसिनेस्थित पशुपतिनाथ माविका रीतिक बिष्ट र सिम्रन बिष्टलाई स्क्र्यावल गेमका बारेमा कुनै जानकारी थिएन । हेटौंडा–२ स्थित बालजागृति इंग्लिस सेकेन्डरी स्कुलको आयोजनामा शनिबार हेटौंडामा भएको स्क्र्यावल अभिमुखीकरण कार्यक्रमले उनीहरुलाई स्क्र्यावल खेलबाट पढाइमा सुधार हुने रहेछ भन्ने थाहा भयो । रीतिक र सिम्रनले आईतबार विद्यालयमा साथीहरुलाई स्क्र्यावल खेल्न सिकाएका छन् । ‘खेल्दाखेल्दै अंग्रेजी शब्दको ज्ञान बढ्ने रहेछ’ सिम्रनले भनिन् । बालजागृतिले शनिबार उनीहरुलाई स्क्र्यावल बोड दिएर पठाएको थियो । ‘केही नियमहरुका बारेमा हामी अलि अलमलमा छौं’ सिक्ने क्रममा भएकाले केही अलमल भएको हो’ रीतिकले भने । पशुपतिनाथ माविकी अंग्रेजी शिक्षक ज्योति थापाले उनीहरुलाई स्क्र्यावल खेल्न सहजीकरण गरिरहेकी छिन् ।

विद्यालयमा खाली कक्षामा यस्तै खेलको अभ्यास गराउन सक्दा पनि बालबालिकाले सिक्ने अवसर पाउने शिक्षक थापाले बताइन् । आफूलाई थाहा नभएको नियमका बारेमा गुगल सर्च गरेर पनि विद्यार्थीलाई जानकारी दिइरहेको शिक्षक थापाले बताइन् । विद्यालयमा शिक्षकलाई पनि स्क्र्यावल खेलका बारेमा जानकारी गराउने र खेल खेलाउनु पर्ने थापाको भनाइ छ । पहिला शिक्षकले सिकेपछि विद्यार्थीलाई सिकाउन सहज हुने उनले बताइन् । पशुपतिनाथ माविका सिम्रन र रीतिक जस्तै २५० भन्दा बढी विद्यार्थीले स्क्र्यावलका अभिमुखीकरणमा सहभागी हुने अवसर पाएका थिए । स्क्र्यावल (एक प्रकारको कोठेपद) खेलसम्बन्धी एक दिवसीय अभिमुखीकरण कार्यक्रममा बालजागृति स्कुलले सामुदायिक विद्यालयलाई पनि सहभागी गराएर उनीहरुलाई अवसर दिएको थियो । बालजागृति विद्यालय सञ्चालक समितिका अध्यक्ष दिनेश भण्डारीको सभाध्यक्षमा तथा बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यमा अभिमुखीकरण कार्यक्रमको उद्घाटन भएको थियो ।

खेलको माध्यमबाट विशेषगरी शब्दको ज्ञान बढाउन सकिने भएकोले स्क्र्यावल खेलको विकास र विस्तारमा बालजागृति स्कुलले संस्थागत तथा सामुदायिक विद्यालयलाई सहभागी गराएर अभिमुखीकरण गरेको हो । स्क्र्यावलसम्बन्धी अभिमुखीकरणको अवसरमा बालजागृतिले नेपालमा स्क्र्यावल खेलका संस्थापक केशवप्रसाद पराजुली, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्क्र्यावल खेलमा सहभागी भएको, विजयी भएको खेलाडी कास्कीका सक्षम कार्की, अच्युत लामिछाने, बाराका नीरञ्जन साह, पूर्वीनवलपरासीका रिसव भण्डारी, चितवनका अर्नव पाण्डे र नीराजन पौडेल र मकवानपुरका प्रसिद्ध तिमिल्सनालाई सम्मानगरेको थियो ।

कार्यक्रममा सामाजिक विकास मन्त्री मोक्तानले विद्यार्थीको क्षमता अभिवृद्धि गर्न र चेतनामा लगानीको क्षेत्रको मनोबल बढाउन स्क्र्यावल खेलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन् । स्क्र्यावल जस्तो खेलमा राज्यले लगानी गरेर यसलाई निरन्तरता दिनुपर्ने मन्त्री मोक्तानको धारणा थियो । स्क्र्यावल खेलमा बालाबालिकाको रुचि कम देखिएकोले यसलाई अगाडि बढाउन अभिमुखीकरण गरेर बालजागृतिले सह्राहनीय काम गरेको मन्त्री मोक्तानले बताइन् । कार्यक्रममा बालजागृति इंग्लिस सेकेण्डरी स्कूलबाट एसईईमा ४ जीपिए ल्याउन सफल रीतिका छत्कुलीलाई सम्मान गरिएको थियो । विद्यालयका प्रिन्सीपल विनोद सुवेदीले छत्कुलीलाई सम्मानस्वरुप २५ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरे । स्क्र्यावलसम्बन्धी अभिमुखीकरणमा हेटौंडा उपमहानगरपालिका, मनहरी र बकैया गाउँपालिकाका ५६ वटा विद्यालयका २ सय ५० भन्दा बढी विद्यार्थी सहभागी थिए । विद्यार्थीलाई बालजागृतिको बसले लाने ल्याउने काम पनि गरेको थियो ।

विद्यार्थीलाई बाहिरी ज्ञानको विकास गर्न, बौद्धिक क्षमताका विकास गर्नका लागि आयोजना गरेको कार्यक्रममा कक्षा ४ देखि १० सम्मका विद्यार्थीको सहभागिता रहेको विद्यालयले जनाएको छ । कार्यक्रममा स्क्र्यावल क्लब मकवानपुरका संयोजक बिबशजंग थापा, स्क्र्यावल क्लब नेपालका संस्थापक अध्यक्ष पराजुली, कोषाध्यक्ष पूर्ण थापा, तालिम संयोजक भोजराज सुवेदी, प्राविधिक संयोजक अर्जुन पाण्डेले स्क्र्यावल खेलसम्बन्धी अभिमुखीकरण गराएका थिए ।अभिमुखीकरण कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड हेटौंडाका प्रमुख कृष्णप्रसाद घिमिरे, प्याब्सन मकवानपुरका पूर्वअध्यक्ष मदकुमार दाहाल, पत्रकार प्रता बिष्टलगायतले बालबालिकाको रुचिअनुसारको खेल र अध्ययनलाई जोड्ने काम बालजागृति स्कुलले गरेको भन्दै धन्यवाद दिएका थिए । स्क्र्यावल अभिमुखीकरणमा सहभागी भएका सबै विद्यालयलाई बालजागृतिले स्क्र्यावल बोर्ड निःशुल्क प्रदान गरेको थियो । सहभागी विद्यालयलाई मायाको चिनो पनि प्रदान गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*